शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजवंशी र सन्थाल बालबालिकाले पढ्ने एक मात्र विद्यालयको अवस्था दयनीय

सोमबार, ०१ कात्तिक २०७३, १७ : ५२
सोमबार, ०१ कात्तिक २०७३

भद्रपुर– झापाको भद्रपुर नगरपालिकाभित्रकै एउटा प्राथमिक विद्यालयमा ९८ प्रतिशतभन्दा बढी विद्यार्थी आदिवासी समुदायका छन् भन्दा पत्याउन गाह्रो होला, तर यो सत्य हो ।

साविक महेशपुर गाविस–९ स्थित र हाल भद्रपुर नगरपालिका–३ को गार्मेन्ट चोकबाट करिब एक किलोमिटर दक्षिणमा रहेको सरस्वती विद्या मन्दिर प्राविमा ९८ प्रतिशतभन्दा बढी विद्यार्थी आदिवासी राजवंशी र सन्थाल समुदायका छन् ।

आदिवासी र सन्थाल समुदायकै विद्यार्थीमात्र पढ्ने गरेको यो विद्यालयमा स्थापना भएको २८ वर्ष पुगिसक्दा पनि विद्यालयको भौतिक पूर्वाधार तयार नभएको स्थानीय समुदायले जनाएका छन् ।

बाल कक्षासहितको ७२ जना अध्ययनरत सो विद्यालयमा राजवंशी समुदायका ३४ जना, सन्थाल समुदायका ३६ जना र दुईजना अन्य समुदायका विद्यार्थी रहेको प्रधानाध्यापक उत्तमराज भट्टराईले जानकारी दिए ।

चारजना शिक्षिकासहित पाँचजना शिक्षकबाट पठनपाठन भइरहेको सो विद्यालयमा शौचालय नभएको, कक्षाकोठा राम्रो नभएको, बिजुली र खानेपानीको समेत असुविधा रहेको पाइएको छ ।

तीन कट्ठा क्षेत्रफलमा रहेको सो विद्यालयमा छवटा कोठा छन् । शौचालय नभएकै कारण शिक्षिका एवम् छात्रालाई धेरै समस्या हुने गरेको गुनासो शिक्षिकाले गरेका छन् ।

विद्यायलमा विद्यार्थी बस्ने डेस्क र बेन्चको अभाव छ । खेलकुद सामग्री पर्याप्त छैन ।

जिल्ला शिक्षा कार्यालय भद्रपुरबाट दुई किलोमिटरको दूरीमा रहेको यो विद्यालयको दुरवस्थालाई हेरेर भद्रपुर नगरपालिकाले बिजुली जडान गरिदिएको छ । स्थानीयवासी चिन्तामणि दाहालले आदिवासी राजवंशी र सन्थाल समुदायका मात्र विद्यार्थी अध्ययन गर्ने यस्ता विद्यालयलाई सरकारले सुविधा सम्पन्न बनाउनुपर्ने बताइन् । यस विद्यालयको पूर्वाधार निर्माणमा ध्यान नपुग्नु जिल्ला शिक्षा कार्यालयको ठूलो भूल भएको उनको भनाइ थियो ।

भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले विस्तारित भद्रपुर नगरपालिकामा महेशपुर गाविस गाभिएपछि यो विद्यालयको अध्ययन र अनुगमन गर्ने मौका मिलेको र समृद्ध भनिएको झापा जिल्लामा शिक्षण संस्थामाथि यथेष्ट दृष्टि पुग्न नसकेको प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप