शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पार्टी एकतामा छन् दुखैदुख !

बिहीबार, १८ माघ २०७४, १५ : ०१
बिहीबार, १८ माघ २०७४

टिप्पणी
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको कुराले ती पार्टीका आम नेता–कार्यकर्ता मात्र होइन, आम मानिस पनि चासो साथ हेरेका छन् । 
तर कार्यकर्तातहको यो खुशी वास्तविकतामा परिणत नहुँदै एकताका बारेमा पार्टीहरूका फरक–फरक धारणा सार्वजनिक हुन थालेका छन् ।
नेकपा एमाले र माओवादी पार्टी एकता हुनुभन्दा पहिला प्रदेश र सङ्घको निर्वाचनमा गठबन्धन गरेर गए । यी दुवै पार्टीले निर्वाचनभन्दा पहिला गठबन्धन मात्र होइन, चुनावी घोषणापत्र पनि एउटै बनाएर गए । पार्टी एकता गर्ने भाका जनतालाई पनि सुनाए । 

जनताको सहमति
जब दुई ठूला पार्टीले  पार्टी एकता गर्ने भन्दै वाम गठबन्धन गरेर चुनावमा एउटै घोषणा पत्रसहित चुनावमा गए । आम नेता कार्यकर्ता मात्र होइन जनताले पनि यो गठबन्धनलाई सहर्ष स्वीकार गरे । दुई पार्टीले पनि चुनावमा जाँदा सङ्गठनभन्दा पनि स्थानीय तहको चुनावको जनमतलाई आधार मानेर उमेदवार बनाउँदा पनि ६०–४० को भाग लगाए  । यही आधारलाई जनताले जनमतबाट यसलाई अनुमोदन गरे । चुनावमा परिणाम पनि वामगठबन्धनकै पक्षमा आयो । 

तर किन हुँदै छ एकतामा ढिलाइ ?
नेकपा एमाले र माओवादी केन्द्रले जसरी दशैँभन्दा पहिला जसरी एकताका लागि उत्साह देखाएका थिए र चुनावपछि जुन तीव्रताका साथ पार्टी एकता हुनुपथ्र्यो, त्यो भएको छैन । 
नेकपा एमालेका अध्यक्ष केपी ओली पुस २६ गते नियमित फलोअफका लागि  थाइल्यान्ड जाँदा एरपोर्टमा पत्रकारहरूसँग अबको १५–२० दिनमा पार्टी एकता हुन्छ भनेको थिए । ७ दिनका लागि थाइल्यान्ड गएका ओली ९ दिन बसेर आएका थिए । 

नेपाली मिडियामा उनी थाइल्यान्ड गएसँगै विभिन्न चर्चा भएका थिए । उनले थाइल्यान्डमा हिमानी शाह भेटेको चर्चा मिडियामा आइरहदा दुवै जना एकै दिन एउटै विमानबाट नेपाल फर्केका थिए । 
एयरपोर्टमा माघ ४ गते ओलीले त्रिभुवन विमानस्थलाको विशिष्ट कक्षमा पत्रकार सम्मेलन गरी आफूलाई मिडियाले हिमानी भेटेको समचार लेखेको भन्दै कथा बुनेको आरोप लगाइ रहँदा हिमानी भने त्यही समयमा केही राजतन्त्र समर्थकको साथमा बाहिर निस्केकी थिइन् । 

यति मात्र होइन, राजनीतिक वृत्तमा एउटा नयाँ चर्चा चल्न थालेको छ । एमाले अध्यक्ष ओलीलाई भारतको एक पक्षले माओवादी नभए पनि मधेसी मोर्चालाई जोडेर सरकार बनाइदिने आश्वसन दिएको छ । 
कैयौँ कुराहरू राजनीतिमा प्रमाण नहुन सक्छन् तर त्यसको पुष्टि राजनीतिमा आउने परिवर्तनले पनि गर्दै जान्छ । ओलीको व्यवहार हेर्दा उनलाई भारतको एक पक्षले आश्वसन दिएको हुन सक्ने आशङ्का माओवादी वृत्तमा हुन थालेको छ । 

आफै पछाडि फर्कंदै ओली 
नेकपा एमालेका अध्यक्ष ओलीले वामगठबन्धन बनाउने समयमा आफू प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष दिने सहमति भएको माओवादी केन्द्रका एक नेताको दावी गर्छन । एमालेका नेताहरु चाहिँ यो मान्न तयार छैनन् । 

अहिले नेकपा एमालेका अध्यक्ष ओली आफै प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने दाउमा छन्् वा उनीमाथि दवाव छ । १४ गते प्रचण्ड निवास खुमलटारमा भएको दुई नेताहरूबीचको वार्तामा ओलीको प्रस्तावले प्रचण्ड झस्केको माओवादी उच्च स्रोतको भनाइ छ । 

माओवादीका एक नेताले भने ‘पहिला अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली हुने भद्र सहमति भएको थियो । तर अहिले ओली आफै दुवै पद लिन लालायित देखिएकाले एकतामा ढिलाइ भएको छ ।’
 

विचारमा पनि फकर धारणा
एकता हुँदा दुवै पार्टीले मान्दै आएका आआफ्नो वैचारिक मान्यताहरूलाई सँगै लैजाने र महाधिवेशनमा बहस गर्ने सहमति भएको थियो । तर १४ गतेको ओली प्रचण्ड भेटमा ओलीले जबजलाई मानेर जानुपर्ने प्रस्ताव राखेको माओवादी उच्च स्रोतले बतायो ।’ जब कि गठबन्धन गर्दा माओवाद, २१औँ शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादलाई महाधिवेशनसम्म थाँती राखेर महाधिवेशनमा छलफल गर्ने सहमति भएको माओवादीको भनाइ छ । 

दोस्रो तहका नेता उचाल्दै ओली
नेकपा एमालेका अध्यक्ष ओली प्रचण्ड भेटेर एउटा सहमति गरेर जाने र त्यही सहमतिका विरुद्ध दोस्रो तहका नेताहरूलाई बोल्न लगाउने गरेको माओवादी नेताहरू बताउँछन् । एमालेका दोस्रो तहका नेताहरू प्रचण्डलाई अध्यक्ष मान्न तयार नभएको भन्दै बहस गर्दैछन् । 

दुवै पार्टीले एकताको बारेमा मनलाग्दी नबोल्न सकुलर नै गरे पनि एमालेका नेताहरूले यो पालना नगरेको आरोप माओवादी केन्द्रले लगाउँदै आएको छ । आफू अध्यक्ष र प्रधानमन्त्री हुने लालचमा रहेका ओली दोस्रो तहका नेताहरूले प्रचण्डलाई अध्यक्षमान्न तयार नभएको हल्ला फिजाउन लगाएको माओवादी नेता बताउँछन् । ओलीले चाहेमा एमालेले अध्यक्ष दिन कुनै गाह्रो नभएको माओवादी नेता मणि थापाले बताए । 
एमालेमा नै दुुई धार
नेकपा एमालेमा पार्टी एकतालाई लिएर अहिले प्रष्ट रूपमा दुई धार देखिएका छन् । ओली पक्षका नेताहरू एकता गरे पनि पार्टी र सरकारको जिम्मा ओली स्वयम्ले लिनुपर्ने अडानमा छन् । ओली निकट मानिने युवा नेता महेश बस्नेत भन्छन्– ‘अहिले पार्टी र सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्नुपर्छ । महाधिवेशन गरेपछि फरक तरिकाले जान सकिन्छ ।’
उता माधव नेपाल र झलनाथ खनाल समूह भने जुन सहमति गठबन्धन गर्दा भएको थियो त्यहीलाई कार्यान्वयन गरेर जानुपर्छ । होइन भने आम जनमानसमा र दुवै पार्टीमा  एमाले एकता विरोधी देखिन्छ । एमालेले अध्यक्ष र प्रधानमन्त्रीको लोभ गर्दा एकता भाँडियो भनेर । यसको अर्थ यो हो कि प्रधानमन्त्री ओली भएपछि पार्टी अध्यक्ष प्रचण्ड हुनुपर्छ । 

सरकार र एकतामा पनि फरक फरक धारणा
माओवादी केन्द्र र नेपाल, खनाल समूह पार्टी एकता र सरकार निमार्ण एकै पटक हुनुपर्छ भन्छन् । तर ओली र उनको समूहका नेताहरू भने ‘पहिला सरकार बनाऊँ, एकता त विस्तारै हुने’ कुरा हो भनिरहेका छन् । यसमा ओलीले पनि धेरै पटक भनिसकेका छन्, ‘सरकार बनाउने भनेको जनमतको आधरमा हो र पार्टी एकता दुई पार्टीबीचको सहमतिमा हुने कुरा हो । यो सँगसँगै हुनै पर्छ भन्ने छैन । ’
यसमा एमाले रणनीति लुकेको छ । सरकार ओलीको नेतृत्वमा बनेपछि सरकार प्रमुख नै पार्टी अध्यक्ष हुने परम्पराको निरन्तरता दिन माओवादीलाई दबाब दिने । माओवादी केन्द्रलाई सकेसम्म गलाउने रणनीतिमा ओली खेमा अहिले सक्रिय देखिन्छ । 

सम्बन्धमा कटुता 
राज्य सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने माओको उक्तिलाई आत्मसाथ गरेर २०५२ साल फागुनबाट जनयुद्ध सुरु गरेरको माओवादी र वर्ग दुस्मनलाई सफाया गर्नुपर्छ भन्दै झापाबाट सामन्तका टाउका काटेर सशस्त्र सङ्घर्ष थालेको माले अन्य दलसँग एकता गरेपछि बनेको एमाले पछिल्लो समय जवज अँगाल्न पुग्यो । 

दश वर्ष जनयुद्ध गरेको माओवादी र २२ वर्षदेखि संसदीय अभ्यास गर्दै आएको एमालेबीच यो बीचमा मित्रता कम तिक्ता धेरै छन् । 

एकले अर्कोलाई धेरै आरोप प्रत्यारोप लगाउँदै पछिल्लो १० वर्षदेखि गणतन्त्रका सहयात्री पनि भए तर यिनमा राजनीतिक र वैचारिक दूरी भने सधैँ टाढा नै रह्यो । आतङ्कवादी र संशोधनवादीको आरोप प्रत्यारोपले नेपाली आकास नै गुन्जायमान गरे यो दुई दशकमा यी दुवै पार्टीका नेता कार्यकर्ताले । 

२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी जति तीव्रताका साथ विभाजन भयो, त्यही अनुपातमा एकता पनि भएका छन् । तर यी दुवै ठूला पार्टी भने विभाजनको सुरुवात भएको लगभग ५० वर्ष पछि एक हुँदै थिए । तर अहिले पुन भैँसीदेखि जोगी डराउने जोगीदेखि भँैसी डराउने जस्तो भएको छ । 

भूकम्पले जोडेको सम्बन्ध

०७२ वैशाख १२ को भूकम्पले नेपालका राजनीतिक दलहरूलाई अझ भनाँै तीन ठूला दलहरूलाई एक ठाउँमा ल्याएको थियो । त्यसको परिणाम स्वरूप कैयौँ वर्षदेखि नेपाली जनताको चाहना संविधा सभाबाट संविधान बन्ने काम पूरा भयो । यसमा ओली प्रचण्डको मिलनले बढी काम गरेको थियो । 

संविधान निमार्णपछि माओवादी केन्द्र र एमालेबीच सम्बन्धमा सुधार मात्र आएन प्रचण्डको समर्थनमा ओली प्रधानमन्त्री भए । प्रचण्ड सरकार सञ्चालनको संयन्त्रको प्रमुख । तर यो सम्बन्ध ९ महिनाभन्दा पर जान सकेन । 

ओलीले ९ महिनापछि प्रचण्डलाई प्रधानमन्त्री दिने भनेर भद्र सहमतिभएको थियो । तर पछि ओलीले नै केही सहमति नभएको भन्दै प्रचण्डलाई प्रधानमन्त्री दिन मानेनन् । पुनः वामदेव गौतमको पहलमा माओवादी र एमालेबीच सहमति भएर नीति तथा कार्यक्रम र बजेट ओली नेतृत्वको सरकारले ल्याउने र त्यसपछि प्रचण्ड प्रधानमन्त्री हुने सहमति भयो । 
यो सहमतिबाट पनि अन्ततः ओली पछाडि फर्के । नेपाली काँग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने । उनले काँग्रेससँग भएको भद्र सहमति पालना गर्दै नौ महिनामा शेरबहादुर देउवालाई प्रधानमन्त्री दिए । 

स्थानीय तहको निर्वाचनपछि परिवर्तन भएको राजनीतिक कोर्स 

स्थानीय तहको निर्वाचनपछि नेपालको राजनीतिमा नयाँ कोर्स सुरु भएको हो । स्थानीय तहमा नेकपा एमाले पहिलो दल बन्यो । काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल बन्यो । 
यही राजनीतिक कोर्समा अगाडि बढ्दा प्रदेश र सङ्घमा परिणाम फरक आउने सङ्केत पनि देखियो । स्थानीय तहमा सबै राजनीतिक दलहरू आआफ्नै तरिकाले चुनावमा होमिएका थिए । केही स्थानमा गठबन्धन गरे पनि त्यो न्यून मात्रामा थियो । 

यदि सङ्घ र प्रदेशको निर्वाचनमा काँग्रेस र माओवादी केन्द्र मिलेर चुनावमा गएमा एमाले दोस्रो दल हुने अनुमान एमाले नेतृत्वले गरेको थियो । 
यही अनुमान पुष्टि भए भोलि सरकारबाट पाँच वर्ष बाहिर बस्नुपर्ने अनुमान एमाले नेतृत्वले गरे । पहिलादेखि नै माओवादी र एमाले एक हुनुपर्छ भन्ने एमाले उपाध्यक्ष वामदेव गौतम यो एकताको सूत्रधारको रूपमा एमालेले अगाडि सार्यो । त्यो सफल भयो । असोज १७ गते एमाले, माओवादी र नयाँ शक्तिले संयुक्त रूपमा सभा गृहमा पत्रकार सम्मेलन गरे चुनावी गठबन्धनको घोषण गरे । 

तर एमाले र माओवादीका नेताको कारण नयाँ शक्ति छटै बाहिरियो । माओवादी र एमालेले भने ६०–४० को भागबण्डा गरेर चुनावमा होमिए । सफल पनि भए । तर जुन स्पिरिटका साथ पार्टी एकता हुनुपथ्र्यो त्यो भने अहिलेसम्म हुन सकेको छैन ।

बुझाइ आआफ्नै 
एमालेको बुझाइमा जसरी चुनावमा ६०–४० गरेर गयौँ, त्यही आधारमा एकता गर्दा नेताहरूको व्यवस्थापन गर्नुपर्ने अडानमा छ । यता माओवादी भने दुवै पार्टी एक हुने हो भने किन अझै चुनावको ६०–४० मान्ने । दुई पार्टी एक हुँदा बराबरको हिस्सा हुनुपर्ने उसको बुझाइ छ । 

ठूलो दल भएको एमालेमा दम्भ 
चुनावभन्दा पहिला जति सहज र सरल देखिन्थे एमाले नेताहरू चुनाव परिणामपछि भने उनीहरू माओवादीलाई कम आँकेर हेर्न थालेको बुझाइ माओवादी नेताहरूमा बढ्न थालेको छ । 
प्रचण्डलाई अध्यक्ष नदिए एकता नहुने 

यदि सहमतिअनुसार प्रचण्डलाई एकतापछिको पार्टी अध्यक्ष नदिए पार्टी एकता नहुने माओवादीका पोलिटब्युरो सदस्य उमेश यादवले बताए । उनले भने ‘दुई पार्टी एकता हुने भनेको सहअस्तित्वको आधारमा हो । यसलाई नस्वीकार्य किन एकता गर्ने ? हामी एमालेमा प्रवेश गर्न थालेका होइनौँ ।’

माओवादीका सचिवालय सदस्य मणि थापा पनि प्रचण्डलाई अध्यक्ष नदिए एकता नुहने बताउँछन् । थापाले भने ‘एकता गर्ने भनेको पार्टीको सहअस्तित्वको आधारमा हो । एमालेले जे भन्यो त्यही मानेर एकता हँुदैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अध्यक्ष दिएन भने पार्टी एकता हँुदैन ।’

एमाले स्थायी समिति सदस्य किरण गुरुङ भन्छन्– ‘एकतामा जसलाई अध्यक्ष दिए पनि आफूहरूलाई मान्ने हुने छ । एकतापछि न त एमाले रहन्छ न त माओवादी नै नयाँ पार्टीको नयाँ अध्यक्ष सबैले स्वीकार्नुपर्छ ।’
अहिले चर्चा हुँदै आएको सहअध्यक्षको मार्ग चित्रमा पनि माओवादी अध्यक्ष प्रचण्ड सहमत नहुने उनी निकट एक नेताले बताए । हामीले ओलीलाई प्रधानमन्त्री जति खुला हृदयका साथ प्रस्ताव गरेका छौँ, त्यही हिसाबमा एमालेले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरेपछि मात्र एकता हुने ती नेताले बताए । 

अझै सम्झन्छ माओवादी एमालेले दिएका धोका

पहिलो संविधान सभामा माओवादी ठूलो दल भएपछि एमालेको समर्थनमा सरकार बनाएको थियो । त्यही समयमा सरकार र सेनापति प्रकरण घट्यो । तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालले कटवाललाई कारवाही गर्न सहमति दिएर चाइन भ्रमण गए । तर यता कटवाल प्रकरण भएपछि उनी पछाडि फर्के । माओवादीले सरकारबाट राजीनामा दिनुपर्यो । सरकार अल्पमतमा परेको थियो । 
दुई ठाउँबाट पराजिति एमालेका नेता माधवकुमार नेपाललाई प्रचण्डको जोडबलमा नै सभासद बनाएका थिए । पछि तिनै नेपाल काँग्रेससँग मिलेर प्रधानमन्त्री भए । उनको विरुद्ध नै माओवादीले ६ दिने आन्दोलन गरेको थियो । 

काँग्रेससँग भद्र सहमति गरे प्रधानमन्त्री हुने तयारी गरेका केपी ओलीलाई काँग्रेसले प्रधानमन्त्री नदिएपछि माओवादीले प्रधानमन्त्रीमा समर्थन गरेको थियो । तर तीनै ओलीले पछि आफूले गरेको भद्र सहमति तोडेर प्रचण्डलाई समर्थन गरेनन् । प्रचण्ड पछि काँग्रेसको समर्थनमा प्रधानमन्त्री भए । 
 

ओली समूहको डर 
माओवादी केन्द्रमा अहिले गुट उपगुट भए पनि प्रचण्डले भनेपछि त्यो सर्वसम्मत हुन्छ । तर एमालेमा अहिले पनि सक्रिय रूपमा चारवटा गुट छन् । अध्यक्ष ओलीको गुट । माधव नेपालको गुट, झलनाथ खनालको र वामदेव गौतमको गुट सक्रिय छन् । 

यी अन्य गुटले ओलीबाट कहीँ न कहीँ धोका खाएर बसेका छन् । वामदेव गौतमलाई महाधिवेशनको समयमा दिएको वचना ओलीले कहिल्यै पूरा गरेनन् । उनले आफू प्रधानमन्त्री हुँदा कार्यबाहक अध्यक्ष दिने वचन दिएका थिए तर त्यो पूरा गरेनन् । उनी बिमारी भएर अथवा नियमित फलोअफमा जाँदा मात्र गौतमले कार्यवाहक पाउँछन् । 

खनाललाई आफू अध्यक्षमा जितेर प्रधानमन्त्री भए राष्ट्रपति दिने वचन दिएर महाधिवेशनमा सहयोग गर्न लगाएका थिए । तर उनले त्यो पूरा गरेनन् । त्यहीदेखि ओली र खनालबीच सम्बन्ध त्यति राम्रो छैन । 
नेपाल समूह अहिले सबैभन्दा सक्रिय र शक्तिशाली मानिन्छ । यो समूह जसरी हुन्छ, ओलीलाई अध्यक्षबाट हटाउन चाहन्छ । त्यही भएर ओलीलाई सबैभन्दा डर आफ्नै पार्टीभित्रबाट छ । यति नेपाल, खनाल र गौतम प्रचण्डसँग मिले आफू अल्पमतमा परिने डरले अध्यक्ष दिन चाहेका छैनन् । 

यदि ओलीको यही अडान रहेमा माओवादी र एमालेको एकता भ्यागुताको धार्नी हुनेमा कुनै दुई मत छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप