शितलहरबाट कसरी बच्ने ?
लक्ष्मीप्रसाद पङ्गेनी
पुस महिनाको उत्तरार्धतिर आउँदा सिङ्गो मुलुक चिसोले आक्रान्त बनेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपातले जनजीवन प्रभावित बनाएको छ भने तराई मधेस क्षेत्रमा शितलहर र चिसोले जनजीवन अस्तव्यस्त पारेको छ । बारा, पर्सा, रौतहट, सिरहा, नवलपरासी (पूर्व र पश्चिम), रूपन्देही, कैलालीलगायत तराईका अधिकांश क्षेत्रमा शीतलहरको प्रभाव देखिएको छ ।
मानिसहरू सडक पेटी, चोक तथा गल्लीमा आगो तापेर बसेका देखिन्छन् । चिया पसलमा पनि मानिसको उल्लेख भीड देख्न सकिन्छ । सामाजिक सञ्जालको पहुँच हुनेहरू आगो तापेका, मुखै छोप्ने गरी गलबन्दी बाँधेका तस्बिर, मासु सेकेर खाँदै गरेको तस्बिर फेसबुकमा राखेको पनि देखिन्छ । कतिपय विद्यालय तथा कार्यालयमा पनि शिक्षक कर्मचारी तथा विद्यार्थी आगो तापेका भेटिन्छन् । सरकारले पनि चिसोबाट बच्न सावधानी आपनाउन आग्रह गर्दै गृह मन्त्रालयमार्फत चिसो प्रभावित क्षेत्रमा कम्बल दाउरा आदि वितरण गर्ने प्रयास भइरहेको छ । तर पनि सबैलाई चिसोले असर पारेको छ भने कतिपयलाई चिसो अभिशाप नै बन्ने गरेको छ । चिसोले सम्पन्नलाई त खासै असर नपारे पनि विपन्न समुदायलाई कालकै रूपमा आउने गरेको छ ।
तराईका अधिकांश गरिब जनता झुपडीमा बस्न, फाटेका आधा आङ ढाक्ने कपडा एवम् बोरा र परालको भरमा रात कटाउन बाध्य छन् । चिसोबाट बच्न घरभित्र आगो बाल्दा निस्सासिएर र आगलागी भएर धनजनको पनि क्षति हुने गरेको छ । यो चिसोको कहरले अझै केही दिनसम्म मौसमविदहरूको भनाइ रहेकाले अझै चिसोले प्राभाव पार्ने देखिन्छ ।
विगत केही दिनदेखि बाक्लो हुस्सुका कारण हवाई उडान प्रभावित भएका छन् । बन्दव्यापार घटेको छ, मानिसको चहलपहल घटेको छ, सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ ।
करिब दुई साताअघिदेखि तराई क्षेत्रमा शितलहरको प्रभाव तीव्र छ । चिसोले कठयाङ्ग्रिएर मृत्यु हुनेको खबर आउन थालेको छ भने अत्यधिक चिसो शैक्षिक संस्थाहरू बन्द हुने अवस्थामा पुगेका छन् । अस्थायी टहरामा रहेएका भूकम्पपीडित तथा तराईका बाढीपिडितहरू पनि चिसोको उच्च जोखिममा छन् ।
विगतका वर्षमा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हिमपहिरो तथा तराईमा शितलहरका कारण जनजीवन प्रभावित हुने र धनजनको क्षति हुने गरेको तथ्याङ्क छ । अघिल्लो वर्ष अत्यधिक चिसो र शितलहरकै कारण तराईमा मृत्यु हुनेको सङ्ख्या पनि निकै थियो । तराईका गरिब र सीमान्तकृत समुदाय चिसोमा बढी प्रभावित हुने गरेका छन् । गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शितलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनि यसरी सर्वसाधारणको ज्यान जाने गरेको छ । चिसोले जनजीवन प्रभावित हुने र धनजनको क्षति हुँदा बर्सेनि राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा वर्षिक दुई प्रतिशत अर्थात् चार अर्ब रुपियाँ जति नोक्सानी हुने गरेको छ ।
चिसो, शितलहरलगायत प्राकृतिक विपत्तिको क्षति न्यूनीकरणका लागि पूर्व तयारी नै सबभन्दा ठूलो उपाय हो । प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा लैजाने संयन्त्रको विकास र मौसम पूर्वसूचना प्रणालीमा उचित प्रबन्धले यस्ता विपद जोखिम घटाउन सकिन्छ । तराई क्षेत्रमा शितलहरबाट प्रभावित हुने क्षेत्र र जनसङ्याको पूर्वअनुमान, नक्साङ्कन गरी आवश्यक होसियारी अपनाउन सकिन्छ । आगो ताप्न दाउरा, न्यानो लुगा वितरण गर्नुपर्छ । चिसोका कारण हुने रोगको उपचारका निम्ति स्वास्थ्य निकायमा पर्याप्त औषधिको व्यवस्था गर्नुपर्छ । यसबाट जोगिन सचेतना अभिवृद्धि गर्दै सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आवश्यक स्रोत, साधनको पूर्व प्रबन्ध गर्नु र प्रभावित परिवारलाई सहयोग गर्नु आवश्यक छ । वृद्धवृद्धा तथा बालबालिका जाडो मौसमले बढी प्रभावित हुने भएकाले उनीहरूलाई जाडोबाट बचाउन चिकित्सकहरूले सुझाव दिएका छन् । चिसो मौसमको कारण निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिक्स, रक्तचाप, छालाको समस्या लगायतका रोग लाग्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ ।
अन्य क्षेत्रको तुलनामा तराईमा जाडोले अत्यन्त सताउने भएकाले तराईका बासिन्दाले जाडोबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने देखिन्छ । तराईका बासिन्दा ग्रिष्म र हिउँद दुवै मौसममा प्रभावित छन् । ग्रिष्म मौसममा भाइरल, हैजा, आगलागी तथा बाढीबाट प्रभावित हुने तराईबासी हिउँदमा शितलहरबाट आक्रान्त छन् । तराईबासीको अनुभवमा गर्मीयामको समस्या भन्दा शितलहर बढी कष्टप्रद भएको बताउँछन् । तराईमा कम्मरभन्दा माथि पूरा कपडा लगाउने तर कम्मरभन्दा तल जाडो मौसममा पनि बाक्लो कपडा नलगाउनाले मानिसलाई चिसोले बढी सताउने गरेको छ । चुनावका समयमा ठूलाठूला आश्वासन दिने राजनीतिकदलका नेताहरू चुनावपछि गुनाम रहने गरेको तराईबासीको दुखेसो छ ।
जाडो मौसम एक वर्ष मात्र आउने होइन, प्रत्येक वर्ष आउँछ । यसका लागि व्यक्ति स्वयम् पनि सजक हुन जरुरी छ । राति निकै जाडो हुँदा ‘भोलि एउटा राम्रो घर बनाउँछु’ भन्ने र भोलि पल्ट घाम लाग्दा जाडो बिर्सने जस्तो छेपाराको व्यवहार गर्नु हुँदैन । सरकारले मात्र केही गर्न सक्दैन । हामीलेले पनि आफ्नो आम्दानीको केही बचत गरी जाडोमा चाहिने सामग्रीको प्रवन्ध गर्न सक्छौँ । केहीसिप नलागे मात्र सरकार र सहयोगी संस्थाहरूको आश गर्नु राम्रा हुन्छ ।
सरकार र सहयोगी संस्थाहरूले पनि सस्तो लोकप्रियताका लागि नभई वास्तविक पीडितलाई राहत दिने संयन्त्र निर्माण गर्नुपर्छ । बिरामी तथा सुत्केरी महिलाहरू पनि जाडोका बेला उच्च जोखिममा हुने भएकाले सतर्क रहन आवश्यक छ । भर्खर जन्मेका बच्चाहरूमा निमोनिया, ब्रोनक्राइटिस तथा छालाको समस्या हुने भएकाले बालबालिकालाई चिसोमा जथाभावी खेल्न नदिने, न्यानो कपडा लगाइदिनु पर्छ । चिसोबाट बच्न शारीरिक व्यायाम गर्ने, बालबालिका र वृद्धलाई चिसोमा नराख्ने, बाक्लो लुगा लगाइदिने, प्रशस्त मन तातो पानी पिउने, बच्चालाई मोटरसाइकलमा नचढाउने, तातो खानेकुरा खाने, अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कने कार्य आदि गरे शितलहर र चिसोको कहरबाट अवश्य बच्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी
-
क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग
-
निर्वाचन आयोगद्वारा पर्यवेक्षकहरूसँग अन्तरक्रिया
-
नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा समूहले कार दिने
-
कतै समाजवाद शब्दले बिगारेको त छैन ?
-
सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा