सन् २०२६ को विश्वकपमा ४० टोली, अफ्रिकाबाट थप दुई टोली : फिफा अध्यक्ष

जुरिच – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०२६ को विश्वकपमा सहभागी टोलीको संख्या बढाएर ४० पुर्याउनु पर्ने प्रस्ताव अघि सारेका छन् । यो प्रस्ताव पास भए अफ्रिकाबाट विश्वकपमा थप दुई टोली विश्वकपमा सहभागी बन्ने उनले बताएका छन् ।
हाल ३२ वटा टोली विश्वकपमा सहभागी हुँदै आइरहेकोमा इन्फान्टिनोले फिफा अध्यक्ष हुनअघि गत फेब्रुअरीमा नै उक्त प्रस्ताव पेश गरेका थिए ।
‘मेरो प्रस्तावमा ४० टोली रहने भनिएको छ । यदी मेरो प्रस्ताव पास भएमा अफ्रिकाबाट कम्तिमा थप दुई टोली विश्वकपमा सहभागी हुन पाउनेछन्,’ इन्फान्टिनोले भने । अफ्रिकाबाट हाल ५ वटा टोलीले विश्वकपमा सहभागिता जनाइरहेको छ ।
सन् २०१८ मा रसिया र सन् २०२२ मा कतारमा हुने विश्वकपमा भने यो लागु हुने छैन । दुवै प्रतियोगितामा ३२ टोली नै सहभागी हुने निश्चित भइसकेको छ ।
यता, नियम उल्लघंन गरेको मामिलामा फिफा अध्यक्षलाई इथिक्स कमिटीले पनि सोधपुछ गर्न बाँकी रहेको छ ।
उनीमाथि विश्वकपको आयोजक बन्न आकांक्षी राष्ट्रले दिएको प्लेन प्रयोग गरेको, योग्यतालाई ध्यान नदिई नियुक्तिहरु गरेको र व्यक्तिगत प्रयोगका सामाग्रीहरुको बिल तिर्न फिफालाई लगाएको आरोप छ ।
यदी उनीबिरुद्धको आरोपहरु पुष्टि भए उनी ९० दिनसम्मका लागि निलम्बनमा पर्न सक्नेछन् ।