बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

जङ्गली हात्तीको आतङ्कले अङ्ग्रेजी नयाँ वर्षमा पनि सुनसान बन्यो हात्तीसार

शनिबार, १६ पुस २०७९, १२ : ५१
शनिबार, १६ पुस २०७९

आन्तरिक तथा भारतीय पर्यटकहरूको भिड लाग्ने बाराको अम्लेखगञ्ज स्थित हात्तीसार यस पटक अङ्ग्रेजी नयाँ वर्षमा सुनसान देखिएको छ ।

जङ्गली हात्तीले दुख दिएर सफारीमा प्रयोग गरिने घरेलु हात्तीहरूलाई पर्सा राष्ट्रिय निकुञ्जले अन्यत्र स्थानान्तरण गरेपछि  हात्तीसार सुनसान भएको हो । यसअघि अङ्ग्रेजी नयाँ वर्ष विशेष गरेर डिसेम्बर महिनामा छिमेकी मुलुक भारतबाट सयौँ सङ्ख्यामा आएका भारतीय पर्यटकहरूका कारण हात्तीसारमा छुट्टै खालको चहलपहल तथा लाखौँ रुपियाँ राजस्व समेत सङ्कलन हुने गर्दथ्यो ।

अम्लेखगञ्ज स्थित हात्तीसारका इन्चार्ज जलेन्द्रप्रसाद चौधरीले विगतका वर्षहरूमा नोभेम्बर र डिसेम्बर महिनाभर निकुञ्जमा भारतीय पर्यटक भिड लाग्ने गरेको बताए । ‘यो डिसेम्बर महिनामा मात्रै सयौँ भारतीयहरू हात्ती चढेर निकुञ्ज घुम्न आउँथे, अहिले जङ्गली हात्तीको डरले सबैतिर सुनसान छ, हात्तीसारको आम्दानी पनि सबै सुकेर गयो’ उनले भने ‘सफारीको लागि आजभोलि पनि धेरै मान्छेको फोन आउँछ कति आएर फर्कन्छन्’ निकुञ्जले हात्ती सफारीका लागि आउने भारतीय पर्यटकबाट प्रतिव्यक्ति निकुञ्ज प्रवेश शुल्क र हात्ती सफारी गरेर २ हजार २ सय नेपाली पर्यटकबाट ६ सय रुपियाँ शुल्क लिँदै आएको थियो । तर पछिल्लो २ महिनादेखि सफारी बन्द भएपछि हात्तीसारको आम्दानीको श्रोत समेत बन्द भएको ईन्चार्ज चौधरीले जनाएका छन् ।

‘यमगज’ नाम जङ्गली भाले हात्तीले हात्तीसारमा रहेका घरेलु पोथी हात्तीलाई दुख दिने, बस्तीमा छिरेर स्थानीयहरूको घर गोठ भत्काउन ती हात्तीहरूलाई निकुञ्जले निकुञ्जको कोर क्षेत्र रामभोरी भाटामा स्थानान्तरण गरेको छ । होटेल तथा पर्यटन व्यवसायी मोहन शर्माले जङ्गली हात्तीको आंतकको कारण सफारीमा प्रयोग हुने घरेलु हात्तीहरूलाई अन्यत्र सार्दा पर्यटन सम्बन्धी सम्पूर्ण गतिविधि ठप्प भएको बताए । ‘पर्यटकहरूले निकुञ्ज भित्र गाडीमा भन्दा पनि हात्तीमा सफारी गर्न बढी रुचाउँछन्, जङ्गली हात्तीको आतङ्क कारण अहिले पर्यटन सम्बन्धी गतिविधि मात्रै होइन हात्तीसार वरपरका हेटलहरु समेत सुनसान छन्’ पर्यटन व्यवसायी शर्माले भने ‘विगतमा यो मौसममा हजारौँको सङ्ख्यामा भारतीय तथा आन्तरिक पर्यटकहरू निकुञ्ज घुम्न आउँदा होटलहरुमा समेत चहलपहल हुन्थ्यो’ ।

मधेस प्रदेशमा पर्यटकीय स्थलहरुमा तेस्रो मुलुकका पर्यटक आउन त्यति रुचाउँदैनन् । यहाँको मुख्य आयस्रोत भनेकै भारतीय पर्यटकहरू हुन् । पर्सा राष्ट्रिय निकुञ्ज मधेश प्रदेशकै एक मात्र निकुञ्ज हो । मधेश प्रदेशका ८ वटै जिल्लामा आन्तरिक पर्यटकहरू निकुञ्ज हुँदै सौराहा,पोखरा, काठमाडौँ जाने गर्दछन् ।

पछिल्लो समय मुलुकमा देखिएको आर्थिक मन्दी र सिमरा–पोखरा उडान बन्द हुँदा पनि यो क्षेत्रमा पर्यटन सम्बन्धी गतिविधि बढ्न नसकेको  पर्यटन व्यवसायी शर्माले जनाएका छन् । विगतमा अङ्ग्रेजी नयाँ सालमा भारतीय पर्यटकहरूले प्याकेज नै बनाएर पर्सा राष्ट्रिय निकुञ्जभित्र हात्ती सफारी गरेर वन्यजन्तु अवलोकन गर्ने चितवनको सौराहा हुँदै काठमाडौँ, पोखरा घुम्ने गर्दथे ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले निकुञ्जभित्र घुम्न आउन चाहने पर्यटकहरूका लागि हात्ती सफारी बाहेक अन्य सुविधा खुला भए पनि यस वर्ष खासै चहलपहल नभएको बताए । ‘हात्ती सफारीका लागि धेरै पर्यटकहरूको फोन आउँछ, जङ्गली हात्तीको कारण निकुञ्ज भित्र पर्यटन सम्बन्धी गतिविधि  आजभोलि ठप्प छ, हामी पनि धेरै समस्यामा छौ, निकुञ्जको राजस्व पनि मरेको छ’ प्रमुख संरक्षण अधिकृत  अशोकरामले भने । निकुञ्जभित्र बिशेषगरी पर्यटकहरू हात्ती सफारीको माध्यमबाट पाटे बाघ, गैँडा, गौरी गाँई चित्तल हेर्न आउने गर्दछन् । निकुञ्जभित्र हात्ती सफारीका लागि ९ वटा घरेलु हात्ती र  चोरी गरेर भारत तर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिएका ३ वटा गरेर १२ वटा हात्तीहरू छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप