शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीस गोपाल पराजुलीको ‘कन्ट्रोभर्सी’ माथि बोलिन् मिसेस पराजुली

मङ्गलबार, ०९ माघ २०७४, १२ : ३८
मङ्गलबार, ०९ माघ २०७४

पृष्ठभूमि :
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै प्रा.डा. गोविन्द केसी चौधौं अनशन बसे । लगत्तै प्रा.डा. केसीले प्रेस विज्ञप्ति जारी गरे । अनशन बस्नअघि पत्रकार सम्मेलनको अभिव्यक्ति र उनीद्वारा जारी विज्ञप्तिले न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अशिष्ट, अमर्यादित र अवहेलनाजनक देखिएको भन्दै शाखा अधिकृत नेत्रवन्धु पौड्यालले तयार पारेको प्रतिवेदनमा कारबाही माग गरियो । 

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ता लक्ष्मण थपलिया र दीपकुमार विष्टले बहस गरे । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासको आदेशमा भनिएको थियो, ‘प्रा.डा. केसीको अभिव्यक्तिले अदालतको गरिमामाथि प्रहार गरेकाले उनलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनू ।’ 

डा. केसी पक्राउ परे । पक्राउपछि प्रधानन्यायाधीश पराजुलीको तीव्र आलोचना भयो । पत्रकार सम्मेलनमा डा. केसीको अभिव्यक्ति र वितरीत प्रेस विज्ञप्तिका आधारमा सञ्चारमाध्यममा समाचार प्रकाशित/प्रसारित भयो । प्रधानन्यायाधीशको व्यावसायिक, पारिवारिक र व्यक्तिगत जीवनसँग जोडेर आलोचनका गरियो । निराधार आरोप लगाइयो ।

आरोप नम्बर १ 
प्रधानन्यायाधीश गोपाल पराजुलीको योग्यता ‘एसएलसी फेल’ भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भयो । प्रधानन्यायाधीश राजनीतिक नियुक्ति होइन । उनी ४० वर्षदेखि न्यायापालिकाको सेरोफेरोमा रहेका व्यक्ति हुन् । ‘उहाँले सबैभन्दा पहिले अधिवक्ताको लाइसेन्स लिनुभयो होला । बारको सदस्य हुनुभयो होला । तात्कालिक पुनरावेदनको न्यायाधीश, मुख्य न्यायाधीश (हाल : उच्च अदालत) हुनुभयो । त्यसपछि सर्वोच्च अदालतको न्यायाधीश हुनुभयो । अनि मात्रै, संसदीय सुनुवाइ र संवैधानिक परिषद्को सिफारिसबाट प्रधानन्यायाधीश हुनुभएको हो,’ प्रधानन्यायाधीशपत्नी वसन्ता गौतम पराजुलीले भनिन्, ‘अहिले पो प्रधानन्यायाधीश हुनुहुन्छ । त्यतिबेला त्रिभुवन विश्वविद्यालयले उच्चशिक्षा अध्ययनका लागि प्रमाणपत्रविना भर्ना लिएन । उहाँसँगै अध्ययन गरेका एउटै ब्याचका १२ जना न्यायाधीश सर्वोच्चमा हुनुहुन्छ ।

सबैको प्रमाणपत्र त्यहींको हो । तसर्थ, हचुवाको भरमा व्यक्तिलाई लाञ्छना लगाउनु ठीक होइन ।’

विरोध र आलोचना गर्न पाइन्छ । ‘त्यसको पनि विधि र प्रक्रिया हुन्छ । सयौं वर्षको संघर्षपछि आएको संविधान हो । यसका लागि हजारौंको बलिदानी भएको छ । त्यसरी आएको व्यवस्था संरक्षण गर्ने सर्वोच्च अदालत हो । कानुन र प्रणालीका संरक्षक, संविधानको व्याख्याता सर्वोच्च अदालत मानिन्छ,’ पराजुलीको तर्क छ, ‘सर्वोच्च अदालतको सर्वोच्च पदमा रहेका व्यक्ति, संविधानतः नियुक्ति भएको हुन्छ । उसका कानुनी, संवैधानिक प्रावधान छन् । नेपालको संविधानले प्रधानन्यायाधीशको नियुक्ति, अवकाश र बर्खास्तको व्यवस्था गरेको छ । प्रक्रिया पूरा गरेर आइसकेपछि प्रधानन्यायाधीशको योग्यताबारे शंका गर्नु दुर्भाग्य हो । प्रधानन्यायाधीश नियुक्तिअघि संसदीय सुनुवाइमा मुलुकभरिबाट उजुरी आह्वान गरिन्छ । उजुरी परे छानबिनपछि नियुक्ति गरिन्छ । खै त, त्यतिबेला उजुरी पर्दै परेन ।’

प्रधानन्यायाधीशका कमीकमजोरी छुनै हुन्न भन्ने होइन । योग्यताको कुरा पहिल्यै छानबिन भइसकेकाले अहिले उठाउनु अनावश्यक भएको उनले सुनाइन् । भनिन्, ‘न्यायिक विचलन, कार्यपद्धतिसम्बन्धी प्रश्न उठाउन हुन्न भनेको छैन । तर, त्यसको पनि प्रक्रिया होला नि ।’

‘भोलि कुनै ज्यानमारा, लागूऔषधसम्बन्धी कारोबार गर्नेले मलाई अन्याय पर्यो भन्लान् । अदालतले आदेश दिएपिच्छे त्यसो गर्न थाले अराजक स्थिति सिर्जना हुन्छ,’ उनको बुझाइ छ, ‘त्यतिबेला त्यसलाई नियन्त्रण गर्न गाह्रो पर्ला । त्यही भएर त तह–तहका अदालत छन् । जिल्लामा चित्त नबुझे उच्च अदालत जान्छन् । त्यहाँको फैसला चित्त नबुझेपछि सर्वोच्च पुग्छन् ।’ सर्वोच्चको आदेश चित्त नबुझे पुनरावलोकन हुने व्यवस्था छ ।

आरोप नम्बर २ 
प्रधानन्यायाधीश पराजुलीको दुई नागरिकता रहेको भनेर आरोप लगाइएको छ । ‘पद्धति र प्रणालीमा बसेका मानिसलाई आलोचना, अपहेलित गर्नु गलत हो । उहाँले दुई नागरिकता लिएको होइन,’ उनले वास्तविकता सुनाइन्, ‘प्रतिलिपि लिन पाइन्छ । त्यो राज्यले गरेको प्रावधान हो । व्यक्तिले गरेको गल्ती होइन । त्यतिबेला नागरिकतामा जन्ममिति नभएर वर्षमात्रै उल्लेख गरिन्थ्यो । त्यसलाई पनि सम्बोधन गर्नेगरी ऐन आइसक्यो । न्याय परिषद् ऐन २०७३ ले जसको नागरिकतामा जन्ममिति उल्लेख छैन, उसको शैक्षिक प्रमाणपत्रलाई आधार मान्न सकिन्छ भनेको छ । त्यस्तो नागरिकतावाहक मुलुकमा गोपाल पराजुलीमात्रै होइनन् होलान् नि ।’

आरोप नम्बर ३ 
प्रधानन्यायाधीशलाई बहुविवाहको आरोपसमेत लगाइएको थियो । ‘सर्वोच्च अदालत आउने बेला पनि त्यसै भनियो । यसपटक पनि सञ्चारमाध्यममा प्रधानन्यायाधीश पराजुलीका चार श्रीमती भनेर समाचार प्रकाशित भए,’ कानुनमा स्नातक वसन्ता गौतम पराजुलीले प्रस्ट्याइन्, ‘बहुविवाह कस्तोलाई भन्ने ? म बहुविवाह गरेर श्रीमती थुपार्ने श्रीमान्को पछि लागेर आएकी होइन । मैले बुझेरै अभिभावकको सल्लाहमा बिहे गरेकी हुँ ।’ 

धेरैलाई त्यस्ता घटना घट्दैनन् । सहन पनि सक्दैनन् । ‘उहाँसँग सहन सक्ने क्षमता छ,’ पराजुलीले थपिन्, ‘पहिलो श्रीमती रक्तक्यान्सरले बित्नुभएको रहेछ । पत्रपत्रिकामा आएको समाचार पढेर थाहा पाएकी थिएँ । दोस्रो कार दुर्घटनामा बित्नुभएको हो । तेस्रो श्रीमती कहाँ छन् ? यदि उहाँ हुनुहुन्छ भने सञ्चारकर्मीले सहयोग गरिदिनुहोस्, उहाँलाई स्थापित गर्न म पनि सहयोग गर्छु ।’ 

‘म न्यायाधीशको श्रीमतीमात्रै होइन । आमा पनि हुँ,’ विभिन्न क्याम्पसमा १८ वर्ष प्राध्यापन गरेकी उनले गर्व गरिन्, ‘मैले त्यो जिम्मेवारी पूरा गर्नुपर्छ भनेर पनि भित्रिएकी हुँ । समाजका लागि मैले गल्ती गरेको होइन । म आफ्नो खुट्टामा आफैं उभिनसक्ने भइसकेकी थिएँ ।’ 

संवत् २०५६ फागुनमा बिहे भएको हो । सहोदर दाइमार्फत प्रस्ताव आएपछि बिहे गर्न राजी भएको हुँ । बिहेको कुरा चलेपछि मेरो परिवारले बच्चा रहेछ, नभएको भए त फरक पर्दैनथ्यो भने । ‘बच्चा भएर न बिहे गर्नुपर्ने होला,’ उनले अतीत सम्झिन्, ‘हाम्रो समाज कस्तो होला बच्चालाई बढी देख्ने ।’ 

श्रीमान्पट्टिकाले पनि अब बच्चाले दुःख पाउने भए नभनेका होइनन् । उनी प्रकृतिले दिएकै आमा बन्न नसके पनि आमा बन्ने प्रयास गरिन् । त्यतिबेला १४ वर्षका रूपेश पराजुलीले मेडिकल डक्टर पास गरिसकेका छन् । उनले बेलायतबाट एमडी गर्दै छन् । छोराको बिहे गराइदिँदा वसन्तालाई कम्ती खुसी लागेको छैन । 

आरोप नम्बर ४
प्रधानन्यायाधीश पराजुलीलाई भ्रष्ट भनेर गम्भीर आरोप लगाइएको छ । ‘श्रीमान्ले अकुत सम्पत्ति कमाइदियून् । म त्यसैमा ढलिमली गरौं भन्ने मानसिकताको मानिस होइन । म आफू बदनाम भएर सन्तानलाई कमाइदिनुपर्छ भन्ने पक्षमा छैन,’ प्रधानन्यायाधीशपत्नीको ठम्याइ छ, ‘मुद्दैपिच्छे घुस लिने भए न्यायाधीशले ती पैसा कहाँ राख्लान् ? हाम्रो त्यति धेरै आवश्यकता पनि छैन । एउटा सामान्य कर्मचारीले त जागिरबाट जीविकोपार्जन गर्न सक्छन् भने देशको प्रधानन्यायाधीशलाई राज्यले धेरै खर्च गरेको छ । उनीलाई भ्रष्ट हुनुपर्दैन ।’

पैसाविना काम बन्दैन कि जस्तोगरी हिजोआज आममानसिकता भ्रष्ट भएजस्तो लाग्ने उनको स्वीकारोक्ति छ । उनी शंका गर्छिन्, ‘मैले फलाना श्रीमान्लाई चिनेको छु भन्दै बिचौलिया बन्नेहरू पो छन् कि ?’

आरोपपछि मनोविज्ञान
हिन्दुशास्त्रमा कैकयी र ध्रुव, आधुनिक शिक्षाअन्तर्गत हेन्सल एन्ड ग्रेटलको कथाबारे हामी जानकार छौं । त्यस्तो कथा सुन्दा सम्बन्धित अभिभावकका छोरोछोरीको मनोविज्ञानमा कस्तो असर पार्ला ? त्यस्तै पीडा पराजुली परिवारले भोग्न बाध्य छ । प्रधानन्यायाधीशबारे सञ्चारमाध्यममा आएका समाचारले उनका छोराछोरीलाई गम्भीर असर पारेको हो । ‘ठूलो छोरोलाई सबै कुरा थाहा थियो । तर, सानालाई मेरो र दाइको आमा फरक हो भन्ने थाहा थिएन,’ प्रधानन्यायाधीयनिवास बालुवाटरमा उनी भावुक बनिन्, ‘हामीले त्यसरी पारिवारिक व्यवस्थापन गरेका थियौं ।’  

छोराछोरीलाई मानसिक तनाव भए पनि श्रीमती पराजुलीको व्यक्तिगत जीवनमा असर पारेको छैन । ‘मलाई त असर पारेको छैन,’ उनले प्रस्ट्याइन्, ‘सत्य कुरा थाहा छ । हल्ला भएपछि सुन्नेले आफ्नो धारणा बनाउँछन्, बनाउलान् । तर, वास्तविकता थाहा भइहाल्छ ।’

सुझाव 
‘सत्य कुरा लेख्नुपर्छ । सत्य हो कि होइन भनेर समाचारसँग सम्बन्धित व्यक्तिसँग पुष्टि त गर्नुपर्यो नि,’ उनको तर्क  छ, ‘संवेदनशील भूमिकामा रहेकाले चरित्रहीन, अनैतिक काम गर्छ भनेर गलत समाचार लेख्दा सम्बन्धित व्यक्तिलाई असर नपरे पनि समाचार पढ्ने सुन्नेले देश त खत्तम रहेछ, माथिल्लो तहका मानिस नै अनैतिक छन् भने हामी किन नैतिक बन्ननुपर्यो भन्ने आममानसिकता विकृत बन्न प्रेरित गर्छ ।’ 

गलत समाचार सम्प्रेषित गर्दा अनुशासनहीनता बढाउँछ । प्रणाली बिगार्छ । त्यसो गरिए संविधानवादको सिद्धान्त, संवैधानिक सर्वोच्चता, कानुनी शासनको अर्थ रहेन । ‘व्यक्तिमात्रै होइन, हामीले जहानियाँ शासन नमान्ने भन्यौं । तर, विश्वका कुनै पनि मुलुकका प्रणालीले कानुन नमान्ने त भन्दैन होला,’ उनले सुझाइन्, ‘कानुनी राज्यलाई मान भन्छ भने चित्त नबुझेको विषय कानुनी प्रक्रियाबाटै आउनुपर्छ । उचालिएर, हल्ला गरेर, भोकै बसेर समस्या समाधान हुँदैन ।’ 

पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद केसी बसेको अनशनस्थल पुगेको देखियो । कानुन बनाउने उहाँहरू नै हुन् । कानुन बनाउने ठाउँ संसद् हो । ‘उहाँहरूले त्यस्तो कानुन बनाइदिनुपर्यो, जसले कानुनी राज्य स्थापित हुन सकोस् । हुन सक्दैन भने कारबाही गर्ने पनि संसद् नै हो,’ उनको जिकिर छ, ‘अदालत र न्यायाधीशले त राज्यले बनाएको कानुनको व्याख्या गर्ने हो । कानुनअनुसार निर्णय गर्ने हो । कानुन बनाउने व्यक्ति नै सडकमा उत्रन मिल्छ र ? न्यायाधीशले कानुनअनुसारको व्याख्या र निर्णय गरेन भने त्यसलाई नियन्त्रण गर्ने प्रणाली छ ।’

तसर्थ, जोकोहीमाथि अतिरञ्जित गर्नुहुँदैन । दैवीय चरित्रका कोही हुँदैनन् । भगवान् त हुँदैनन् भने हामी त मानिस हौं । सबैका कमीकमजोरी हुन्छन् । उनले दुःखेसो पोखिन्, ‘हामीमाथि अतिरञ्जित गरियो । अतिरञ्जित गरिए पनि सबैले यो कुरा पत्याउनुभएजस्तो लाग्दैन । उनीहरूले विश्लेषण गर्न सक्छन् । समाज शिक्षित भइसकेको छ ।’

हामीले छोराछोरीलाई नैतिक शिक्षा र आचरण सिकाइरहेका हुन्छौं । समाजले भिन्नै रूपमा प्रस्तुत गरिदिँदा उनीहरूलाई मानसिक तनाव हुने नै भयो । त्यसलाई सामना गर्नैपर्छ ।

श्रीमती पराजुलीको ‘करिअर’ 
वसन्ता गौतम पराजुलीले अर्थशास्त्रमा स्नातकोत्तर र एकवर्षे बीएड गरेकी छन् । त्रिवि कीर्तिपुरबाट ०५२ मा स्नातकोत्तर गरेकी पराजुलीले सर्वप्रथम भैरहवा बहुमुखी क्याम्पस र त्यहींको एक उमाविमा अध्यापन गरिन् । 

वर्ष दिनपछि राप्ती बहुमुखी क्याम्पस दाङ पुगिन् । अध्यापनसँगै युएनडीपीसँग सम्बन्धित गाउँ नगर साझेदारी कार्यक्रमकी सहायक प्रबन्धकको भूमिका निर्वाह गरिन् । दाङमा हुँदा उनको बिहे भयो । त्यसपछि जागिर छाडिन् । पछि पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा अध्यापन थालिन् । 

काठमाडौं आएपछि कानुनमा स्नातक गरिन् । बानेश्वर बहुमुखी क्याम्पसमा पढाइन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र वरिष्ठ अधिकृतमा काम थालेपछि अध्यापन छाडिन् । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अनुगमन तथा तामेली महाशाखामा काजमा कार्यरत छिन् ।

सामाजिकि काम 
न्यायाधीश श्रीमती समूह अध्यक्ष प्रधानन्यायाधीशकी श्रीमती रहने प्रावधान छ । समूहमा बहालवाल र अवकाशप्राप्त न्यायाधीशका श्रीमती रहन्छन् । ‘घरखर्च कटाएर सामाजिक काम गर्छौं,’ उनले गर्व गरिन्, ‘भूकम्पप्रभावित १४ जिल्लाका जिल्ला अदालतमा कार्यरत कार्यालय सहयोगीका चारजना छोराछोरीलाई १०/१० हजारको छात्रावृत्ति प्रदान गर्यौं ।’

समूले रौतहटका बाढीपीडित ३ सय २० गर्भवती र सुत्केरीलाई सिरक वितरण गरेको थियो । अब बर्दियामा आँखा शिविर राख्दै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप