शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

खासमा काङ्ग्रेसमा को हुन् युवा नेता ?

आइतबार, २३ पुस २०७४, १० : ५४
आइतबार, २३ पुस २०७४

काठमाडौं– काङ्ग्रेसमा नेतृत्वको पुस्तान्तरणको विषय उठिरहँदा ‘युवा नेता कोे हुन् ?’ विषयमा ‘युवा नेता’ सहभागी एक कार्यक्रममा बहस नै भयो । काङ्ग्रेसको पराजयको सन्दर्भमा पुुस ५ मा भएको भेला डाकिएको थियो । उक्त कार्यक्रमा ‘युवा पुस्ताका’ नेता सहभागी थिए । काङ्ग्रेस नेता चन्द्र भण्डारीले भेलाको संयोजन गरेका थिए ।

नेतृत्वलाई केन्द्रीय कार्यसमिति र महासमिति बैठकका लागि दबाब दिने उद्देश्यले भेला गरिएको थियो । गगन थापा, धनराज गुरुङ, बद्रि पाण्डे, प्रदीप पौडेललगायतका नेता कार्यक्रमका वक्ता  थिए ।

नेविसङ्घ सह–महामन्त्री माधव ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।

नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले फरक विषयलाई कार्यक्रममा प्रवेश गराए ।

‘४५ वर्षसम्म नेविसङ्घमा, ५० कटेपछि तरुण दलमा र ६० वर्षपछि दलमा क्रियाशील सधैँको युवा नेता रहिरहने ?’ नेताहरूलाई उनले ध्यानकार्षण गराए ।
काफ्लेले काङ्ग्रेसमा कपाल फुलेको पनि युवा हुने बताउँदै युवाको मापदण्ड कटेकालाई युवाको सम्बोधन छोड्नुपर्ने बताएका थिए ।

काफ्लेको मतमा हलमा सहभागीले समर्थन जनाए । त्यस दिनपछि ती नेताहरूले आफूहरूलाई युवा नभई काङ्ग्रेसका ‘प्रभावशाली नेता’का रूपमा प्रचार गर्ने योजना बनाए । कार्यक्रम नसकिँदै उद्घोषकले प्रभावशाली नेता भनेर सम्बोधन गर्न थाले ।
 
काफ्लेको प्रस्तावमा अन्यले पनि सहमति जनाउँदै ‘युवा नेताको स्थानमा प्रभावशाली नेता’ भनी सम्बोधन गर्ने निर्णय गरेका थिए ।
विद्यार्थी नेता काफ्ले रूपान्तरणको विषयलाई उमेरसँग मात्रै जोडेर हेर्न नहुने बताए ।

दलमा युवाको परिभाषा बुझ्ने धारणा फरक फरक रहेको उनले बताए
 
बीपीको समयको युवा पुस्ता र हालको युवा पुस्ता

काङ्ग्रेसका संस्थापक नेता बीपी कोइराला ३५ वर्षको उमेरमा काङ्ग्रेसको पार्टी सभापति बनेका थिए ।

४३ वर्षको उमेरमा कोइरालाले प्रधानमन्त्रीको पद सम्हालेका थिए ।

युवा अवस्थामा दल र देशको मुख्य बागडोर सम्हालेका काङ्ग्रेसका संस्थापक नेता कोइरालाको पदचाप काङ्ग्रेसले पछ्याउन सकेन ।
काङ्ग्रेसमा गिरिजाप्रसाद कोइराला सभापति भएको बखत वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा युवा नेताको स्थानमा थिए । गिरिजापछि सुशील कोइराला पार्टी सभापति भए ।

उमेर बढ्दै गए पनि देउवा युवा नेतामै गनिँदै थिए । सुशीलपछि देउवा दलको सभापतिमा पदासिन भए । लगत्तै प्रधानमन्त्री पनि बने, त्यसपछि भने उनी पहिलो पुस्ताको नेतामा दर्ज भए ।

गिरिजाको कार्यकालमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि दोस्रो पुस्ताका रूपमा परिचित थिए ।

गिरिजा प्रसाद कोइराला दलमा र सरकारको नेतृत्वमा रहेको समयमा युवा पुस्ताका नेता भनिएका अधिकांश नेताहरू हाल पुरानो पुस्तामा पुगेका छन् ।

काङ्ग्रेसको नेतृत्व पछिल्लो समय ७१ वर्ष कटेका नेताहरूले सम्हालिरहेका छन् । देउवाले ७१ वर्ष पार गरेका छन् ।

समकालीन काङ्ग्रेस नेताहरूमा रामचन्द्र पौडेल अरू नेताभन्दा उमेरमा अघि छन् । पौडेल ७४ वर्ष पुगेका छन् ।

काङ्ग्रेसको १३औँ महाधिवेसनमा नेतृत्वप्रति युवाहरूको साझा धारणा बनाउने विषयमा बहस त गरियो तर साझा धारणा बन्न सकेन । 

हारपछि नेतृत्व हस्तान्तरणको मुद्दा चर्को  
पहिलो पुस्ताको सोच र कार्यशैलीमा प्रश्न उठाउँदै काङ्ग्रेसमा नेतृत्वप्रति प्रहार भइरहेको छ । आत्मसमीक्षा गर्दै गर्दा उमेर समूहको विषय जोडतोडले उठेको छ । पहिलो पुस्ताका नेताहरूले उमेरका कारणले स्वैच्छिक अवकास लिनुपर्ने आवाज बलियो बन्दै गएको छ ।

काङ्ग्रेसमा युवाहरूले जिम्मेवारी लिनुपर्छ भन्दै गर्दा ‘को हुन् युवा ?’ अन्यौल छ ।

यदि ७० वर्ष कटेका पहिलो पुस्ता हुन् भने उनीहरूले बागडोर छोडे पनि त्यसको जिम्मेवारी युवा पुस्तामा आउने सम्भावना छैन ।
दोस्रो पुस्तामा रहेका काङ्ग्रेस नेताहरू डा. शशांक कोइराला, शेखर कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, रामशरण महतमा मुख्य नेतृत्वको जिम्मेवारी आए पनि उनीहरू पनि युवामा पर्दैनन् ।

त्यो समूहभन्दा पछिल्लो पुस्ताको उमेर समूहका नेताहरूमा नेतृत्व आउने कल्पना बाहिरको विषय हो ।  

असम्भव तर कल्पना गरौँ । कथंकदाचित नेतृत्व पुस्तान्तरण भएर तेस्रो पुस्तामा आयो भने काङ्ग्रेस नेता चन्द्र भण्डारी, धनराज गुरुङ गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल नेतृत्वमा पुग्छन् ।

पछिल्लो समयका प्रभावशाली  नेताहरू पनि युवा समूहमा पर्दैनन् । उनीहरूलाई युवा नेता भनिए पनि राष्ट्रिय युवा नीति २०६६ को मापदण्डभन्दा बाहिर पर्छन् । ४० वर्ष  कटेका राष्ट्रिय युवा नीतिअनुसार युवा समूहमा पर्दैनन् ।

दलहरूमा पहिलो पुस्ता र नयाँ पुस्ताको निर्धारण गर्ने कुनै विधि त बनेको छैन ।  दलले पराजय भोगेको अवस्थामा नेतृत्वको उमेर र कार्यशैलीलाई दोष देखाउने प्रचलन छ ।

गत निर्वाचनमा काङ्ग्रेसले पराजय भोगेपछि युवा र पुरानो पुस्ताको चर्चा बढी भएको छ ।

काङ्ग्रेसले निर्वाचनमा पहिलो स्थान सुरक्षित गरेको भए सायदै यो विषयले प्रवेश पाउने थियो ।

 
को हुन् युवा ?
राष्ट्रिय युवा नीति २०६६ अनुसार १६ देखि ४० वर्ष उमेर समूहका महिला, पुरुष तथा तेस्रो लिङ्गी व्यक्तिलाई युवा मानेको छ । ‘राष्ट्रिय युवा नीति परिमार्जन तथा युथ भिजन २०२५ निर्माण कार्यदल’ले भने १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरूलाई युवा मान्ने प्रस्ताव गरेको थियो  । संयुक्त राष्ट्र सङ्घका अनुसार १५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई युवा भनिन्छ ।

नेपालमा विसं. २०५२ देखि नै युवा नीतिको पहल गरिएको थियो । त्यसबेला युवा नीति मस्यौदामा १६ देखि २९ को उमेर समूहलाई युवा मानिएको थियो । तर मस्यौदाले अन्तिम रूप  पाउन सकेन । विश्वका अन्य मुलुकको  प्रावधानमा ३० वर्षभन्दा बढी उमेरलाई  युवा मानिएको छैन । नेपालमा  १६ देखि २९ वर्ष युवा समूहको कुल जनसङ्ख्यामा एक तिहाइ हिस्सा रहेको छ ।


भातृ सङ्गठनहरूमा पनि युवा उमेर कटेकाहरूको बाहुल्यता
दलको मेरुदण्डका रूपमा रहेका सङ्गठनका नेतृत्वमा पनि युवा उमेर कटेकाको बोलवाला छ ।

युवाको सङ्गठनका रूपमा परिचित नेपाल तरुण दलमा पनि युवा पुस्ताको नेतृत्व रहेको छैन ।

तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेत युवा उमेर पार गरिसकेका व्यक्ति हुन् ।

काङ्ग्रेसको नसर्री सङ्गठनका रूपमा चिनिएको नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले युवा अवस्था पार गरिसकेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप