आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

दरबारमार्ग बृत्तका इन्सपेक्टरले सामूहिक बलात्कार मुद्दा गुपचुपमै मिलाएपछि..

मङ्गलबार, १६ माघ २०७४, ०९ : ०३
मङ्गलबार, १६ माघ २०७४

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) रविन्द्र धानुक सोमबार मध्यान्ह अचानक प्रहरी वृत दरबारमार्ग पुगे । दरबारमार्गमा कार्यरत सबै प्रहरी इन्सपेक्टरलाई बृत्तको आँगनमा बोलाएर इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीतर्फ संकेत गर्दै भने, ‘सामूहिक बलात्कार जस्तो जघन्य अपराध लेनेदन गरेर मिलाउने ? यहि हो पुलिसिङ ?’ 

इन्सपेक्टर ठकुरीलाई हप्काएर उनी फर्केको केही बेरमै प्रहरी प्रधान कार्यालयबाट ठकुरीको सरुवा भएको खबर आयो । छिनभरमै ठकुरीको रमाना बन्यो । शुरुमा प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा सरुवा भएका ठकुरीलाई प्रहरी प्रधान कार्यालयले पुनः हेड्क्वार्टर भित्रको १ नम्बर गणमा राखेर छानविन गर्न काठमाडौं प्रहरीलाई आदेश दिएको छ । घटना के थियो, किन अचानक छानविनमा तानिए ठकुरी ?  

कुरा, माघ १० गतेको हो । एक युवाले फेसबुक मार्फत चिनजान भएकी युवतीलाई कमलादीको ल्याण्डमार्क होटलमा बेलाए । युवती होटलमा आउन राजी भएपछी उनले ४ ओटा कोठा लिए अनि उनका अरु तीन जना साथीलाई पनि बोलाए । प्रहरी स्रोतका अनुसार चार जना युवाहरु मिलेर ती युवतीलाई होटलमा रातभर बलात्कार गरेका थिए । युवती भोलिपल्ट बिहानै महानगरीय प्रहरी वृत कमलपोखरी पुगिन् । 
दरबारमार्ग एरियाको घटना भएकाले कमलपोखरीका डिएसपी कुलदीप चन्दले ती युवतीलाई दरबारमार्गमा गएर रिपोर्ट गर्न आग्रह गरेका थिए । 

चन्दको आग्रह अनुसार दरबारमार्ग पुगेकी युवतीले सामुहिक बलात्कारको जाहेरी दिइन् । प्रहरीले घटनामा संलग्न एक युवालाई नियन्त्रणमा लिएको थियो, तर मुद्दा शाखाका प्रमुख समेत रहेको इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले मुद्दा चलाउनुको साटो ती युवालाई छाडिदिए । ठकुरीले आर्थिक लेनदेन गरेर छाडेको आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीमाथि छानविन थालेको छ । 

‘एसपी रामदत्त जोशीको कमाण्डमा छानविन समिति बनेको छ’ रातोपाटीसँग कुरा गर्दै काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकले भने, ‘तीनजना डिएसपी र एक इन्सपेक्टर समेतले घटनाको अनुसन्धान गरिरहेका छन्, हामीले यो घटनालाई गम्भीर रुपमा लिएका छौं ।’ 

प्रहरीको आन्तरिक छानविन समितिमा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपीहरु बेलबहादुर पाण्डे, शेखर खनाल र बसन्त रजौरे सदस्य रहेका छन् । 
छानविन समितीले ठकुरीलाई नक्साल स्थित प्रहरी प्रधान कार्यालयको १ नम्बर गणमा राखेर इन्सपेक्टर ठकुरीमाथि छानविन शुरु गरेको छ । प्रहरी स्रोतका अनुसार ठकुरी आफैंले पनि आर्थिक लाभ लिएर जघन्य अपराधको अभियुक्तलाई उन्मुक्ति दिएका थिए । 

महानगरीय प्रहरी वृत बालाजु दरबन्दी भएका प्रहरी निरीक्षक ठकुरीलाई गएको असोजमा महानगरीय प्रहरी प्रमुख जय बहादुर चन्दले कालिमाटी वृत्तमा पठाएका थिए । पछि राजनितीक पावर लगाएर उनी दरबारमार्गको मुद्दा शाखामा आउन सफल भएका थिए ।

अर्को बलात्कारको केस पनि गुपचुपमै   
एउटा धनाढ्य जोडी विगत पाँच बर्षदेखि लिभिङ टुगेदरमा थिए । पछिल्लो सयम उनीहरु बीच सम्बन्ध बिग्रँदै गयो, पुरुष ब्यक्ति अर्को युवतीसँग लागे । धनाढ्यसँग लामो समयदेखि रिलेसनमा रहेकी युवतीले पुरुषब्यक्ति अर्कोसँग लागेको थाहा पाएपछि पैसाको डिमाण्ड गरिन् । 

घटना प्रहरीकोमा पुग्यो, युवतीले बलात्कारको उजुरी दिइन् । घटना गत शुक्रवारको हो, उजुरी हातमा परेको केही घण्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लियो । तर, वृत्त इन्चार्ज डिएसपी तिलक भारती बिदामा गएको मौका छोपेर इन्सपेक्टर ठकुरीले दोस्रो घटनाको अभियुक्तलाई पनि मुद्धा नै दर्ता नगरी छाडिदिएको बताइएको छ । 

बलात्कार जस्तो जघन्य अपराधको दुवै अभियुक्तलाई आर्थिक लाभ लिएर छाडेको आशंकामा एसपी रामदत्त जोशी नेतृत्वको छानविन समितीले इन्सपेक्टर ठकुरीमाथि छानविन गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप