टेस्ट बलर बरियता : शीर्ष स्थानमा अश्विन, याशिर पाँचौं स्थानमा झरे

एन्टिगुवा – वेस्ट इन्डिजबिरुद्धको पहिलो टेस्टमा उत्कृष्ट बलिङ गरेका भारतीय स्पीनर रविचन्द्र अश्विन टेस्ट बलरको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन् । पहिलो टेस्टमा ८३ रन खर्चेर ७ विकेट लिएका अश्विनले केही दिनअघि मात्र शीर्ष स्थानमा उक्लेका पाकिस्तानी बलर याशिर शाहलाई विस्थापित गरेका हुन् ।
इंग्ल्याण्डबिरुद्धको दोस्रो टेस्टमा निराशजनक २६६ रन खर्चेर १ विकेट मात्र लिएपछि उनी एकै पटक पाचौं स्थानमा झरेका छन् ।
टेस्ट बलरको बरियतामा दोस्रो स्थानमा इंग्ल्याण्डका जेम्स एन्डरसन रहेका छन् । तेस्रो र चौंथो स्थानमा क्रमशः इंग्ल्याण्डकै स्टुअर्ट बोर्ड र दक्षिण अफ्रिकाका डेल स्टेन रहेका छन् ।
ब्याटसम्यानहरुमा भने अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ शीर्ष स्थानमा कायम छन् । ओल्ड ट्राफोडमा पाकिस्तानविरुद्ध दोहोरो शतक बनाएका इंग्ल्याण्डका जो रुट दोस्रो स्थानमा उक्लिएका छन् । इंग्ल्याण्डका कप्तान एलिस्टर कुक पनि चारस्थान माथि उक्लदै नवौं स्थानमा आइपुगेका छन् ।
दोहोरो शतक हानेका भारतीय कप्तान विराट कोहली पनि १२ औं स्थानमा उक्लिएका छन् ।