मेलम्ची : अब १० किमी मुख्य पाइपलाइन बिच्छ्याउन बाँकी
काठमाडौँ । मेलम्चीबाट काठमाडौ आउने पानी वितरणका लागि काठमाडौँमा अब १० किलोमिटर मुख्य पाइप लाइन बिच्छ्याँउन बाँकी छ । कुल ७७ किलोमिटर थोक वितरण प्रणाली अन्र्तगत ६७ किलोमिटर पाइपलाइन बिच्छ्याइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
घर घरमा पानी वितरणका लागि ६ सय ७० किलोमिटर मध्ये ६ सय ४४ किलोमिटर पाइपलाइन बिच्छ्याउने काम सकिएको छ । वितरण पाइपलाइनबाट उपत्यकाका ८४ हजार २ सय १७ घरमा पानी पुग्नेछ । हालसम्म ४५ हजार १ ससय ८६ घरमा धारा जडान भइसकेको छ ।
आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालका अनुसार पाइपलाइन बिस्तार गरिएको स्थानमा कालोपत्रे गर्ने काम पनि शूरु भएको छ । भत्काइएका यस्ता सडक कालोपत्रे गर्नका लागि सडक विभागसँग सम्झौता गरेको उनको भनाई छ । हालसम्म २८ किमी सडक मर्मतको काम सकिएको छ ।
पाइप लाइन बिच्छाइएका ६१ किलोमिटर सडकमा कालोपत्रे गर्नका लागि सडक विभागसँग सम्झौता समेत गरिएको छ । पाइपलाइन बिच्छाइएका सडक निर्माण तथा कालोपत्र गर्न विभागले ८५ करोड खर्च गर्ने भएको छ । बाँकी १ सय किलोमिटर हाराहारीको सडक निर्माण एवं कालोपत्रको काम भने आयोजना निर्देशनालयले गर्ने भएको छ ।
३ महिनाभित्र उपभोक्ताको घर घरमा पानी
आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौंको सुन्दरीजलमा ८ करोड ५० लाख लिटर पानी संकलन तथा प्रशोधनका लागि पानी भण्डारण केन्द्र निर्माण सम्पन्न गरेको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने क्षमता छ । दोश्रो चरणमा थप आठ करोड ५० लाख लिटर पानी संकलन तथा प्रशोधन केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । सुन्दरीजलबाट काठमाडौंका विभिन्न ठाँउमा रहेका ९ वटा पानी संकलन केन्द्रमा पठाइनेछ ।
सिन्धुपाल्चोकको मेलम्चीदेखी काठमाडौंको सुन्दरीजलसम्म रहेको साढे २७ किलोमिटर सुरुङमध्ये अब ३ सय मिटर बनाँउन बाँकी रहेको छ । यो दुरी खनेपछि सिन्धुपाल्चोकबाट बनाँउदै आएको टनेल र सुन्दरीजलबाट बनाँउदै गएको सुरुङ जोडिनेछन् । सुरुङ निर्माण सकेर पानी संकलन केन्द्रमा पानी आएको ३ महिनाभित्र उपभोक्ताको घर घरमा पानी पुग्ने निर्देशनालयका प्रवक्ता ढकालले जानकारी दिए । यसका लागि मुख्य पाइपलाइन सफाईको पनि भइरहेको छ । काठमाडौंमा अब धूम्बाराही, महाराजगञ्ज, सामाखुसी र कलंकी क्षेत्रका ३ सय किलोमिटरमा खानेपानी वितरण लाइन राख्न बाँकी रहेको छ । यसका लागि झन्डै आठ अर्ब रकम आवश्यक पर्ने निर्देशनालयले जनाएको छ ।
मेलम्चीको पानी आएपछि दैनिक ५ घण्टा पानी
काठमाडौं उपत्यकामा यतिबेला दैनिक ३५ करोड लिटर खानेपानीको माग रेहेको छ । उपत्यका र छेउछाउका पानीको स्रोतबाट बर्षायाममा दैनिक १६ करोड लिटरसम्म र हिँउदमा ९ देखि १० करोड लिटर हाराहारी पानी वितरण हुँदै आइरहेको छ । मेलम्चीको पानी राजधानी भित्रिएपछि पानी वितरणमा सहजता थपिने भएको छ । पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आँउदा दैनिक ५ घण्टा लगातार उपभोक्ताको घरमा पानी वितरण गर्न सकिने अनुमान छ ।
दोश्रो चरणमा मेलम्ची भन्दा परका अन्य दुई खोलाहरु याङरी र लार्के खोलाबाट थप १७ करोड लिटर दैनिक पानी ल्याउने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यसरी ३ खोलाबाट दैनिक ३४ करोड लिटर पानी काठमाडौं ल्याँउदा काठमाडौंमा पानीको माग धेरै हदसम्म पूरा गर्न सकिने भएको छ । दैनिक ३४ करोड पानी भित्रिएमा २४ सै घण्टा काठमाडौंमा पानी वितरण गर्न सम्भव हुने आयोजना निर्देशनालयले जनाएको छ । सुरुङमार्ग बिस्तार तथा वितरण लाइन बिस्तारमा भइरहेको कामको गति हेर्दा आगामी बैशाखबाट पानी वितरण हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानचेस्टर सिटीका प्रशिक्षकको विचित्र व्यवहार : खेल बराबरीमा सकिएपछि अनुहार र टाउकोमा घाउ बनाए !
-
३८.८१ अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार
-
कीर्तिपुरमा सहयोग गर्ने विषयमा रास्वपाभित्र तीनथरी मत
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी