दरबारमार्ग ‘रेप केस’: बलात्कृत भनिएकी युवती फरार, इन्सपेक्टर ठकुरीको सरुवा !
काठमाडौं– काठमाडौंको दरबारमार्ग स्थित ल्याण्डमार्क होटलमा भएको भनिएको सामुहिक बलात्कारमा संलग्न युवती फरार भएकी छिन् । माघ ७ गते राती आफ्नो केटा साथीले बोलाएपछि ल्याण्डमार्क होटल पुगेकी युवतीमाथि सामुहिक बलात्कार भएको मौखिक जाहेरीपछि दरबारमार्ग प्रहरीले यसबारे अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा दाङ स्थायी घर भएकी नमिता चौधरी (नाम परिवर्तन)ले शैलेश कार्कीसहित रवि पौडेल र दिपक श्रेष्ठले बलात्कार गरेको प्रारम्भिक बयान दिएकी थिइन् ।
युवतीको बयानका आधारमा पक्राउ परेका शैलेश कार्की र युवतीबीच महानगरीय प्रहरी बृत्त दरबारमार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले कार्यालयबाहिर कागज बनाएर मिलापत्र गराइदिएको प्रहरी स्रोतको भनाई छ । यसरी इन्सपेक्टर ठकुरीले आर्थिक लाभ लिएर कागज गरेको आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा छानविन समिति गठन गरेको छ ।
सोमबार साँझ छानविन समिति बनेपछि एकपटक मात्र प्रहरीसँगको टेलिफोन सम्पर्कमा आएकी ती युवती अहिले सम्पर्कविहिन भएको काठमाडौं प्रहरी प्रमुख (एसएसपी) रबिन्द्र धानुकले जानकारी दिए । रातोपाटीसँग कुरा गर्दै एसएसपी धानुकले भने, ‘घट्नाको छानविन शुरु भएसपछि बलात्कृत युवती एकपटक टेलिफोन सम्पर्कमा आएकी थिईन्, उनी अहिले सम्पर्कविहिन भएकी छिन् ।’ छानविन समितिमा संलग्न एक डिएसपीका अनुसार बलात्कृत भनिएकी युवती काठमाडौं बाहिर गएकी छिन् । महानगरीय अपराध महाशाखाले ती युवतीको खोजी गरिरहेको बताइएको छ ।
किन भागिन् युवती ?
प्रहरी प्रधान कार्यालयले घट्नामा संलग्न दरबारमार्ग वृत्तको मुद्धा शाखामा कार्यरत इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई नक्सालस्थित १ नम्बर गणमा सरुवा गरेको छ । छानबिन समितिले दरबारमार्ग वृत्तका इन्चार्ज डिएसपी तिलक भारती र मुद्धा शाखामा कार्यरत सई चन्द्र भण्डारीमाथि समेत मिलेमत्तोको आशंकामा अनुसन्धान शुरु गरेको छ । प्रहरी स्रोतका अनुसार माघ ७ गते राति ल्याण्डमार्क होटलमा घट्ना घटेपछि प्रहरीले युवतीकै सहयोगमा उनका ब्वाईफ्रेन्ड शैलेश कार्कीलाई बोलाएका थिए ।
शैलेशकी आमाले ती युवतीलाई ‘बुहारी बनाउँछु’ भनेपछि दुवै पक्षका परिवारबीच जाहेरी नदिने बरु विवाह गरिदिने सहमति भएको थियो । त्यसबीचमा युवतीले परिवारका सदस्यलाई जाहेरी दिनबाट रोक्नका लागी शैलेससँग विवाह गर्न नपाए ‘आत्महत्या गर्ने’ धम्की दिएकी थिइन् ।
त्यतिन्जेल सामुहिक बलात्कारमा संलग्न अन्य तीन जनालाई नियन्त्रणमा लिनेतिर प्रहरीको ध्यानै गएन । युवतीले ‘आत्महत्या गर्न सक्ने’ डर देखाएर इन्सपेक्टर ठकुरीले कार्यालय प्रमुख डिएसपी भारतीलाई मुद्धा नचलाउन आग्रह गरेको दरबारमार्ग वृत्तमा कार्यरत एक जुनियर अधिकृतले जानकारी दिएका छन् । ठकुरीको आग्रहपछि डिएसपी भारतीले चार पटकसम्म ‘पछि केही समस्या त आउँदैन नि ?’ भन्दै प्रश्न गरे । त्यस्तोमा मुद्धा शाखामा कार्यरत सई चन्द्र भण्डारी र इन्सपेक्टर ठकुरीले जाहेरीनै नभएपछि कसरी समस्या आउँछ भन्दै कन्भिस गरेका थिए ।
‘त्यसपछि ठकुरी आर्थिक बार्गेनिङ गर्न र कागज नबनाई नहुने भन्दै ललितपुरस्थित युवतीको कोठामै पुगेका थिए’ ती जुनियर अधिकृतले भने, ‘युवतीको ब्वाईफ्रेण्डलाई समेत बोलाएर इन्सपेक्टरले झम्सीखेलमै कागज गरेका थिए, तर त्यो काजग अफिसियल थिएन् ।’
ब्वाईफ्रेन्ड शैलेश कार्की र अन्य तीनजना युवासँग पनि आर्थिक लाभ लिएर युवतीले जाहेरी नदिएको हुनाले छानविन हुँदा आफैं फस्ने डरले युवती भागेको हुनसक्ने प्रहरी स्रोतको भनाई छ । सामुहिक बलात्कारमा संलग्न रवि पौडेल र दिपक श्रेष्ठ निर्माण ब्यावसायी हुन् । उनीहरुलाई इन्सपेक्टर ठकुरीले तर्साएर युवतीलाई पनि मोटो रकम दिलाइदिएको र आफुले पनि आर्थिक लाभ लिएको दरबारमार्ग वृत्तका एक अधिकृतले जानकारी दिए ।
फेसबुकमार्फत चिनजान भएकी युवतीलाई कमलादीको ल्याण्डमार्क होटलमा बोलाएका शैलेश कार्कीले चारवटा कोठा लिएका थिए । ल्याण्डमार्क होटलमा एउटा कोठाको एकरातको मूल्य पाँचहजार पर्छ ।
महानगरीय प्रहरी बृत्त बालाजु दरबन्दी भएका प्रहरी निरीक्षक ठकुरीलाई गएको असोजमा महानगरीय प्रहरी प्रमुख जयबहादुर चन्दले कालिमाटी बृत्तमा पठाएका थिए । कालिमाटी पुगेको केही दिनमै राजनीतिक पावर लगाएर उनी दरबारमार्गको मुद्धा शाखामा आउन सफल भएका थिए ।
यसैबीच, दरबारमार्ग प्रहरीले अर्को एउटा घट्नामा पनि मुद्धा नचलाईकन कागज गरेर पठाएको पाइएको छ । एउटा धनाढ्य जोडी विगत पाँच बर्षदेखि लिभिङ टुगेदरमा थिए । पछिल्लो सयम उनीहरुबीच सम्बन्ध विग्रँदै गयो, पुरुष ब्यक्ति अर्को युवतीसँग लागे । धनाढ्यसँग लामो समयदेखि रिलेसनमा रहेकी युवतीले पुरुष ब्यक्ति अर्कोसँग लागेको थाहा पाएर पैसाको डिमाण्ड गरिन् ।
घट्ना प्रहरीकोमा पुग्यो, युवतीले बलात्कारको उजुरी दिइन् । यो घट्ना गत शुक्रबारको हो । उजुरी हातमा परेको केही घण्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लियो । तर, बृत्त इन्चार्ज डिएसपी तिलक भारती विदामा गएको मौका छोपेर इन्सपेक्टर ठकुरीले दोस्रो घट्नाको अभियुक्तलाई पनि मुद्धानै दर्ता नगरी छाडिदिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार