शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

नक्कली डाक्टरको सक्कली अनुहार : संविधानसभाको चुनाव लड्नेदेखि चेक अनादरको मुद्दा खेप्नेसम्म !

सोमबार, ०६ असार २०७३, १९ : ०३
सोमबार, ०६ असार २०७३

काठमाडौं - ‘मेडिकल काउन्सिलले गद्दारी गरेको छ, पहिल्यै भन्दिएको भए हामी लाईसेन्स खारेज गरेर अर्को पेशा अंगाल्थ्यौं ।’ सिआईबीको हिरासतमा रहेका एक डाक्टर मेडिकल काउन्सिलप्रति आक्रोश पोख्दै थिए ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले विभिन्न दश जिल्लाबाट ३६ जना नक्कली डाक्टर पक्राउ गरेसँगै महाराजगञ्जस्थित केन्द्रिय अनुसन्धान ब्यूरोको प्रतिक्षालय डा’सापहरुको भीडले भरिन थालेको छ । सोमबार मध्यान्ह ब्यूरोमा पुग्दा एक डाक्टरका आफन्त प्रहरीले आफूलाई सम्मानजनक व्यवहार नगरेको भन्दै प्रहरीसँग गुनासो पोख्दै थिए । आफूलाई डाक्टर बताउने उनले यस्तो गुनासो गरेपछि एक प्रहरी अधिकारीले भने, ‘तपाईहरुले सबै प्रहरीबाट एउटै व्यवहारको अपेक्षा गरिदिनुपनि भएन् ।’ प्रहरीको व्यवहार ठिक भयो र भएन भन्नेबारे प्रतिक्षालयमा लामै बहस चल्यो ।

विभिन्न दश जिल्लाबाट ३६ जना नक्कली डाक्टर नियन्त्रणमा लिएर अनुसन्धान थालेको दिनदेखि सिआईबीमा धाउने डाक्टर र डाक्टरमा मान्छेहरुको ग्राफ बढेको छ । मेडिकल काउन्सिलका पदाधिकारी र मानवअधिकारबादीहरुले यो घट्नामा उत्तिकै चासो राखेका छन् ।

डाक्टर जस्तो मर्यादित पेशा अंगाल्नेहरुले राज्यलाई ढाँटेर अमर्यादित काम गरेसँगै जन–जनले आफैंलाई प्रश्न गर्न थालेका छन्, ‘कतै मेरो स्वास्थ्य जाँच गर्ने डाक्टर पनि नक्कली त हैन ?’

‘हामीले मेडिकल पेशालाई शुद्विकरण गर्न खोजेका हौं’ ब्युरो प्रमुख सिलवाल भन्छन्, ‘आफूले नपाएको र नभएको क्षमता छ भनेर झुक्याएर गरेको सर्वसाधारणलाई ठग्न पाईँदैन ।’

यसरी मर्यादित पेशाको दुरुपयोग गरेर ठगी गर्ने ३६ जना डाक्टरहरुबिरुद्ध सिआईबीले ठगी मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ । कसुर प्रमाणीत भएका डाक्टरहरु ५ बर्ष जेल बस्नेछन् ।

यसरी सफल भयो अप्रेशन

गएको दुई महिनादेखी शंकस्पद एक सय जना डाक्टरहरुमाथी सिआईबीले अनुसन्धान गरिरहेको थियो । ‘मेडिकल काउन्सिलको सर्टिफिकेटमा ठेगाना खुलेकाहरु आफ्नो ठेगानामा कतै थिएनन्’ ब्युरोका एसपी तारिणी लम्साल भन्छन्, ‘डाक्टरहरुको अस्थायी ठेगाना पत्ता लगाउन हामीलाई धेरै समय लाग्यो ।’

नक्कली सर्टिफिकेटधारी डाक्टरलाई मोवाईल, फेसवुक लगायतका माध्यमबाट खोज्दै प्रहरी उनिहरुको कार्यस्थल सम्म पुगेको थियो । ‘सबैको कार्यस्थल पत्ता लगाए पछि हामी अपरेशनमा गयौं’ लम्साल भन्छन्, ‘त्यसपछी सम्भव भयो आश्चर्यजनक अप्रेशन ।’

गत असार ३ गते विहान ८ बजे सिआईबीका प्रहरी अधिकारीहरु हरेक डाक्टर कार्यरत अस्पतालमा पुगिसकेका थिए, कतै बिरामी बनेर कतै डाक्टर भेट्ने निहुँ पारेर !

यसरी डाक्टरहरु कार्यरत स्थानमा पुगेका प्रहरीहरुलाई सिआइबी मुख्यालयले ‘ल समात्नु’ भन्नासाथ देशभरबाट एकसथा ३६ डाक्टर समातिए ।

‘अहिले हामीले पक्राउ गरेका धेरै डाक्टरहरुले विहार युनिभर्सिटीबाट पेश गरेको सर्टिफिकेट नक्कली भेटिएको छ’ एसपी लम्सालले भने, ‘विहारको प्लस टु र आईएस्सीको सर्टिफिकेट पेश गर्नेहरु धेरै छन् ।’

संविधानसभाको चुनाव लड्नेदेखि चेक अनादरको मुद्दा खेप्नेसम्म

नक्कली डाक्टरको आरोपमा पक्राउ परेका बुद्धिमान श्रेष्ठ संविधानभासको निर्वाचनमा एमालेबाट चुनाव लडेको पाईएको छ । स्याङ्जा कुवाकोट स्थायी घर भएका श्रेष्ठ कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटल सामाखुसीमा कार्यरत थिए । त्यस्तै अर्का नक्कली डाक्टर गणेश शाह चेक अनादर मुद्दामा तारेख धाईरहेका छन् । सोमबार जिल्ला अदालत काठमाडौंमा किर्ते चेकको तारेख परेको भन्दै आफुलाई त्यहाँ उपस्थित हुने बातावरण मिलाईदिन शाह प्रहरीलाई आग्रह गर्दै थिए । धनुषा स्थायी घर भएका शाह त्रिपुरेश्वरको लोकहित डेण्टल अस्पतालमा कार्यरत थिए । आम्दा नेपाल जोरपाटी र हेल्दी डेण्टल क्लिनिकमा कार्यरत निलिमा खड्का भने पुर्व अर्थमन्त्री रामशरण महतको बुहारी भएको पाइएको छ । स्थायी घर धनुषा भएकी खड्का लैनचौर बस्दै आएकी थिईन् । त्यस्तै प्रगती पोलिक्लिनिक चितवनमा कार्यरत सुनिल आचार्य नेपाल प्रहरीका एसपी डा. सुवास आचार्यका भाई हुन् ।

हामीसँग आधार छ, शंकाको भरमा कसैलाई समातेका छैनौं (अन्तर्वार्ता)

नवराज सिलवाल, डिआईजी

अप्रेशन कसरी सुरु भयो ?

चार महिना यता हामीले धेरै डाक्टहरुमाथि अनुसन्धान गरिरहेका थियौं । कुन कलेजमा पढेको छ, भन्ने आधारमा क्याटागोरी छुट्याएर हामिले अनुसन्धान गरेका थियौं । मेडिकल काउन्सिलमा उनीहरुले बुझाएको सर्टिफिकेट सम्बन्धित कलेजले डुब्लिेकेट प्रमाणित गरेपछि हामी व्यक्तिलाई नियन्त्रणमा लिने निर्णयमा पुग्यौं । प्रमाण सबै जुटेपछि यी मान्छेहरुलाई चार्ज गर्न सकिन्छ, र चार्ज गर्दा केस स्थापित गर्न सक्छौं भनेर हामीले कस्टडीमा ल्याएका हौं ।

नक्कली सर्टिफिकेट प्रमाणित भएर नियन्त्रणमा लिएको कि, शंकाको भरमा ?

कसैलाई शंकाको भरमा ल्याएका छैनौं । कस्टडीमा ल्याउँदा पनि कानुनसम्मत ल्याएका छौं । जसरी किडन्यापिङ शैलीमा ल्याएको भनिएको छ, त्यो होइन । कानुन सम्मत हिसाबले बिहान ८ बजेपछि क्लिनिकमा गएर पक्राउ गरेका छौं । राती–राती कसैको घरमा गएर पक्राउ गरेका छैनौं ।

बिरामी जाँच सकिएपछि ल डाक्टर साब हामी यसरी आएको भनेर पक्राउ गरेका छौं । विभिन्न जिल्लाहरुमा स्थानीय प्रहरीसँग सहकार्य गरेर पक्राउ गरेका छौं,पक्रेर आएपछि पनि हामीले मानवअधिकारको सम्मान गर्दै, उहाँहरुको मौलिक अधिकारको सम्मान हुने र संवैधानिक अधिकारको प्रतिरक्षा हुने गरी व्यवहार गरेका छौं ।

यसको अर्थ, मुद्दा चलाउन सकिने प्रशस्त आधार तपाईहरुसँग छ ?

थप अनुसन्धानको प्रक्रिया अगाडि बढाउँदै छौं । अनुसन्धानको प्रक्रियामा हामीले उहाँहरुलाई अहिले नै हपराधी भनेका छैनौं । तर, हामीसँग भएको प्रमाणको आधारमा मुद्दा चल्छ भन्ने हाम्रो निक्र्योल हो ।

हामी अनुसन्धान गर्छौं, सकारी वकिलले अदालत लगेपछि त्यहीँबाट छिनोफानो हुन्छ । को नक्कली हो र होइन भन्ने कुरा ।

त्यसैले हामी एउटा पिल्लर हौं । न्यायीक निकाय होइनौं । अब अदालतले यसबारे अन्तिम निर्णय गर्छ ।

कुन–कुन लेभलको सर्टिफिकेट डुब्लिकेट पेश गरेर एमबिबिएस भर्ना भएको देखियो ?

हामीले नेपाल मेडिकल काउन्सिलको सर्टिफिकेटबाट सुरु गरेर कतिपटकमा पास गरेको छ, भन्ने आधारबाट अनुसन्धान सुरु गरेका थियौं ।

त्यसपछि एमबिबिएस पढ्नका लागि आवश्यक रिक्वायरमेन्टहरु हामीले हेरेका छौं । कुन–कुन युनिभर्सिटीबाट एमबिबिएस उत्र्तिण गरेका छन् भन्ने पनि हामीले हेरेका छौं । एमबिबिएस पढ्नका लागि आवश्यक आईएसी र बिएससीका सर्टिफिकेटहरु डुब्लिकेट भएका आधारमा धेरै डाक्टरहरु पक्राउ परेका छन् । त्यसमध्ये अधिकांशले आइएसीको डुब्लिकेट सर्टिफिकेट पेश गरेको देखिन्छ ।

त्यस्तो नक्कली सर्टिफिकेट किन पेश गरिएको होला ?

त्यो हेर्न बाँकी छ । एमबिबिएस पढ्नका लागि उसले आवश्यक प्रतिशत पाउनुपर्यो । त्यसरी प्रतिशत नपुगेर अन्य सर्टिफिकेट पेश गरेको पनि देखिन्छ ।

तपाईंहरुमाथि मधेसकेन्द्रीत अप्रेशन मात्र गरेको आरोप पनि लागेको छ नी ।

यो गलत कुरा हो । हामीले मेडिकल पेशालाई शुद्विकरण गर्न खोजेका हौं । यो कुनै धर्म वा सम्प्रादायप्रति लक्षित छैन । काठमाडौंबाट पनि १५ जना पक्राउ परेका छन् । वीरगन्जको ९ जनाको हकमा अतिकति बढी हल्ला भयो । यो वा त्यो भन्ने कुरा होइन, अनुसन्धानबाट जे पुष्टि हुन्छ तथ्य त्यही हो । हामी कसैप्रति लक्षित भएका छैनौं ।

एनएमसीको कानुनलाई छोडेर किन ठगी मुद्दा दर्ता गरियो ?

आफू नभएको कुरो हुँ भनेर आफूले नपाएको र नभएका क्षमता छ भनेर झुक्याएर गरेको काम ठगीको परिभाषामा पर्छ । महान्यायधीवक्ताको कार्यालयलाई सोधेर यो मुद्दा दर्ता गरिएको हो । अघिल्लोपटक हामीले एनएमसी ऐन अन्तर्गत मुद्दा चलाउँदा सरकारी वकिलहरुले अनुसूची १ अन्तर्गत मुद्दा चलाउनुपर्यो भनेपछि त्यस अन्तर्गत ठगी नै पर्ने हुनाले हामीले यो मुद्दा दर्ता गरेका हौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप