योगेशजीको कुरा भावनात्मक, घनश्यामजीलाई त जवजसँग दुश्मनी नै छ : कर्ण थापाको अन्तर्वार्ता (भिडियोसहित)
सात नम्वर प्रदेशबाट प्रदेश सभाका लागि समानुपातिक सूचिमा बसेका एमालेका पोलिटब्युरो सदस्य कर्ण थापा अन्तिम समयमा प्राविधिक कारणले सांसद बन्न पाएनन् । प्रदेश सांसद नपाएपछि उनको मुख्यमन्त्री बन्ने दौड त्यहीँबाट सकियो । अव उनी पार्टीले दिने जिम्मेवारी अनुसार काम गर्ने मूडमा छन् । पछिल्लो पटक जवज र एकीकृत पार्टीका विषयमा एमालेकै केही नेताको अभिव्यक्तिसँग थापाको धारणा मेल खादैन । यसै विषयमा रोहित दाहालले नेता थापासँग गरेको कुराकानी ।
सर्वप्रथम तपाईंको व्यक्तिगत रूपबाट कुरा सुरु गराँै, तपाईंलाई एमालेले ७ नं. प्रदेशको मुख्यमन्त्रीको रूपमा अगाडि सारेको थियो, सही हो ?
यो कुरा सही नै थियो । प्रदेशको मुख्यमन्त्रीले खेल्नुपर्ने भूमिका प्रदेशको समृद्धिको कुरा थियो । यसबारेमा मैले पनि सोचविचार गरेको थिएँ । हाम्रो पार्टीका सिनियर नेताहरूमध्ये भीम रावललाई हामीले प्रदेशको नेतृत्व गर्न भनेको थियाँै । उहाँ प्रतिनिधि सभामा आउन इच्छुक हुनुभयो । त्यसपछि मलाई नै त्यसको नेतृत्व गर्नुपर्छ भन्नुभयो । पार्टीको नेतृत्वले पनि तपाईं नै यसका लागि तयार हुनुहोस् भनेको थियो । म अहिले सहसंयोजक हँुु । मैले यो कुरा स्वीकार गरेको हुँ ।
तपाईंलाई मुख्यमन्त्री बनाउने कुरा नभएको भए प्रत्यक्षतर्फ नै जानुहुन्थ्यो होला नि, ७० को चुनावमा पनि जितेर आउनुभएको हो ?
यो समानुपातिक पनि निर्वाचित नै हो । मलाई प्रतिनिधि सभामा आउन कुनै बाधा थिएन । म तीन पटक बाजुराबाट एमालेको तर्फबाट उमेदवार भएँ । ०५६ र ०६४ मा पराजित भएँ । ०७० मा जितेको हुँ । मैले सबै साथीहरूलाई न्यायोचित रूपमा प्रतिनिधित्व गराउनुपर्छ । समग्र बाजुरा जिल्ला र ७ नं. प्रदेशमा अधिकतम बहुमतका साथ चुनाव जित्नुपर्छ भनेर मैले भूमिका खेलेको हुँ । न्यायोचित रूपमा टिकट वितरण गर्न पनि भूमिका खेलेँ । म आफै चुनाव लड्ने र बाजुरा जिल्लामा प्रतिनिधित्व गर्नेे कुरा हो । पहिलो पटक समानुपातिकमा बसे एकजनाको प्रतिनिधित्व हुन्छ भन्नेमा थिएँ । त्यहीअनुसार पार्टीले निर्णय पनि गरेको हो । तर त्यो निर्णय कार्यान्वयन भएन ।
मुख्यमन्त्री निश्चित भएर जानुभएको मान्छे, धोका कहाँबाट भयो ?
यो प्राविधिक विषय पनि रह्यो र पार्टीले मलाई अगाडि सारिसकेपछि पार्टीको कमजोरी पनि । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउनुपर्ने छ । हाम्रो प्रदेशमा ३ जना महिलालाई प्रत्यक्षमा टिकट दिनुपर्ने थियो, जिताउन पनि सकिन्थ्यो । तीनै जनाको बारेमा निर्णय भएन । तर कञ्चनपुर क्षेत्र नं. १ को ‘ख’बाट मर्यादा विष्टलाई स्थायी समितिले निर्णय गरेर टिकट दिएको हो । तर अन्त्यमा उनको टिकट खोसियो । त्यो ठाउँमा पुरुषलाई टिकट दिएर जितियो । यदि त्यो ठाउँमा मर्यादा विष्टले जितेको भए मेरो प्रतिनिधित्व हुन्थ्यो । मेरो यसमा कसैप्रति गुनासो छैन । आग्रह छैन । विरोध छैन । हो पार्टीको स्थायी समितिले गरेको निर्ण कार्यान्वयन भएको भए राम्रो हुन्थ्यो ।
यसमा केही चलखेल भयो कि ?
यसमा कसैलाई दोष दिनु हँुदैन । आवश्यक ध्यान पुर्याइएन ।
तपार्इं उद्योगमन्त्री हुँदा पनि हठात रूपमा हटाइनु भयो । अहिले प्रदेशदेखि केन्द्रसम्म सांसद बनाइएन । यो भनेको तपाईं रहेको समूहबाट बाहिर निकालिँदै हो कि ?
यो दुर्भाग्यपूर्ण कुरा हो । मलाई मन्त्रीबाट पनि निकाल्यो । विरोध र गुनासो त गरिनँ तर पार्टी अध्यक्षले केन्द्रीय समितिको बैठकमा मन्त्रीबाट हटाइनु ठीक थिएन । यति भएपछि यो कुरा त्यहीँ सकियो । अन्य ६ वटा प्रदेशमा दुई तीन ठाउँमा सबै मापदण्ड पुगेका छन् । ७ नं.को हकमा म पोलिटब्युरो सदस्य हुँ । यस कारण अरू साथीहरू सक्षम छैनन् भन्ने होइन । सबै साथीहरू सक्षम छन् । सहसंयोजक पनि हुँ । यसमा पोर्टफोर्लियोको कुरा गर्ने हो भने म नै थिएँ । अहिले पार्टीभित्र र बाहिर निरासा छाएको छ । पार्टीभित्र मात्र होइन बाहिर पनि मुख्यमन्त्री बन्ने भनेको पार्टीको होइन, प्रदेशको नै हो ।
यसको जिम्म पार्टी अध्यक्षले लिनुपर्छ कि पर्दैन ?
कसैलाई दोषको जिम्मा लिनुर्पछ म भन्दिन । मेरो भनाइ हो, पार्टी स्थायी समितिको बैठकको निर्णयमा मर्यादा विष्टको नाम छ । यो निर्णलाई किन बीचमा परिवर्तन भयो भनेर बहस हुनुपर्छ भन्छु ।
पार्टी एकतामा एमाले बाधक देखियो भन्ने छ के हो ?
यो कुरा सत्य होइन । बरु नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने सवालमा, विश्व कम्युनिस्टहरूको सबै घटना र परिघटनाहरूको सही विश्लेषण नेपालका दुई कम्युनिष्ट पार्टी एक भएका छन् । जुन शसक्त संगठन भएका, जनधार भएका, जनमतका आधारमा चल्न सक्ने पार्टी हुन् । यी दुवै पार्टीले निर्वाचनभन्दा अगाडि गठबन्धन बनाएर निर्वाचनमा जानु चानचुने कुरा होइन । यो इतिहासको ठूलो परिघटना हो । महान उद्देश्य राखेर गरेको काम हो । यसका लागि पार्टी अध्यक्षको पनि नेतृत्वदायी भूमिका छ ।
अध्यक्षको भूमिका नहोला तर महासचिवले त तीनवटा पद एउटै व्यक्तिमा हुन्छ भन्नुभयो । अर्का सचिवले अध्यक्षले अब सन्न्यास लिए हुन्छ भन्नु भयो, उपमहासचिवले जबजको च्याप्टर क्लोज भयो भन्नुभयो । यो भनेको त पार्टी एकताको बाधक त एमाले भयो नि होइन ?
यसालाई फरक रूपमा बुझनुपर्छ । कुन समयमा कुन कुरा उठाउनुपर्छ भन्ने पनि जान्नुपर्ने हुन्छ । विषयवस्तु गहन उठाइएका छन् । विषयवस्तुलाई कसरी प्रचार गर्ने भनेर जिम्मेवार हुनुपर्छ, सोच्नुपर्छ । महासचिव, सचिव, उपमहासचिवले भनेको विचारको सन्दर्भमा भनेको विषय छलफलमा छन् । पार्टी एकता अपरिहार्य छ । अनिर्वाय छ । यो कुनै व्यक्तिका लागि होइन, राष्ट्रका लागि हो । जति यो देशका लागि जनताले योगदान गरेका छन्, त्यसको निकास दिनुपर्छ । राजनीतिक स्थायित्व आवश्यक छ । नेपालको प्रगति र उन्नति वामपन्थीले नै गर्न सक्छन् ।
तपाईंका महासचिवले भनेको कुरा ठीक कि बेठीक ?
महासचिवले भनेको कुरा ठीक र बेठीक भन्नुभन्दा त्यो वस्तुगत आधारमा छ । तर यो देशको नेतृत्व गर्ने व्यक्ति केपी ओली र प्रचण्ड हुनुहुन्छ । हामी लगायत देशका जनताले उहाँहरूले यो देशको नेतृत्व गर्नुहुन्छ भन्नेमा ढुक्क छाँै । यहाँ आइपर्ने समस्या समाधान गर्ने क्षमता राख्नु हुन्छ ।
हामीले गएर अध्यक्ष ओलीलाई आफ्ना निजी स्वार्थसहित जोडेर एकताबाट दायाँबायाँ गर्न उकास्नु हुँदैन । उता पनि प्रचण्डलाई पनि उकास्ने काम गर्नु हुँदैन । प्रधानमन्त्री को हुने भन्नेमा एमालेको केन्द्रीय समितिको बैठक भएको थियो । त्यहाँ ९५ प्रतिशतले ओलीलाई प्रधानमन्त्री घोषणा गरेर जानुपर्छ भन्ने भयो । तर अहिले यसरी नजाउ भन्ने भयो । अहिलेको सन्दर्भमा ओलीलाई प्रधानमन्त्री हुनुहँुदैन भन्नुभनेको राजनीति नबुझेको हुन्छ । समयलाई र जनताको चाहना र इच्छालाई नबुझेको भन्ने बुझिन्छ ।
राजनीति नबुझेको हो कि आपूmलाई केन्द्रमा राखेको हो ?
राजनीति देशका लागि जनताका लागि गर्ने हो । आफूलाई केन्द्रमा राखेर गर्नु भनेको नै नबुझ्नु हो । समाजलाई अगाडि बढाउन राजनीति गर्ने हो ।
युवा पुस्तालाई नेतृत्व दिऊँ भन्ने आएको छ, यो के हो । योगेशजीले भनेको कुरा पनि ठीक हो नि ?
नेतृत्व भनेको मेरो फरक मान्यता छ । नेतृत्व उमेरले गर्ने होइन । नेतृत्व गर्ने भनेको राजनीतिक समज, दार्शनिक राजनीतिक विश्लेषण, समय र परिस्थितिको विश्लेषण गर्नेले हो । सही ढङ्गको बुझाइ भयो भने समाजको सही नेतृत्व हुनसक्छ । उमेर कति छ भनेर आधार मान्न सकिँदैन । अहिले भएका नेताहरू युवा नै हुन् । मान्छे सधँै नियमित रूपमा अगाडि बढिरहन्छ । उहाँहरू राजनीतिमा गरेको योगदान वैचारिक आधारमा नेतृत्व गरिरहनु भएको छ । अहिलेको नेतृत्व परिपक्क हो । १४ वर्ष त जेल बस्नु भएको हो ओली । सङ्घर्ष, योगदान, राजनीतिक वैचारिक अगुवाइको क्षमता उहाँमा छ । झट्ट हेर्दा योगशजीले भन्नुभएको कुरा भावनात्मक हो । भावनात्मक ढङ्गले राजनीतिको नेतृत्व हँुदैन । यो शैली र तरिका गलत हो । उहाँ पनि त नेतृत्वमा हुनुहुन्छ । सचिव हुनु हुन्छ । म पोलिटब्युरो छु । भोलि त सबैले पाउने नै हो नि । के प्रधानमन्त्री र अध्यक्ष मात्र नेतृत्व हो ? आआफ्नो ठाउँमा सबै नेतृत्व गरिरहेका छौँ ।
अहिले केपी ओलीलाई अध्यक्ष छोड्नु होस् र प्रधानमन्त्री नबन्नुहोस् भन्नु गलत हो ?
यो शतप्रतिशत गलत हो । यो आत्मकेन्द्रित र स्वार्थको पराकाष्ठा हो । यो भनाइ देशका लागि पार्टीका लागि पनि हित छैन ।
हिजो ६०–४० को भागवण्डा लिएर निर्वाचनमा गएको कुरालाई बाधा पुगाउँछ नि यसले त । तपाईंले लेखेको स्टाटस अब ७०–३० मा पार्टी एकता हुनुपर्छ भन्नुभएको छ, यो कुराले एकतालाई बाधा पुग्दैन ?
एकतामा बाधा पुर्याउने गरी मैले भनेको होइन । एकता भनेको भावनामा हुने कुरा होइन । एकता भनेको मनगढन्ते पनि हुँदैन । एकता भनेको वस्तुगत यर्थामा हुने हो । हामी एउटै पार्टी बन्ने हो । यसमा केही मिलाउनुपर्ने भएकाले केही आधार त लिनुपर्छ । यसमा मतपरिणा हेर्ने हो भने एमालेले ७० र माओवादी केन्द्रले ३० प्रतिशत जितेको छ । यो त तथ्य हो । हो, यो ७० प्रतिशतमा माओवादीको जनमत छ । ३० प्रतिशतमा एमालेको जनमत छ । यो छलफललाई अगाडि बढाउने आधार हो भनेर मैले भनेको हँु । एमाले अध्यक्ष र माओवादी अध्यक्षबीच असमजदारी छैन । तर केही मिडियाका मान्छेहरूले र केही दुवैतर्फका नेताहरूले बजारमा केही ब्रेकिङ दिनका लागि फन्डा ल्याउनुहुन्छ । न्युज कसले भन्यो भन्दा फलानाले । यो प्रचारका लागि मात्र हो ।
तपाई एमाले अध्यक्षको निकट मानिनु हुन्छ । अहिले जेजति कुरा दोस्रो तहका र तेस्रो तहबाट बाहिर आएका छन् ती आआफ्नो हित र समूहको हितका लागि आइरहेका छन् भन्ने छ, के ओली र प्रचण्डबाहेक अरूलाई केही पनि थाह छैन ?
अहिले दुवै पार्टीका अध्यक्षहरूमा कुनै विवाद छैन । उहाँहरूले अहिले सबै कुरा राष्ट्रलाई केन्द्रमा राखेर गरिराख्नुभएको छ । उहाँ दुवै जना अति गरिब घरमा जन्मेका हुन् । नेपालको कम्युनिस्ट आन्दोलनलाई एक बनाउने काम गर्नुभयो । यसले गर्दा ममा धेरै सम्मान बढेको छ । दुवै पार्टीमा एउटा प्रवृत्ति छ । नेताको निकट हुने तर त्यो निकटमा आफ्नो स्वार्थलाई बढी ध्यान दिने काम गर्छन् । यो प्रवृत्ति दुवै पार्टीमा छ ।
नेताहरूको निकटताको अर्थ भनेको नेतृत्वलाई सफल बनाउने हो । आफू सकिएर पनि नेतृत्वलाई बचाउनुपर्छ । यो प्रवृत्तिले अहिले जितिरहेको छ । बरु आफ्नो स्वार्थलाई केन्द्रमा राखेर हेर्नेहरू प्रचारमा बढी देखिन्छ । तर उनीहरुले हार्दै आएका छन् । नेतृत्वलाई बचाउनेले नै जितिरहेका छन् ।
केपी ओली र प्रचण्डलाई अध्यक्ष र प्रधानमन्त्री छोड्नुहोस् भने भने मान्नुहुन्छ होला ?
उनीहरूमा त्यागको समस्या होइन । अपरिहार्य आवश्यकता उहाँहरूकै छ । एक समय थियो बीपी कोइलाप्रति धेरै आस्था र विश्वास थियो । त्यसपछि मदन भण्डारीप्रति आस्था र विश्वास बढ्यो । कुनै समयमा गणेशमानप्रति थियो । जनयुद्धको समयमा प्रचण्डप्रति यति आस्था र विश्वास थियो कि अरूले जति सत्य भने पनि त्यो जमात मान्दैनथियो । अहिले पनि त्यस्तै छ ओलीप्रति यो देश अगाडि बढाउँछन् भने ओलीले बढाउँछन् भन्ने छ । शास्त्रीय हिसाबले जति ज्ञान भए पनि जनताको विश्वास भएन भने त्यो काम लाग्दैन । यो देशमा दार्शनिक हिसाबले र शास्त्रीय हिसाबले यी दुई नेताहरूभन्दा कैयाँै गुणा बढी छन् तर विश्वास यी नेताहरूमा छ । अहिले ओलीलाई प्रधानमन्त्री हुनुपर्छ भनेर आएको हो । यो जनविश्वासलाई विकासमा परिणत गर्नुपर्छ । यो राष्ट्र बदल्न लगाउनुपर्छ ।
अहिलेको जनमत केपी ओली प्रधानमन्त्री हुन् भनेर आएको हो ?
यसमा दुई मत छैन । यो कुरामा त माओवादी केन्द्रमा विवाद छैन । प्रचण्डले पनि मनको कुनामा पनि राखेको छैनन् ।
केही मान्छेले त ओलीले प्रचण्ड पार्टी अध्यक्ष नबनिदिए हुन्थ्यो भन्ने छ, मनको कुनामा भएर समस्या भयो भन्छन् नि ?
केही मान्छेको मनमा होला, यो कुरा । प्रष्ट भन्नुपर्दा उहाँहरूको मनमा नै रहन्छ । अभिव्यक्त गर्न गाह्रो छ ।
केपी ओली प्रधानमन्त्री बनेपछि तपाईंको सूचनाले पार्टी अध्यक्ष प्रचण्ड बन्नु हुन्छ हो ?
हाम्रा पार्टीका नेताहरूले भन्दा जनमत बन्छ । जनमतले अडान हुन्छ । तर अडानले परिस्थिति बिगार्छ । त्यसकारण यो विषयमा दुई जना नेताहरू बसेर छलफल गर्नुपर्छ । अरूले धेरै पक्ष विपक्षमा बोल्नु उपयुक्त छैन । उहाँहरूले निर्ण गर्नुहुन्छ हामी मान्छौँ ।
ओली पनि एक्लै निर्णय गर्ने त होइनन् होला, पार्टीभित्र कहीँ न कहीँ सल्लाह त गर्नु हुन्छ होला नि । तपाईं पोलिटब्युरो सदस्य, तपाईं पनि त्यहाँ पर्नुहुन्छ होला । तपाईंको विचारमा के भन्नु हुन्छ ?
उहाँ दुवैजना देशको भविष्य र जनताको भविष्यप्रति बढी चिन्तित हुनुहुन्छ । नेताको व्यवस्थापनमा कम ध्यान दिनुभएको छ । नेतृत्व गर्ने भनेको धेरै पदमा एक जना बसेर हुँदैन । जसले नेतृत्व गरे पनि देश र जनताको लागि काम गर्ने हो । देश बनाउने कुरामा सबैको सहभागिता चाहिन्छ ।
जे भने पनि पद त चाहियो नि । तपार्इंले भनेजस्तै ओलीको ठाउँमा अरू कोहीलाई प्रधानमन्त्री बने जनमत विरोधी कुरा हो । अहिले कसैले स्वीकार्दैन । अहिले अरूलाई ल्याएर पार्टी पनि चल्दैन होला, ठीक के हो ?
पार्टी एकिकरणका धेरै कुरा हुन्छन् । सैद्धान्तिक, साङ्गठनिक, राजनीति र वैचारिक । एमालेलाई आफ्नै पार्टीमा पनि एक पद्धतिबाट अर्को पद्धतिमा जान दुई चार महिना लागेको थियो । अहिले यसमा पनि राम्ररी छलफल बहस हुनुपर्छ । बहस आत्मकेन्द्रित हुनुहँुदैन । राष्ट्रको भविष्यसँग जोडिएको हुनुपर्छ । यसलाई बहकाउ र भावनाको विषय बनाउनु हुँदैन । एमाले लामो समयदेखि एउटा ढाँचामा चलिरहेको छ । लोकतान्त्रिक अभ्यासबाट बढेको छ । माओवादी यो प्रक्रिया त्यति छैन । अहिले निर्वाचनमा सँगै जाँदा माओवादी केन्द्रका नेताहरू पनि एमालेको सङ्गठनात्म पद्धति हेरेर खुशी छन् । अहिलेको समयमा ओलीको नेतृत्व सर्वत्र आवश्यकता छ ।
सैद्धान्तिक रुपमा पनि बहस छलफल गर्नुपर्ने होला नि ?
पार्टी उप–महासचिव घनश्याम भुसालले जवजको च्याप्टर क्लोज भयो भन्नुभएको छ । भुसाल लेख्ने पढ्ने विश्लेषण गर्ने मान्छे हो । उहाँको रुचि पढ्ने लेख्ने हो । यो सकारात्मक कुरा हो । उहाँ सैद्धान्तिक–वैचारिक कुराको नेतृत्व गर्न चाहने मान्ने । जवजको सन्र्दभमा विकासको चरणमा सहयोग गर्नुभन्दा पनि संशोधनवादी विचार हो भन्दै हिड्ने मान्छे हो उहाँ । सीपी मैनालीले परिमार्जित जनताको नौलो जनवादमा घनश्यामजीको निकै योगदान छ । उहाँले जवजलाई बेठीक भनेर यसरी हिड्नु भयो । तर, समय परिस्थितिले उहाँ नै परिवर्तन हुनुपर्यो । उहाँको मनमा द्धैस छ । जवजसँग उहाँको दुश्मनी छ । उहाँ जवजलाई कहि न कहि नेर फेल बनाउन पाए, अर्को ठाउँमा नयाँ विचार बनाउन पाएँ, अबको विचारको नेतृत्व म गर्थेँ भन्ने छ । यो दुरासय हो । जवजको व्याख्याता कोही खासमान्छे हुन सक्दैन भन्ने उहाँको भनाइ छ । त्यो हो भने जवज होइन, घनश्याम भुसाल परिवर्तन हुनुपर्छ । अहिले जवज बुझ्ने धेरै मान्छे छन् । यसको भविश्य बुझने मान्छे धेरै छन् । मदन भण्डारी नहँुदैमा जवज अलपत्र रहदैन । मैले एमएको थेसिस जवजमा गरेको हुँ । नेपालको कम्युनिष्ट आन्दोलनले जनवाद स्थापनाको चरणलाई पुरा गर्छ । समाजवाद स्थापनासम्म पनि यसको आवश्यकता छ भन्ने हामीले बुझेका छौँ । जे कारणले समाज बदलियो, यो उपलब्धी प्राप्ति भयो । अव यसको आवश्यकता नै छैन भन्नु ठीक होइन ।
जवज कुनै धार्मिक पुस्तक त होइन, यसमा पनि अपग्रेड हुन्छ होला । तर, एक पक्षले त यसमा कमा र पूर्णविरामपनि परिवर्तन हँुदैन भन्छ नि ?
यस्तो भनिएको छैन । जवज परिवर्तन गर्ने होइन । जवज समाज गतिशिल हुन्छ भन्ने राजनीति मान्यता हो । यो मान्यतालाई अब यत्तिकै छाड्ने त ? माक्र्सवादले समाज गतिशिल छ भनेको छ । हामीले भनेका छौँ कि, राजनीतिक प्रणाली प्रतिस्पर्धाबाट गर्ने भनेका छौँ । सकेसम्म हामी शान्तिपूर्ण रुपमा समाजपरिवतन गर्छौँ । यदि जनताको मतबाट परिवर्तन गर्न दिइएन भने हतियारबाट अगाडि जान्छौँ भनेका छाँै । जनताको बहुमत प्राप्त गर्ने सरकारमा बस्छ । अर्को शक्ति प्रतिपक्षमा बस्छ । असहायको पक्षमा प्रयोग गछौँ भनेको छौँ । नेपाली क्रान्ति नेपाली मौलिकतामा चल्छ भनेको हो । हामीले जवजमा अडिएर नै माओवादीलाई बदलेका हौँ । भुसालजी त रुख काटिसकेपछि बन्चरोको आवश्यकता छैन भन्ने मान्यता राख्नुहुन्छ । बदल्ने सिद्धान्तलाई नै काम लाग्दैन भन्नु ठीक होइन । उपलब्धी प्राप्त गर्ने साधनको अभिभारा अब फरक हुन सक्छ । जवज अर्ध औपनिवेशिक, अर्धसामन्तवाद र साम्राज्याद विरोधी हो भनेका छौँ । दलाल नोकरशाही विरोधीपनि हो । अब जुन चिज बदल्न पनि यसले नेतृत्व गर्छ ।
घनश्यामजीले त छैठौँ महाधिवेशनमा सिद्धान्त भन्यौँ तर यो सिद्धान्त बनेको थिएन, अहिले जवजको सान्र्दभिकता छैन भन्नुहुन्छ । यो भनेको देशलाई बरवाद पार्ने हो । हामी देशलाई बरवाद पार्न चाहँदैनौँ । विचारमा श्रृखला ट्टेपछि यस्तो हुन्छ ।
जवज र २१औ शताब्दीको जनवादलाई हटाएपछि एकता सजिलो हुन्छ भन्ने पनि त होला नि ?
दुवैको आफ्नै जीवन छ । तपाईंको आफ्नो जीवन छ । मेरो गौरवशाली इतिहास छ । यसको कमजोर पक्ष छोड्नुपर्छ । बलवानपक्ष लिएर अगाडि बढ्नुपर्छ । अहिले हामीँंसग बलवान जवज छ । माओवादी केन्द्रसँग पनि २१आँै शताब्दीको जनवादमा भएका बलवानपक्ष लिएर जानुपर्छ । एकले अर्काको विचार स्वीकार्नु पर्छ ।
एकताको नाममा जवज छोड्दैन हो एमाले ?
हो, छोड्दैन । यसमा एमाले प्रस्ट छ । सम्भावना पनि छैन ।
अव अन्तितिर, सांसद त हुनु भएन अब के गर्नु हुन्छ ?
म राजनीतिमा छु । मेरो पार्टीले जे जिम्मेवारी दियो त्यो इमान्दारीपूर्वक निभाउने छु । यो पार्टीले मलाई यहाँसम्म पुर्राएको छ । मेरो इतिहासको मुल्याङ्कन गरेर पार्टीले जिम्मेवारी दिने छ भन्ने विश्वासमा छु ।
राष्ट्रिय सभामा जाने सम्भावना ?
यो पार्टीको जिम्मा हो । मेरो केही छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटरब्याजीको ट्र्यापमा परे : श्रममन्त्री भण्डारी
-
विद्यार्थी घटेपछि बागलुङका १० विद्यालय बन्द
-
डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी
-
क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग
-
निर्वाचन आयोगद्वारा पर्यवेक्षकहरूसँग अन्तरक्रिया
-
नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा समूहले कार दिने