मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

खगेन दाइ, तपाईं दाह्री पाल्नोस् !

आइतबार, १४ माघ २०७४, १० : ४७
आइतबार, १४ माघ २०७४

निर्मला न्यौपाने
नेपालमा खगेन्द्र सङ्ग्रौला जस्ता लेखक र धुर्मुस–सुन्तली जस्ता कलाकार अरू पनि होलान् तर मलाई थाहा छैन । मेरो अध्ययन धेरै सानो छ । नौ कक्षासम्मको टपर विद्यार्थी म, दशमा पढ्दा–पढ्दै ‘बुर्जुवा शिक्षा बहिष्कार’को प्रभाव बोकेर जनयुद्ध लड्न हिँडेकी हुँ । पछि, माओवादी शान्ति प्रकृयामा आएपछि क्याम्पस पढ्न थालेँ । बुर्जुवा शिक्षामा ‘ओठको सौन्दर्य’ पढेँ । राम्रो लाग्यो । ओठमा लिपस्टिक लगाउन थालेँ । अहिले खगेन दाइको कटु अभिव्यक्ति पाएपछि इन्द्रसँगै स्वर्गको छलफल गर्ने आँट बढेको छ । दाइलाई आँखा उचालेर, हात जोडेर सोझै भन्न चाहन्छु, ‘खगेन दाइ, तपाईं दाह्री पाल्नोस् !’ 

पोखरामा नवराज बरालको एउटा कविता मलाई कसैले सुनायो, ‘दाह्री पाल्ने मान्छे कि आतङ्ककारी, कि सदाचारी !’ खगेन्द्र सङ्ग्रौला दुवै हो । मैले बुझेसम्म माओवादीलाई आतङ्ककारी घोषणा गरिएको बेला ‘म माओवादीलाई सहयोग गर्छु’ भन्ने खुला समाजका प्रथम–प्रथम मान्छे खगेन्द्र सङ्ग्रौला हुन् । त्यसो त मैैले पढेको उहाँका कृतिहरूमा फटाहाका लागि आतङ्कै आतङ्क छ । तारानाथ शर्मा आफ्ना आलोचनालाई सिस्नु भन्छन् । खगेन्द्र सङ्ग्रौलाका लेखहरू सुइराभन्दा तिखा छन् । एमालेका मूर्धन्य नेताहरूलाई सीधा ताकेर वाँण हान्ने उहाँका अगाडि अरू अरू त झुस्से बारुला जस्तै देखिन्छन् । दाइ, भित्ता छेडेर लेख्छन् । 
६ कक्षाकी विद्यार्थी मैले गुरु पूर्णिमाका बेला अङ्ग्रेजीमा ‘द टिचर’ बारे निबन्ध लेखेकी थिएँ अर्थात् मलाई ‘एस्से’ लेख्न सिकाइएको थियो, ‘ए म्यान इज् अल्वेज इन्डेप्टेड टु हिज टिचर फर् हिज बेटर लाइफ !’ (मान्छे आफ्नो असल जीवनका लागि शिक्षकप्रति सधैँ ऋणी हुन्छ) । स्कुल, क्याम्पस त पैसा तिरेरै पढियो । प्रायः सबै शिक्षकहरू माया नै गर्नुहुन्छ । गुणकै रिन बोक्नु परेको छैन । खगेन्द्र सङ्ग्रौलाकै लेखहरू पढेर लख्ने हैसियत बनाउँदैछु । खगेन्द्र दाइ, म ऋणी छु । 

मलाई लाग्छ, हामी महिलाहरूको मनमा फेसन गर्ने, बस्त्रले सुसज्जित हुने चेतन वासना र निर्वस्त्र हुने अचेतन वासना दुवै हुन्छ । त्यसलाई भड्काउने वा अभिप्रेरित गर्ने पुरुषहरू हुन्छन् । राम्री देख्न चाहने र नग्न हेर्न चाहने पुरुष–आकाङ्क्षाको प्रेरणाले महिलालाई सौन्दर्य प्रतियोगितासम्म पुर्याउँछ । यसमा आर्थिक कारण मुख्य हुन्छ । जसलाई पुँजीपति वर्गले ‘ट्यालेन्ट’को लेप लगाइदिएका हुन्छन् । प्रतियोगीलाई म आफ्नो प्रतिभाको विकास गर्दैछु भन्ने लाग्छ । केही हदसम्म त्यो हुन्छ नै । ‘ट्यालेन्ट’हरूले बेरोजगारीको समस्या भोग्नुपर्दैन । 

अफ्रिकी देशका कतिपय ठाउँमा महिलाहरूले राम्री देखिन ओठभित्र प्लेट कोच्ने, अनेक उपायले ओठ ठूलो पार्ने गर्दा रहेछन् । त्यहाँ ठूलो ओठका, जति काली त्यति राम्री मानिँदा रहेछन् । मैले आठदश वर्षअघि नै मोदनाथ प्रश्रितजीको किताबमा लेनिन्को भनाइ पढेकी हुँ, ‘नारीलाई दास बनाउने सुन, साम्यावाद आएपछि चर्पी सजाउने काममा प्रयोग हुन्छ, किनभने सुनमा खिया लाग्दैन ।’ अहिले साम्यवादको लक्ष्य झनै टाढियो । यद्यपि नेताहरू समाजवादको सपना बाँडि नै रहेका छन् । तमाम बेपत्ता, घाइते, सहिद र आम जनता अझै आशावादी छन्, छौँ । 

पारिजातको ‘आधा आकाश’ ओल्टाईपल्टाई गरिरहन्छु । मसँगै जन्मेकी किताब बढो प्रिय लाग्छ । ७५÷७६ पेजको दुब्लो–पातलो किताब, सधैँ ऊर्जा प्रदान गर्छ । रुवाउँछ र छाती सफा पार्न मद्दत गर्छ । सुरुमै, ‘ससाना कुरा’को प्रसङ्ग छ । ससाना कुरामै सतर्कता अपनाउन जोड गरिएको छ । सानो कुराले मेरो ध्यान अन्त बरालियो । छिमेकीको कम्पाउण्डभित्र भर्खरै काँठे कुखुरीले चल्ला काढेकी थिई । चल्ला टिप्न चिल झम्ट्यो, ‘कँत्–कँत् कोत्याँक्’ गर्दैै माउ चिलसँग लड्न गई । चिलले चल्ला लान सकेन । माउले चल्लाहरूलाई छपक्क छोपी । 

मैले ‘आधा आकाश’ फेरि पल्टाएँ । पेज ६८ पल्टियो, ‘प्रबल वात्सल्यको कारणले गर्दा ‘बघिनी र पोथी चितुवा शिकार गर्नमा बाघ र चितुवाभन्दा छिटो हुन्छन् ।’ मेरी एउटी संगीनी बघिनी जस्तै छिन् । जनयुद्धको घाइते तिनी नानीको भारलाई फूल जस्तै ठान्छिन् । म तिनलाई हलुका लिपस्टिकमै राम्री देख्छु । 

खगेन्द्र सङ्ग्रौलाले हाम्रो जिल्ला (पर्वत)लाई कुनै दिन ‘साहित्यको अनुर्वर भूमि’ भन्नु भएछ । ‘गजल एउटा मात्रै लेख्नु’ भन्नु भएछ । ठीकै लाग्यो । प्रलेसको चुनावमा उठेर पनि कसैसित भोट माग्नु भएनछ, ठीकै लाग्यो । नरहरि आचार्य र गगन थापालाई भोट माग्दै हिँड्दा पनि ठीकै लाग्यो । चुरोटले दाइलाई लेखन ऊर्जा प्राप्त छ, ठीकै लाग्छ । दाइसँगै बसेर ड्रिङ्क गरेको केही समयपछि गोविन्द वर्तमान बितेछन् । अहँ, यहाँ म दाइको कहीँ कतै दोष देख्दिनँ । ‘जुनकीरीको सङ्गीत’प्रति केही कटु आलोचना पढेँ । अहँ, दाइलाई दोष छैन ।

पिँजडामा बसेर चारो खाइरहने नेताबारे खगेन्द्र सङ्ग्रौलाले लेखे, ‘गोपीकृष्ण कहो बेटा, तुम जरुर प्रधानमन्त्री बनोगे !’ यसो लेखिएको वर्ष दिनभित्रै ती नेता प्रधानमन्त्री बने । अहिले शक्तिशाली प्रधानमन्त्री हुन थालेका केपी ओली उपप्रधान तथा गृहमन्त्री छँदा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीको घरमा बम पड्क्यो । जिम्मेवारी वोध गराउँदै खगेन्द्र सङ्ग्रौलाले लेखे, ‘यो घटना गराउने ठूला उपप्रधानमन्त्री श्री केपी शर्मा ओली हुन् (०६३-११-३० ‘कान्तिपुर’) ।’

अहिले फेसबुक निकै चल्छ । खगेन दाइको लेखोट अनिवार्य खोज्छु । साह्रै घत पर्छ । डा. केसी र प्रधानन्यायाधीश पराजुली प्रकरणमा खगेन्द्र सङ्ग्रौला विचार राख्छन्, ‘आफ्नै बोसको इसारामा डा. केसीविरुद्घ मुद्दा हाल्ने सर्वाेच्चको कर्मचारी, केसीलाई पक्रने फैसला गर्ने सर्वाेच्चकै न्यायाधीश, झटपट पक्रने छापामार प्रहरी, केही चाल नपाउने लट्ठक प्रधानमन्त्री, सर्वाेच्चद्वारा भ्रष्ट र चोरहरूलाई चौतारी, सत्याग्रही सन्तलाई सुली ! हैट्, यो अन्धेर नगरी ! (०७४-०९-२६ ‘समाधान’) ।’

अदालतबारेका अनेक लामा–लामा तर्कपूर्ण आलेखहरू धेरै आए । शब्दको सञ्चिति वा फारुपना सायद यही होला । यति थोरै शब्दमा मर्मस्पर्शी अभिव्यक्ति अन्यन्त्र पाउन गाह्रो छ । हिन्दी गीतबारे पनि खगेन्द्र सङ्ग्रौला आफ्ना स्पष्ट धारणा अघि सार्छन्, ‘देवघाटमा माघे सङ्क्रान्ति मेला हिन्दी गीत गाउन निषेध’ अनलाइन खबर । अरे, गीत त आनन्ददायी एवम् पीडा विरेचनकारी सूक्ष्मतम् कला पो हो । कुनै भाषाप्रतिको घृणाको कारण त्यो भाषाको गीतलाई नै घृणा गर्नु सभ्य मनुवाको लक्षण हो र मान्यवर ? (०६४-१०-०४ ऐ) । म ढुक्क भएँ । गीत सुन्दै काम गर्ने बानी छ । ‘ए मेरे वतन की लोगोँ, जरा आँखो मेँ भरलो पानी÷जो सहिद हुए है उन की जरा याद करलो कुर्वानी..!’ लता मङ्गेसकर बूढी हुनुभोे, मर्नु होला । उहाँका यस्ता कालजयी गीतहरू मर्दैनन् । केही साथीहरू खिस्याउँथे, अब मलाई आपत्ति भएन । बरु खगेन्द्र सङ्ग्रौलाकै एउटा फेसबुक अभिव्यक्तिले पिरोलेको छ । उहाँ लिपस्टिक पोत्नुलाई बुर्का पहिरिनु सरह ठान्नु हुन्छ ।

खगेन दाइ दाह्री खौरिनु हुन्छ । भाउजु लिपस्टिक लाउनु हुँदो हो, नत्र पनि उहाँका नानीहरू पक्कै लाउँदा हुन् । मोदनाथ प्रश्रितले सिउँदोको रातो सिन्दूरलाई थाप्लोमा खुकुरीको प्रहार जस्तो भन्ने उल्लेख गरेका छन् । आजकल सिन्दूरको चलन घटेको छ । नाक, कान छँेड्ने चलन लगभग हटेको छ । गहना प्रायः लाइँदैन । लिपस्टिकमा उस्तो खतरा देखिँदैन । धेरै महँगो पर्दैन र समयको पनि बिछट्टै खर्च गर्दैन ।

दाह्री काट्नु अति सूक्ष्म कला नभए पनि कला हो । जान्नेहरू दाह्री काट्छन्, नजान्नेले गाला काट्छ । लिपस्टिक घस्नु अघि सफासुग्घर भइन्छ । कलाप्रतिको मोह बढ्छ । भानुभक्तले ‘वेश्या हुन्या हाँस्तछन्’लाई  अलि सच्याएँ अरे । खगेन दाइले लिपस्टिक बारेको आफ्नो सोच अलि सच्याउन मिल्दैन ? आफ्नै विचारले, धुनले बादलमा हराउँदै कल्पनाको वायुपङ्खी चढेर उड्नुको मज्जा दाइलाई अवश्यै थाहा छ । दाइ संवेदनशील साहित्यकार हुनुहुन्छ । नारीको प्रसव पीडा अनुभव गर्नसक्नु हुन्छ । तर दाइ, ऐनामा उभिएर ओँठमा लिपस्टिक घस्दाको आनन्द छुट्टै छ । एकैछिन् कता–कता हराइन्छ । कुनै कामको हतारमा ‘नानी !’ भनेर आमाले बोलाउँदा पनि ‘किन हो ?’ भनी अलि च्याँठिएर कराइन्छ । दाइ, नारीको सामान्य शृङ्गार प्रसाधन किन खोस्नु हुन्छ ? खोस्ने हो भने दाइ पनि दाह्री पाल्नुहोस् । तपाईं आतङ्ककारी र सदाचारी दुवै हो ।  

फेरि निवेदन गर्छु ‘खगेन दाइ, तपाईं दाह्री पाल्नोस् !’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप