सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

छ मन्त्रालयले पचास प्रतिशतभन्दा कम गुनासो फछ्र्यौट गरे

बुधबार, ०१ पुस २०७२, ११ : १७
बुधबार, ०१ पुस २०७२

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हेलो सरकारमा आएका गुनासोमध्ये छ मन्त्रालयले ५० प्रतिशतभन्दा कम गुनासो फछ्र्यौट गर्ने गरेको विवरण सार्वजनिक गरेको छ ।

हेलो सरकार स्थापनापछिको चार वर्षको अवधिमा यसरी ५० प्रतिशतभन्दा कम गुनासो फछ्र्यौट गर्ने मन्त्रालयमा परराष्ट्र, सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, सङ्घीय मामिला तथा स्थानीय विकास र विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय रहेका छन् ।

त्यसैगरी उच्च माध्यमिक शिक्षा परिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले पनि ५० प्रतिशतभन्दा कम गुनासो फछ्र्यौट गरेका छन् ।

कार्यालयका सचिव श्रीधर सापकोटाका अनुसार न्यून गुनासो फछ्र्यौट गर्ने निकायले गुनासो फछ्र्यौटलाई उच्च प्राथमिकता दिन समयसमयमा निर्देशन दिइएको र प्रत्येक महिना हुने सचिवहरुको बैठकमा यसबारे छलफल हुने गरेको जानकारी दिए ।

विसं २०६८ कात्तिकबाट सञ्चालित हेलो सरकारमा २०७२ कात्तिक महिनासम्म कुल ४० हजार ७९४ गुनासो र सुझाव तथा सूचना प्राप्त भएका छन् र तीमध्ये ३६ हजार ९३६ अर्थात् करिब ९१ प्रतिशत फछ्र्याैट भएका छन् ।

यस कात्तिक महिनामा ४६४ गुनासो आएका र तीमध्ये ३०५ अर्थात् ६७ प्रतिशत फछ्र्याैट भएको सो कार्यालयले जनाएको छ ।

सचिव सापकोटाका अनुसार हेलो सरकारको स्थापनादेखि हालसम्मको अवधिमा सबैभन्दा बढी गृह मन्त्रालयसँग सम्बन्धित सात हजार १३९ वटा, शिक्षा मन्त्रालयको चार हजार ६६५ वटा, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तीन हजार ६७ वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको दुई हजार ६०८ वटा, नेपाल विद्युत् प्राधिकरणको एक हजार ९७८ र अर्थ मन्त्रालयको एक हजार ६३९ वटा उजुरी हेलो सरकारमा प्राप्त भई उक्त निकायमा कार्यान्वयनका लागि पठाइएको छ ।

यस अवधिमा हेलो सरकार कक्ष आफँैले दुई हजार १४८ वटा उजुरी फछ्र्यौट गरेको छ भने प्राप्त गुनासो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३३ वटा केन्द्रीयस्तरका निकायमा फछ्र्यौटका लागि लेखी पठाउने गरेको छ ।

सचिव सापकोटाका अनुसार हेलो सरकार कक्षमा पछिल्लो समयमा औसत मासिक गुनासो प्राप्ति दर ६०० रहेको छ ।

गत जेठ २५ देखि सञ्चालित हेलो सरकार फेसबुक पेजमा कात्तिकमा ९२ वटा गुनासा प्राप्त भएका छन् ।

तीमध्ये ६० वटा सम्बोधन भइसकेका छन् भने अन्य गुनासा पनि सम्बोधनका क्रममा रहेको सचिव सापकोटाले बताए ।

उनले स्थापानको चार वर्ष पूरा हुँदा हेलो सरकारले आफ्नो प्रमुख उद्देश्य प्राप्त गर्न सफल हुँदै गएको, जनताका समस्या बुझ्न निरन्तर प्रयत्नशील रहेको, हेलो सरकार कार्यक्रम विस्तारै संस्थागत हुँदै गएको र जनताको विश्वास आर्जन गर्दै अगाडि बढेको जानकारी पनि दिए । सचिव सापकोटाका अनुसार हेलो सरकारमा प्राप्त हुने गुनासा मूलरुपमा सार्वजनिक सेवा समयमा नपाएको, सार्वजनिक सेवामा विभेद भएको, अतिरिक्त शुल्क माग गर्ने गरेको, कार्यालयमा गुनासा सुनुवाइ नहुने गरेको, कर्मचारी जिम्मेवारीपूर्वक काम गर्न उदासिन हुनेलगायतका छन् ।

सरकारी कार्यालयमा हुने ढिलासुस्ती, मोलाहिजा, भ्रष्टाचार, गलत कार्य र जनतालाई दुःख हैरानी दिने गैरजिम्मेवारपूर्ण कार्यविरुद्ध हेलो सरकार ११११ मा फोन, एसएमएस गर्न, ११०० मा फ्याक्स गर्न, ज्ञज्ञज्ञज्ञ२लभउब।िनयख।लउ मा इमेल गर्न तथा हेलो सरकार फेसबुक पेज ९धधध।ाबअभदययप।अयm।जभिियकबचपबच।लउ० बाट आफ्ना गुनासा टिपाउन सचिव सापकोटाले सर्वसाधारणसमक्ष अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप