शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

साझा प्रकाशनलाई जोगाउन २० करोड सहुलियत ऋण माग

शुक्रबार, १८ भदौ २०७२, १५ : २२
शुक्रबार, १८ भदौ २०७२

काठमाडौँ – प्रधानमन्त्री सुशील कोइरालाले नेपाली भाषा–साहित्यको धरोहरका रूपमा रहेको ‘साझा प्रकाशन’ लाई डुब्न नदिन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

‘साझा बचाउ अभियान’ अन्तर्गत आज सो संस्थाका पदाधिकारी र वरिष्ठ स्रष्टासँगको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले संस्थाको कार्ययोजनाअनुसार आर्थिक घाटा पूर्ति तथा चालु पुँजी व्यवस्थापन गर्न माग भएको रकम निकासका लागि अर्थ मन्त्रालयलाई आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री कोइरालाले आर्थिक अनियमितताका कारण सो संस्था डुबेको सुन्नुपर्दा आफूलाई दुःख लागेको र नयाँ व्यवस्थापनले सुधारका कार्यक्रम अघि सारेकामा प्रसन्नता जनाउँदै सरकारी स्वामित्वमा रहेका संस्थालाई टिकाएर जनतालाई सेवा दिनुपर्नेमा जोड दिए ।

प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले तत्कालका लागि रु २० करोड रकम सहुलियत ऋण प्राप्त भएमा कर्मचारीमा स्वेच्छिक अवकाश र आन्तरिक सुधार गरी संस्थालाई नाफामा लान सकिने योजना सुनाएका थिए । शर्माले भने, “त्यो नाफाबाट भाषा साहित्य र संस्कृतिको समृद्धि र उत्थानमा संस्था केन्द्रित हुन सक्नेछ । यसमा प्रधानमन्त्री आश्वस्त भएका छन्, हामीलाई काम गर्ने उत्साह थपिएको छ ।

भेटका अवसरमा प्रकाशनका सञ्चालक समितिका सदस्य तथा पूर्व शिक्षामन्त्रीद्वय प्रदीप नेपाल र दीनानाथ शर्मा तथा राष्ट्रकवि माधवप्रसाद घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्व कुलपति वैरागी काइँला, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झा, स्रष्टा तेजेश्वरबाबु ग्वङ, डा कृष्णहरि बराल, श्रीओम श्रेष्ठ ‘रोदन’ लगायत थिए ।

गत साता शिक्षा मन्त्रालयले विद्यालय तहका पाठ्यपुस्तकको उत्पादन र वितरणमा जनक शिक्षा र साझा प्रकाशनलाई पुनः एकाधिकार दिने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप