शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भुइँमा बसेर पढ्दै दुर्गमका विद्यार्थी

सोमबार, ३१ साउन २०७३, १५ : ४२
सोमबार, ३१ साउन २०७३

गोरखा - ‘लेकका हामी केटाकेटी कुहिरोभित्र स्कुल छ, चौँरीलाई चराउँदै दिन बित्छ पढ्नु र लेख्नु मुस्किल छ । हिउँमा कोरेको अक्षर त एक छिनमा बिलाइ जैजान्छ दिनभर हेर्नुछ गाईबस्तु नहेरे भालुले खाइजान्छ लेकका हामी केटाकेटी !!! ।’

आभासको गीतमा रामेशले सङ्गीतबद्ध गर्नुभएको यो गीत जति कर्णप्रिय छ यसले बोकेका वास्तविकता झन् मार्मिक छन् । गीतले उत्तरी गोरखाका बालबालिकाको दुःख बोकेको छ भने शिक्षाको अवस्था पनि छर्लङ्ग दर्साएको छ ।

सहरका केटाकेटी सुकिलो कपडा लगाएर झोलामा खाजा र पानी बोकेर सरर गाडी चढेर विद्यालय जान्छन् । तर, उत्तरी गोरखाका अधिकांश विद्यालयका विद्यार्थी कक्षाकोठामा बस्ने बेन्च र किताब राख्ने डेक्सको अभाव झेल्दै आएका छन् ।

मान्वु गाविस–९को शिव प्राथमिक विद्यालयको अवस्था झन् कहालीलाग्दो छ । भूकम्पले विद्यालय भवन भत्काएपछि टहरोमा सञ्चालित यो विद्यालयमा दुईजना मात्र शिक्षक दरबन्दी छ । कक्षा ५ सम्म भएको विद्यालयमा २२५ जना विद्यार्थी अध्ययनरत छन् । फर्निचरको अभावले गर्दा विद्यार्थी पानी पर्दा हिलो हुने र घाम लाग्दा गर्मी हुने टहरोमा पढ्न बाध्य छन् ।

“एकै पिरियड (घन्टी)मा एकभन्दा बढी कक्षाकोठामा गएर पढाउनुपर्छ”, शिक्षक मलबहादुर गुरुङले भने – “शिक्षक दरबन्दी थोरै हुँदा पढाउन समस्या छ । विद्यालयमा फर्निचरको अभाव छ । भुइँमा विद्यार्थी राखेर पढाउँछौँ ।”

जिल्ला शिक्षा कार्यालयले टहरो निर्माणका लागि बजेट उपलब्ध गराएको भए पनि गुणस्तरीय टहरो निर्माण भएको छैन । जसले गर्दा खुल्ला टहरोमा विद्यार्थी पढ्न बाध्य छन् । ठूलो पानी पर्दा विद्यालयमा पठनपाठन बन्द गर्नुपर्ने बाध्यता रहेको शिक्षक गुरुङको भनाइ छ । टहरोभित्रका कक्षाकोठामा एक कक्षामा पढाएको हल्लाले अर्को कक्षामा पठनपाठन गर्न कठिनाइ भएको छ । हल्लाले पठनपाठनमा गुणस्तरीयता ल्याउन मुस्किल रहेको शिक्षकहरु दाबी गर्छन् ।

मान्वु–८ को गणेश निमाविमा पनि फर्निचर, शिक्षक दरबन्दीको समस्या छ । भूकम्पले भत्काएका भवनहरु पुनःनिर्माण सुरु भएको छैन । पानी पर्दा विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ । पुराना जस्तापाताले छाएको टहरोमा पानी चुहिँदा विद्यार्थीको किताब, कापी भिज्दा पठनपाठनमा समस्या भएको हो । यस्तो समस्या हिमालपारिका सिर्दिवास, बिही, प्रोक, ल्हो, चुम्चेत, छेकम्पार र सामागाउँ गाविसका विद्यालयमा पनि छ । यहाँका बालबालिका विद्यालय छाडेर पढ्न भन्दै गुम्बा जान्छन् ।

विद्यालयमा खाजालगायतका सुविधा नभएकाले बालबालिका गुम्बामा गएका हुन् । गुम्बा गएका बालबालिकाले बीचमै पढाइ छाड्ने गर्दा दुर्गमको शैक्षिक अवस्था खस्कँदै गएको छ । उत्तरी भेगमा दर्जन बढी गुम्बा सञ्चालनमा छन् ।

उत्तरी सात गाविसको एकमात्रै मावि सिर्दिवासमा बुद्ध आवासीय मावि हो । यहाँ ४०० भन्दा बढी विद्यार्थी पढ्दै आएका छन् । यीमध्ये १२० जनाले आवासीय सुविधा पाउँछन् । उहिया, केरौँजा, काशीगाउँलगायत गाविसका विद्यार्थी पनि सिर्दिवासमा पढ्न पुग्छन् । भूकम्पले स्थानीयवासीको घर भत्किएपछि डेरामा बस्न समस्या भएको विद्यार्थीको गुनासो छ ।

विद्यालयका प्रअ प्रकाश घिमिरे भूकम्पले भत्काएका विद्यालय भवन र छात्रावास पुनःनिर्माणमा ढिलाइ भएको बताउँछन् । आवासीय कोटा थप गर्नुपर्ने उनको भनाइ छ । दुर्गममा खाजालगायत आकर्षक कार्यक्रम लागू गर्न सकियो भने विद्यार्थीको भर्ना दर बढ्ने शिक्षकहरु तर्क गर्छन् ।

विद्यार्थी सङ्ख्या कम भएपछि तिब्बतसँग सिमाना जोडिएको साम्दोको साम्दो प्रावि विद्यार्थी सङ्ख्या बढी भएको आवासीय अर्को विद्यालयमा समायोजन गरिएको छ । यस्तै जिल्लाभरका ६३ विद्यालय एकापसमा समायोजन गरिएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले जानकारी दिए ।

विद्यालय बीचमै छाडेर गुम्बामा पढ्न गएका विद्यार्थीले एसएलसी पनि पास नगरेको देखिएकाले गुम्बा गएका विद्यार्थीलाई पुनः विद्यालय फर्काउने अभियान सुरु गरिने जिशिअ सुवेदीले बताए । भूकम्पले भत्काएका ४५० भन्दा बढी विद्यालय आउँदो दुई वर्षभित्र पुनःनिर्माण गरिने भन्दै सुवेदीले सरकार र दातृ निकायको सहयोगमा विद्यालय पुनःनिर्माण गर्ने जानकारी दिए ।

दुर्गममा शिक्षा क्षेत्रमा राज्यको ठूलो लगानी भए पनि प्रतिफल देखिएको छैन । हिउँ परेपछि र बर्खाका बेला लेकका विद्यालय सञ्चालन गर्न कठिनाइ हुने गर्छ । विद्यालय नै नभएको बिही गाविसमा गुम्बा हिमाली प्रावि सञ्चालन सुरु गरेको जिशिअ सुवेदीको भनाइ छ ।

यस्तै प्रोक गाविसको नुब्री प्राविलाई आवासीय माध्यामिक बनाउने प्रस्ताव गरिएको हो । शिक्षा विभागमा आवासीय विद्यालयहरु थप गर्न आग्रह गरिएको भए पनि कार्यक्रम पास भएर बजेट आउन ढिलाइ भएको जिशिअ सुवेदीले बताए । दुर्गम भेगका विद्यालयहरु हिउँदयाममा हिउँ परेपछि बेँसी झर्ने गरेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप