बाढीपहिरोले कहाँ-कहाँ के-के गर्यो ?

बागमती लगायत ५ नदीमा खतराको घण्टी : तराईका जिल्लामा सचेत रहन आग्रह
काठमाडौं – हिजोदेखि परिरहेको अविरल वर्षाका कारण देशका ५ वटा नदी जलाधारमा खतराको तहभन्दा माथि रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले त्यस क्षेत्रका जनतालाई सचेत रहन आग्रह गरेको छ ।
आज बिहान चार बजे सूचना जारी गर्दै बाढी पूर्वानुमान शाखाले कन्काई, भोटेकोसी र बागमती नदीको जलाधारले बिहान ४ बजेदेखि चेतावनी तह पार गरेको जानकारी दिएको छ । शाखाले दुई नदी सँगै तनाउ र कर्णाली नदीमा बढी खतरा रहेको जानकारी दिएको छ ।
यसबाहेक, नारायणी नदी र यसको शाखा नदीहरु, मुख्य सेती, कालीगण्डकी, बिनय खोला, अरुण खोला र आसपासका अन्य खोलाहरु, तिनाउ, पश्चिम राप्ति, बबइ, भेरी, कर्णाली, मोहना र ती नदीहरुका संगैका अन्य नदीनालाहरुमा समेत बिहान देखि बेलुकी सम्मनै बाढी चेतावनी तह भन्दा माथि पुग्ने भविष्यबाणी गरिएको छ ।
शाखाले उल्लेखीत नदी-नालाहरुको तटीय क्षेत्रमा, विशेष गरी तराईका जिल्लाहरुमा बसोबास गर्ने सर्वसाधारण र सरोकारवालालाई आज दिनभर उच्च सतर्कता अपनार्इ नजिकको उच्च भूभागमा बस्न आग्रह गरेको छ ।
‘उल्लेखित नदी जलाधारका पहाडी क्षेत्रमा बसोबास गर्ने भिरालो जमिनमा संभावित पहिरो वा स्थानीय खोला–नालामा बाढीको संभावना बढेकोले उच्च सतकाता अपनाउनुहुन अनुरोध छ,’ शाखाले जारी गरेको सूचनामा भनिएको छ ।
आज मध्य र पश्चिम क्षेत्रमा बढी वर्षायता, जलतथा मासम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले आज देशको मध्य र पश्चिम भागमा बढी वर्षा हुने जनाएको छ । देशका सबैभागमा मौसम बदली भई छिटपुट वर्षा भए पनि मध्य र पश्चिम भागमा बढी वर्षा हुने शाखाले जनाएको छ । त्यस्तै आज राती पनि यही क्षेत्रमा वर्षा जारी रहने बताइएको छ ।
वीरेन्द्रनगर र पोखरामा सबैभन्दा बढी वर्षा
आज बिहान ८ बजेर ४५ मिनेट जाँदा जारी गरिएको सूचना अनुसार वीरेन्द्रनगर र पोखरामा सबैभन्दा बढी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा दुवै ठाउँमा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पोखरामा सर्वाधिक २२३ मिलिमिटर वर्षा भएको छ भने वीरेन्द्र नगरमा २०३ मिलिमिटर वर्षा भएको छ ।
त्यसपछि सिमरा र काठमाडौंमा क्रमशः ९७ र ८७ मिलिमिटर वर्षा भएको छ । पूर्वमा ताप्लेजुङमा ४५ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
किन हुँदैछ बढी वर्षा
देशका विभिन्न भागमा एकहप्तादेखि लगातार पानी परिरहेको छ । तिब्बती क्षेत्रबाट आएको वायुको ठूलो ढिक्काका कारण केही दिन नेपालको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको मौसमविद्हरुले बताएका छन् ।
नेपालको वायुमण्डलबाट मनसुनी वायुको रेखा दक्षिणतिर सरेको र त्यसका स्थानमा तिब्बतबाट अर्को वायुको ठूलो ढिक्का नेपाली वायुमण्डलमा प्रवेश गरेकाले पश्चिम नेपालतर्फ अझै लगातार भारी वर्षा हुने अनुमान गरिएको छ । काठमाडौँदेखि पश्चिमका भागमा आउँदो बिहीबारसम्म लगातार पानी पर्ने सम्भावना छ । भारी वर्षाले गर्दा पश्चिम नेपालमा बाढी, पहिरो र डुबान हुनसक्ने सम्भावना बढेको छ ।