आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

एआईजी साब’को ‘दादागिरी’

शुक्रबार, १२ माघ २०७४, १३ : १७
शुक्रबार, १२ माघ २०७४

काठमाडौँ । प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर १ का एआईजी पशुपति उपाध्यायले आफ्नो गाडीलाई पास लाइट नदिएको सानो निहुँमा एक भारतीय नम्बरको गाडीलाई हैरानी दिएका छन् । 

यतिसम्म कि, मातहतको प्रहरी ईकाइको दुरुपयोग गर्दै एआईजी उपाध्यायले सवारीको ब्लु बुक र बीमा पत्र नै नष्ट गरेर भन्सारमार्फत लिलामीको सूचना निकाल्न लगाएको पीडित पक्षले आरोप लगाएका छन् ।   

कुरा कार्तिक २५ गतेको हो, काठमाडौँको ईमाडोल बस्ने कमाल अली काम विशेषले विराटनगर गएका थिए । भारत उत्तर प्रदेश स्थायी घर भएका मोहम्मद कुतुवको गाडी उनले भन्सार पास लिएर विराटनगर क्षेत्रमा प्रयोग गर्दै आएका थिए । 

भन्सार शुल्क र स्थानिय निकायलाई कर तिरेपछि नेपाल भारत सिमानाको १० किलोमिटर वारपार दुवै देशका गाडी चलाउन पाइन्छ । 

‘कार्तिक २५ गते शनिवार थियो, म बिराटनगर प्रवेश गर्दै थिएँ, टुरिष्ट नम्बर लिन बिर्सेछु त्यसको लागी फेरि युटर्न लिएर भन्सार तिर जाँदा एआईजी पशुपति उपाध्यायको गाडीसँग जम्काभेट भयो,’ पीडित कमाल अली भन्छन्, ‘पशुपति उपाध्याय सिभिल गाडीमा थिए, बाटो पुग्ने हुनाले मैले साइड लाइट दिइँन, एकैछिनमा मलाई प्रहरीले घेरेर नियन्त्रणमा लियो ।’ 

‘युपी ५५ क्यु ९४६३’ नम्बर उल्लेखित होण्डाको कमेज कारलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले तत्काल नियन्त्रणमा लिएर आफूलाई निकै सताएको कमल अलीले आरोप लगाएका छन् । उनका अनुसार ईलाका प्रहरी कार्यालयका इन्सपेक्टर सन्तोष निरौलाले गाडीको ब्लुवुक र इन्सुरेन्स पेपर लिएर नष्ट गर्दै उनको गाडी लिलामीका लागि भन्सार कार्यालय विराटनगरलाई बुझाइदिएका छन् ।  

उत्तर प्रदेश स्थायी घर भएका भिनाजु नाता पर्ने शैयद मोहम्मद कुतुवको गाडी आफुले केही दिन चलाएको र उक्त गाडीको कागजपत्र जफत गरेर लिलामीमा पठाएसँगै आफू मानव अधिकार आयोगदेखि अदातलसम्म पुगेको कमाल अलीले बताएका छन् । 

एआईजीलाई पास लाइट नदिएको दिन चेकजाँच गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चिट काटेर छाडेको तर ब्लुवुक र इन्सुरेन्स पेपर फिर्ता माग्न जाँदा प्रहरीले ‘हामीलाई कहिले दिइस् ?,’ भन्दै हप्काएको अलिले बताएका छन् । 

अलीलाई नियन्त्रणमा लिएका प्रहरीहरुले ‘झण्डै एआईजी साप मार्ने ?’ भन्दै धाकधम्की दिएपछि उनको गाडी वेवारिसे अवस्थामा फेला परेको र कागजात नभएको भन्दै विराटनगर भन्सार कार्यालयमा बुझाएका छन् । 

‘अहिले मेरो आफन्तको गाडी २५ लाखमा भन्सार कार्यालयले लिलामी सूचना निकालेको छ’ अलीले रातोपाटीसँग भने, ‘भन्सार प्रमुख भिमास अधिकारीले जिते पाउँछौ, हारेमा गयो भन्नुभएको छ, आफ्नो सामान लिन हामीले किन मुद्दा लड्नुपर्ने ?’ 

सवारी धनी शैयद मोहम्मद कुतुवले दायर गरेको रिट उपर सुनुवाई गर्दै उच्च अदालत विराटनगरले विराटनगरले विराटनगर भन्सार कार्यालयलाई तत्काल उक्त गाडी लिलाम नगर्न अन्तरिम आदेश जारी गरेको छ । 

यसबारे जिज्ञासा राख्दा १ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले त्यसरी नसताएको बताए ।

उनले भने, ‘डकुमेन्ट नभएको हुनाले भन्सारमा बुझाएको हो, यसबारे मैले अदालतमा पनि जवाफ दिएको छु । डकुमेन्ट छ भने भन्सारमा देखाएर लिए हुन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप