शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली वर्णविन्यास : विवाद र अबको बाटो

बुधबार, १५ भदौ २०७३, १२ : २६
बुधबार, १५ भदौ २०७३

विषय–सन्दर्भ

नेपाली वर्णविन्यासमा मूलतः दुई धार देखिएका छन् । एउटा पुरानो नियमलाई हुबहु मान्नुपर्छ भन्ने धार र अर्को नयाँ नियमलाई मान्ने धार । उच्चमावि र स्कुलतहमा नयाँ धारको वर्णविन्यासलाई कायम गरिएको छ तर शिक्षकहरु अभ्यस्त भइसकेका छैनन् । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशले नयाँ धार समाएको छ तर प्राज्ञहरुबीचमा भने मतैक्य छैन । त्रिविमा कोही नयाँ धारमा छन्, कोही पुरानो छाड्न मिल्दै मिल्दैन भन्दै छन् । सञ्चारगृह आफूखुसी गरिरहेका छन् । पछिल्लो समयमा यो विवाद सामाजिक सञ्जालमा छताछुल्ल भएको छ, गालीगलौजको तहमा झरेको छ । विषयलाई अतिरञ्जित गरी हुँदै नभएका कुरासमेत प्रचार गरिएको छ । कुनै विषयमा विवाद हुनु स्वाभाविक हो, हुनुपर्छ तर बहस र विवादका नाममा गालीगलौज र नभएका कुरालाई अतिरञ्जन गरी एकप्रकारको अराजक स्थिति उत्पन्न हुनु राम्रो होइन । यस्तो अवस्थामा कुनचाहिँ धार ठीक हो भन्ने विषयमा निक्र्योल गर्न आवश्यक छ । विद्वान्मा आफ्नो ‘इगो’ होला, आग्रह होला र मुख्य कुरा त नानीदेखि लागेको बानी परिवर्तन गर्न नचाहने कुरा होला । तर भाषा कुनै अमूक विद्वान्को निजी कुरा होइन, यो आममानिसले सधैँ प्रयोगमा ल्याउने कुरा हो । भाषा अभिव्यक्तिको माध्यम हो र वर्णविन्यास लेख्य भाषाको एउटा अनुशासन हो । यसमा अनावश्यक विवाद र किचलो गरिरहन ठीक छैन । कुनचाहिँ प्रयोग ठीक हो भन्ने कुराको स्पष्ट निर्णय हुन आवश्यक छ । कसैका मतभेद हुन सक्छन्, सर्वसम्मत दुनियाँमा कहीं पनि छैन तर पनि न्यूनतम सहमति आवश्यक हुन्छ । कोही विद्वान् जँुगाको लडाइँ लड्छन् भने लडिरहून् । तर, आमप्रयोक्ताले एउटा निर्णय गरेर अघि बढ्नैपर्छ ।

विवादको विषय पुरानो वर्णविन्यास र नयाँ वर्णविन्यासबीचमा रहेको मुख्य मतभेद :

नयाँ वर्णविन्यास लागू हुनुभन्दा धेरै पहिले नै तद्भव र आगन्तुक शब्दमा ञ, णका सट्टा न् र श, ष का सट्टा स मात्र (जस्तै : पन्डा, सहिद, माउन्ट, झन्डा, एभरेस्ट, स्टेसन) लेख्न थालिएको थियो । त्यसलाई पनि उल्ट्याएर शहीद, माउण्ट, झण्डा, एभरेष्ट, स्टेशन रेष्टुरेण्ट आदि प्रयोग हुनुपर्ने पुरानो नियमका पक्षधरको आग्रह देखिन्छ । त्यस्तै आगन्तुक शब्द (जस्तै : गरिब, कानुन, वकिल, नमुना आदि) मा सुरू र बीचमा ह्रस्वमात्र लेख्ने चलन धेरै अगाडि सुरू भएको हो, त्यसलाई पनि उल्ट्याएर गरीव, कानून, वकील, नमूना, स्कूल आदि लेख्नुपर्ने पुरानो नियमका पक्षधरको आग्रह देखिन्छ । नयाँ वर्णविन्यास नियमले पनि संस्कृतबाट जस्ताको तस्तै नेपालीमा आएका (तत्सम शब्द) को ह्रस्व, दीर्घ, ञ, ण, श, ष, ब, व, क्ष, ज्ञ आदि प्रयोगमा पुरानै नियमलाई मानेको छ र अहिलेको खास विवाद तद्भव र आगन्तुक शब्दमा मात्र हो । नयाँ नियमका कारण ‘फूल’ लाई ‘फुल’ बनाएको धेरैलाई मन परेको छैन । संयुक्त अक्षरका लिपि जस्तै : द्य, द्द, द्ध, त्त, क्त आदिलाई क्रमशः द्य, द्द, द्ध, त्त, क्त लेखिने नयाँ नियम पनि कतिलाई मन परेको देखिँदैन र पछिल्लो समयमा सामाजिक सञ्जालमा यसलाई अतिरञ्जित गरी प्रस्तुत गरिएको छ । प्रचलनमा रहेका पूरा, बीच, तीनजस्ता शब्दलाई क्रमशः पुरा, बिच, तिन आदि लेखिने गरेकामा पनि पुरानो वर्णविन्यासका पक्षधरले आलोचना गरेको पाइन्छ । अहिलेको वर्णविन्यासका विवादको मुख्य विषय यिनै हुन् । पुरानो लेख्य परम्पराभन्दा नयाँ लेख्य परम्परा सरल छ, एकरूपतामा पनि छ र उच्चारणको नजिक पनि छ । यस आधारमा यो बढी वैज्ञानिक पनि छ । तर, यसलाई लागू गर्ने कुरामा भने कमजोरी देखिन्छ । नयाँ वर्णविन्यास लागू गर्नुअघि विद्वान्बीचमा व्यापक छलफल आवश्यक हुन्थ्यो । नेपाली भाषासँग सम्बन्धित विश्वविद्यालय, प्रतिष्ठान, सञ्चारगृह, सरकारी निकाय र भाषाशास्त्रीबीचमा व्यापक बहस भएर न्यूनतम सहमतिमा नयाँ नियम बनेको भए अहिलेको विवाद जन्मिने थिएन । तर, त्यसो नगरी उच्चमावि, मावि अनि प्रज्ञाप्रतिष्ठानका शब्दकोशमा नयाँ नियमको प्रस्ताव गरिँदा यसमा बढी आलोचना भएको हो । त्यसैले नयाँ नियमका कतिपय कुरा स्वाभाविक, सरल र सान्दर्भिक हुँदाहुँदै पनि विवादास्पद बनेका हुन् । कुन बाटो ? पुराना बानी, नियममा कमजोरी देखिएमा नयाँ बानी, नयाँ नियममा जानैपर्ने हुन्छ । संसारमा हरेक कुरा परिवर्तनशील छन् र भाषामा पनि परिवर्तन स्वाभाविक कुरा हो । नेपाली भाषाको लेखन परम्परामा पनि समय–समयमा परिवर्तन हुँदै आएको छ र अहिलेको परिवर्तन इतिहासमा हुँदै नभएको र हुनै नसक्ने भन्ने होइन । नेपाली भाषा नेपाली मातृभाषी र संस्कृत पढेकाको मात्र होइन, नेपाल र विश्वभर फैलिएका विभिन्न मातृभाषी नेपालीको सम्पर्क भाषा पनि हो । त्यसैले परम्पराका नाममा यसको लेखनमा रहेको जटिलतालाई नहटाउनु भनेको नेपाली भाषाप्रति वितृष्णा जगाउने कामलाई प्रश्रय दिनु हो । त्यसैले कतै जटिलता छन् भने तिनलाई सरलीकरण गर्दैमा भाषा सिद्धियो भनेर कोकोहोला मच्चाउनु ठीक होइन । नेपाली भाषामा अरबी, फारसी, अंग्रेजी, हिन्दीलगायत विभिन्न भाषाबाट सयौँ, हजारौँ शब्द आएका छन् । मूल भाषामा ती हरेक शब्दको आफ्नैखालको उच्चारण र लेख्य व्यवस्था छ । अब पुरानो नियमको वकालत गर्नेले भनेजस्तो मूलमा जसरी लेखिन्छ, त्यसरी लेख्ने हो भने नेपाली पढ्ने, लेख्ने मान्छेले ती हरेक भाषाका नियम जान्नुपर्ने हुन्छ, त्यो सम्भव छैन । त्यसैले नेपालीमा प्रचलित शब्दको लेखनमा नेपाली नियम बनाउन आवश्यक छ । नयाँ नियमले तद्भव र आगन्तुक शब्दमा ञ र ण का सट्टा न, एउटै मात्र स, अनि सुरू र बीचचमा ह्रस्व मात्र लेख्ने एउटा नियम बनाएको छ । यसले पुरानो नियममा अभ्यस्त भएकालाई सुरूमा अप्ठ्यारो पार्छ तर विद्यार्थी तथा दोस्रो भाषीलाई नेपाली लेख्न भने सजिलो बनाइदिएको छ । यो ठीक छ । नयाँ वर्णविन्यासले पदवियोगलाई प्रश्रय दिएको छ र कुन पद जोडिने र कुन पद छुट्टिने भन्ने नियममा नअल्झिँदा पनि हुनेगरी लेखनमा लचकतालाई स्वीकारेको छ । यसले नेपाली लेखन जटिल नभएर सरल छ भन्ने सन्देश दिन खोजेको छ र नेपाली लेखनलाई हाउगुजी हुनबाट जोगाएको छ भन्ने यसका अभियन्ताको तर्क छ । उहाँहरुको तर्क आफ्ना ठाउँमा ठिकै होला तर मानक लेखनमा भने सकेसम्म एकरुपता हुनुपर्छ । विकल्प हुन सक्छ तर जसलाई जे मन लाग्यो त्यही लेख्ने छुट भने दिन मिल्दैन । यस विषयमा भने एउटा टुंगोमा पुग्न आवश्यक छ ।

अहिले सामाजिक सञ्जालमा चर्को रुपमा उठाइएको विषय भनेको संयुक्त लिपिमा रहेका द्य, क्त, द्ध आदिलाई जोडेर लेख्ने कि छुट्याएर लेख्ने भन्ने विषय हो । नयाँ नियम आउनुअगाडि नै मुक्त/मुक्त, दिक्तेल/दिक्तेल, रड्ड/रङ्ग, पद्म/पद्म, गद्य/गद्य, सङ्घ/सङ्घ आदिमा वैकल्पिक प्रयोग भएकै थियो । नयाँ नियम आएपछि विद्या/विद्या, विद्वान्वि/द्वान्, द्वन्द्व/द्वन्द्वजस्ता केही लेखनले विवाद जन्माएको देखिन्छ । यसैले यसमा विवाद गर्नुभन्दा पनि दुईमध्ये कुनै एक विकल्पको प्रयोगलाई स्वीकार गर्नु राम्रो हुन्छ । यसो गर्दा अर्थ उही हो र लिपि पनि उही देवनागरी हो । अन्त्यमा, हरेक नयाँ कुराको जन्मसँग विवाद जन्मिन्छ, यो स्वाभाविक प्रक्रिया हो । पुरानो आदत, पुरानो लत, पुरानो बानी छाडेर नयाँ बानी सिक्नुपर्दा जोसुकैलाई अप्ठ्यारो हुन्छ । प्रस्तावित नयाँ वर्णविन्यासमा अभ्यस्त हुन हामीलाई त्यस्तै भएको छ । तर पनि हामीले परिवर्तनलाई आत्मसात् गर्न आवश्यक छ । नयाँ नियमले तद्भव र आगन्तुक शब्दलाई त एउटा नियममा ढालेको छ, यसलाई आत्मसात् गर्दा नेपाली भाषालाई कुनै हानि हुँदैन र प्रयोक्तालाई पनि सजिलो हुन्छ । तर, पदयोग र पदवियोगको विषय अनि संयुक्त वर्णको लेखनसम्बन्धी विवादमा भने छलफल गरी एउटा टुंगोमा पुग्नैपर्छ । सामाजिक सञ्जालमा गालीगलौज गरेर कसैलाई फाइदा छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप