‘शब्दकोश निर्माणमा भाषाका बारेमा विशेषज्ञता नभएका मानिसहरू छिरे’
हेमाङ्गराज अधिकारी नेपाली भाषा–व्याकरणमा परिचित नाम हो । उनी त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्रमा अध्यापन गर्दादेखि नै यस क्षेत्रमा समर्पित भएका व्यक्ति हुन् । उनी र बद्री विशाल भट्टराई भएर सम्पादन गरिएको प्रयोगात्मक नेपाली शब्दकोश निकै उपयोगी ग्रन्थ हो । उनले नेपाल प्रज्ञा प्रतिष्ठानमा २०७१ देखि २०७५ सम्म नेपाली भाषा व्याकरण विभागका प्रमुखका रूपमा रहेर काम गरे । सो अवधिमा नेपाली बृहत् शब्दकोशसम्बन्धी काम गरे । जुन शब्दकोश २०७२ सालमा परिमार्जित भएर आएको थियो । त्यसमा भएका केही परिवर्तनलाई लिएर निकै विवाद पनि भयो । २०७५ मा त्यसलाई उल्टाएर पुनः पहिलेकै अवस्थामा प्रकाशित गरियो ।
तर उनी प्रज्ञा प्रतिष्ठानमा रहँदा निजी प्रकाशनबाट उनको प्रधान सम्पादकत्वमा निस्केको प्रयोगात्मक नेपाली शब्दकोशमा भएका शब्द, प्रज्ञाले विभिन्न समयमा सङ्कलन गरेका गरी करिब ४८ हजार शब्द सङ्कलन गरी एउटा छुट्टै शब्दकोशको तयारी गरेको बताउँछन् । नेपाली बृहत् शब्दकोशका ६२ हजार शब्द, उनले सङ्कलन गरेका ४८ हजार शब्द र त्यसपछि उक्त विभागले सङ्कलन गरेका शब्दहरू सङ्कलन गरी हालै प्रज्ञा नेपाली बृहत् शब्दकोश २०७९ प्रकाशन गरेको छ । यो शब्दकोश निर्माणको आवश्यकता, औचित्य र त्यसभित्रका समस्यका बारेमा केन्द्रित रहेर प्राडा हेमाङ्गराज अधिकारीसँग मोहनप्रसाद दाहालले गरेको कुराकानी :
–अहिले भाषाव्याकरणसम्बन्धी केके कार्यक्रम गर्दै हुनुहुन्छ ?
अहिले खास केही छैन । आठ दस वर्ष भयो त्यतातिर लागिएको छैन । बाहिर हुँदा पनि बद्री विशाल भट्टराई र म भएर प्रयोगात्मक नेपाली शब्दकोश तयार गरियो । २०६१ मा त्यो निस्कियो । प्रयोक्ताहरूले त्यसलाई निकै चाहेको अनुभव गरियो । पहिले ११०० पेजको थियो, २०७० मा त्यसलाई १६०० पेजको बनाइयो । धेरैजसो प्रयोगशील शब्दहरूलाई हामीले त्यसमा त्यसमा ल्यायौँ । त्यसमा शब्दको उच्चारण, प्रयोग, व्युत्पत्ति पनि राख्यौँ । त्यो एक प्रकारको शैक्षणिक कोशका रुपमा निकै चल्ती भयो । दोस्रो संस्करणमा चाहिँ १०, १५ हजार शब्द थप गर्यौँ । त्यसपछि थप प्रकाशन भएको छैन । कोशमा लागेपछि त्यसमा कुनै शब्द छ छैन, त्यसको के अर्थ लेखियो भन्नेतिर चासो हुँदो रहेछ । अलिअलि त्यसमै अलमलिँदो रहेछ ।
२०७१ मा प्रज्ञा प्रतिष्ठानमा परिषद्को सदस्य भएर आएँ । त्यतिबेला कोशकै सन्दर्भ थियो । प्रज्ञामा आएपछि कोश निर्माणकै कार्यमा म अलमलिएँ । त्यसबाट त्यति जस मिलेन । भाषाका कुरा भाषाविज्ञभन्दा सर्वसाधारण र लेखकहरूको बढ्ता चासो भयो । तर आफूलाई सन्तुष्टि नै मिलेको छ । नेपाली भाषाको एकरूपताका लागि गलत काम गरियो भन्ने लागेको छैन । प्रज्ञाका भाषासम्बन्धी गोष्ठीका निर्णयहरू नै कार्यान्वयन गरेको थिएँ ।
त्यतिबेला नेपाल प्रज्ञा प्रतिष्ठानकै आयोजनामा वर्णविन्यास सम्बन्धी गोष्ठीहरू भए । त्यसमा २०५७ मा र २०६७ मा दुईवटा गोष्ठी भए । ती गोष्ठीका प्रतिवेदन प्रकाशित छन् । अर्को चाहिँ प्रतिष्ठान र हिमाल एसोसिएसन, रुम टु रिडको सहकार्यमा काम भएको थियो । सहकार्यमा भएका कार्यक्रममा चाहिँ पदयोग र पदवियोगसँग सम्बन्धित भएर २०६२ तिर गोष्ठी भएको थियो । त्यो ६२ को प्रतिवेदन म प्रज्ञा प्रतिष्ठानमा हुँदाखेरि त्यहाँबाट प्रकाशित भएको छ । तर २०६२ को भने निर्णय होइन, छलफलको निष्कर्ष मात्र थियो । २०५७ र २०६७ का गोष्ठीहरूले गरेका निर्णयहरू मैले कार्यान्वयन गरेको थिएँ । सोहीअनुसार २०७२ को नेपाली बृहत् कोश आएको थियो ।
ती गोष्ठीका निर्णय कार्यान्वयन हुनुभन्दा पहिले विद्यालयमा हिज्जेको सुधारको कुरा भइरहेका थिए । आगन्तुक शब्दलाई तद्भव बनाउने कुरा २०५६ मै एसएलसीमा लागू भएको थियो । प्रकाशन गृहहरूले समेत त्यसमा साथ दिएका थिए । २०६६ मा उच्च माध्यमिक परिषद्ले नयाँ वर्ण विन्यास लागू गर्यो । त्यो अरू ठाउँमा पनि लागू भयो । त्यसलाई २०६७ को गोष्ठीले अनुमोदन गरेको अवस्था थियो । त्यसपछि २०७२ मा प्रज्ञाको नेपाली बृहत् शब्दकोशमा समेटियो । त्यसले निकै विवाद पनि ल्यायो । तर पनि शैक्षणिक दृष्टिले नेपाली भाषाको लेखनमा एकरूपता बढाउन यसले सहयोग पुगेकाले आफूलाई भने सन्तुष्टि नै मिलेको छ ।
त्यो कोश निर्माण गरेर गलत काम गरियो भन्ने लागेको छैन । त्यसलाई भाषाविज्ञले भन्दा सर्वसाधारण लेखकहरूको बढ्ता चासो भयो । लेखकले भन्दा शिक्षकहरूले भाषामा एकरूपता खोजेका हुन् । शिक्षकहरूले त एकरूपता सिकाउने हो, लेखकहरूका कृति त सम्पादन गरेर निस्किने हो ।
–नेपाली बृहत् शब्दकोश अहिले प्रज्ञा नेपाली बृहत् शब्दकोशका रूपमा आएको छ, यसमा यहाँको पनि योगदान छ भनिएको छ, यसका शब्दहरू कसरी सङ्कलन गरिएको हो ?
मेरो कार्यकालमा ४८ हजार शब्दहरू सङ्कलन गरी प्रेस कपी तयार भएको थियो । बृहत् नेपाली शब्दकोशमा ६२ हजार शब्द छन् भनिएको छ । त्यसमा भएका शब्दहरू संशोधन र परिमार्जन हुँदा केही कम पनि भए । पछिल्ला पछिल्ला संस्करणमा संस्थाका केही नाम र राजनीतिक शब्दहरू अलि कम भए । संस्करण भनिएको छ तर दसौँ, एघारौँ होइन । त्यो शब्दकोशमा पुनर्मुद्रण नै धेरै भएको छ । संस्करण भनेको २०४० को एउटा हो, त्यसपछि २०५८ को एउटा हो । बीचमा २०५५ मा पुनर्मुद्रण भयो । २०५८ मा केही संशोधन भयो । त्यसपछि आएको २०६७ र २०७२ को चाहिँ संस्करण हो । बाँकी चाहिँ पुनर्मुद्रण हो । त्यसपछि २०७५ मा २०७२ को उल्टाउने काम भएको हो त्यसलाई पनि संस्करण भनिन्छ ।
यो बीचमा नेपाली बृहत् शब्दकोशमा शब्दहरू खास थपिएनन् । २०७२ मा सय, पचास थपिए होलान् । त्यसलाई थपिएको मानिँदैन । त्यसैले २०४० मा भएका शब्दहरू नै कायम रहे ।
म प्रज्ञामा २०७१ देखि २०७५ सम्म रहेँ । प्रज्ञाले २०६७ देखि नै केही शब्दहरूको सङ्कलनको प्रक्रिया थालेको रहेछ । त्यो रेकर्ड र बाहिरबाट पनि मैले धेरै शब्दहरू सङ्कलन गरेँ । प्रयोगात्मक नेपाली शब्दकोशमा भएका र नेपाली बृहत् शब्दकोशमा नभएका दस हजार शब्द थपिए । म प्रज्ञामा रहँदा झन्डै ४८ हजार शब्द सम्पादन गरेर कोश तयार पारी प्रेस कपी नै बनाएर २०७५ मा बुझाएर हिँडेको थिएँ । त्यो छुट्टै प्रकाशित गरिदिएको भए हुने थियो । त्यो काम भएन । नेपाली बृहत् शब्दकोश र मैलै सङ्कलन गरेका ४८ हजार गरेर लगभग एक लाख १० हजार शब्द त्यतिबेलै भएका थिए । त्यो कोश आएन बरु २०७२ लाई नै हिज्जे बिगारेको आरोप लगाई सच्याइएको भनी २०७५ मा अर्को कोश आयो । हामीले दिएको जुन सामग्री हो त्यो यथावत् थन्कियो ।
पछि डेढ लाख शब्द सङ्कलन गर्ने भनेर सञ्चार माध्यममा आयो । तर प्रकाशन हुँदा एक लाख २८ हजार शब्द छन् भनेर अहिलेको प्रज्ञा नेपाली बृहत् शब्दकोशमै लेखियो । यसमा मेरो कार्यकालमा सङ्कलन गरेका ४८ हजार, नेपाली बृहत् शब्दकोशमा भएका ६२ हजार र बाँकी १८ हजार नयाँ शब्द थपिएको देखिन्छ । उहाँहरूले ४ वर्षमा गरेको काम हो त्यो ।
–पहिलेको शब्दकोश र यो शब्दकोशमा के भिन्नता पाउनुभयो ?
मैले यो कोश हेरेँ । यस कोशमा कोशीय शब्द भन्न लायक हुने ‘लेक्सिकल वर्ड’भन्दा उहाँहरूले थपेका शब्दहरूमा ठाउँका नाम, जातजातिका थर धेरै परेका छन् । २०४० बाट २०७५ सम्म आउँदा कोशीय शब्दलाई नै प्रमुखता दिइएको छ । २०४० का शब्दकोशमा पनि केही संस्थाका नाम र थरहरू छन्, जाति जनजातिका थरहरू कम छन् तर प्रज्ञा नेपाली बृहत् शब्दकोशमा चाहिँ ज्यादै धेरै छन् ।
अर्को कुरा, कोशवैज्ञानिक दृष्टिले यो शब्दकोश वैज्ञानिक छैन । कोशवैज्ञानिक दृष्टिले जात र थरहरूको अर्कै विशेष कोश हुनुपर्ने हो । नेपाली बृहत् शब्दकोश त भाषाको सामान्य कोश हो । यस्तो सामान्य कोशमा सामान्य शब्दहरूको जसको अर्थ हुन्छ त्यो मात्र हुनुपर्ने हो । नाम, जात र थरको के अर्थ हुन्छ र ? नाम, जात र थर भनेको एउटा ट्याग न हो । त्यो धेरैलाई प्रयोग हुन सक्छ । मगर जातिका विभिन्न थरहरू हुन्छन्, राईहरूका धेरै थरहरू हुन्छन् । गाउँपालिका, नगरपालिका लगायतका नामहरू पनि सङ्कलित छन् । गाउँपालिकाका पनि सामाजिक सांस्कृतिक महत्त्व छ भने त्यससँग सम्बन्धित भन्दा पनि यो ठाउँको गाउँपालिका हो भनिएको छ । त्यस्तो अर्थको त्यति महत्त्व भएन । त्यस्ता शब्दले गर्दा यो कोश ठूलो भएको छ । कोशवैज्ञानिक आधारमा तयार नपारिएकाले यो कोश भद्दा भयो । अग्रजहरूले बनाएको कोशको अवधारणा अनुसार यो कोश छैन र नयाँ सुझ पनि आउनु आवश्यक थियो, त्यो यसमा देखिएन ।
यस कोशमा शब्द बढाउने चासो मात्र भयो कि भन्ने लाग्छ । शब्द दोहोरिएका पनि छन्, एउटै शब्दबाट भिन्न अर्थ आउने शब्दहरूमा १, २, ३ गरेर अर्थ दिनुपर्नेमा माथिल्लोमा पनि त्यही शब्द छ, तल्लोमा पनि त्यही शब्द छ । पहिले अर्थ १, अर्थ २, अर्थ ३ भनेर प्रविष्टिमा दिइन्थ्यो । अर्थ दिइएको छ तर त्यही शब्द दोहोरिएको छ । यस्तो धेरै भेटिन्छ ।
अनि लोकवार्ता लोक संस्कृतिको सूचना, थरका नामको सूचना, गोत्र वा पाछा के हो भन्ने सूचना राखिएका छन् । उहिले थर गोत्रावली भन्ने एउटा विशेष कोश थियो । त्यस्तै स्थाननाम कोश भन्ने छुट्टै हुन्छ । त्यस्तै विशेष कोशहरू हामीले बनाउन सक्छौँ । प्राविधिक कोश, अर्थशास्त्र कोश, सांस्कृतिक कोशहरू पनि हुन्छन् । त्यस्ता कोश बनाउने कुरा अर्को हो । यो त भाषाको सामान्य कोश हो । यसबारे अन्य भाषाका सामान्य कोश हेरे पनि थाहा हुन्छ ।
कोश प्रयोक्ताले सामान्य शब्दको अर्थ खोज्छ । त्यस खालको अवधारणा प्रज्ञा प्रतिष्ठानले लिन सक्नुपथ्र्यो, त्यो नलिएको देखियो ।
यसको कारण चाहिँ अर्कै छ । प्रज्ञामा भाषा विभाग भन्ने हुन्छ । भाषा विभागका मानिसले काम गर्ने ठाउँ हो त्यो । त्यहाँ गैरभाषा विभागका मानिसहरूको छेडखानी भएको देखियो, छेडछाड बढी भयो । किनभने विशेष सम्पादकहरू भाषा विभागभन्दा बाहिरका पनि भए । शब्दकोश निर्माणमा भाषाका बारेमा विशेषज्ञता नभएका मानिसहरू छिरे ।
कोशमा त शब्द कसरी हेर्ने, पत्ता लगाउने भन्ने हुन्छ । कोशमा हिज्जे नियमहरूको लामो सूची राखिएको छ । के हिज्जे घोकाउने हो र ? हिज्जे त्यसरी घोकाउने भए कोश किन चाहियो ? कोश त पल्टाउँछ मान्छेले अनि शब्द जस्तो छ, जे रूपमा लेखिएको छ, त्यही कुरा उसले अनुसरण गर्ने हो । त्यहाँ हिज्जेको सूची राखिनुको औचित्य छैन ।
त्यसैले कोशको अवधारणागत अभिप्राय अर्थात् लेक्सिकोग्राफी कोशविज्ञान नबुझेर त्यस्तो भएको हो । यसका तुलनामा २०४० को कोश धेरै वैज्ञानिक छ । त्यो धारमा आएका कोश २०७५ सम्म त्यही धारमा छन् । विशेष सम्पादकहरू भनेर दर्शन विभागको मान्छे, कविता विभागको मान्छे छन् ।
अग्रजहरूले जुन मिहिनेत गरेका थिए, हामीले जुन किसिमले मिहिनेत गर्यौँ त्यसलाई विथोल्ने काम भयो । प्रज्ञा नेपाली बृहत् कोशमा थप विशेषता देखाउन सक्ने ठाउँ कम भयो । पहिले जसरी कोश व्यवस्थित हुँदै आएको थियो, त्यो भएन ।
नेपाली बृहत् शब्दकोशमा नयाँ शब्द थप्ने काम भएन, मेरो कार्यकालमा थप्ने प्रयास गरेको थिएँ । २०७५ मा ४८ हजार शब्द सङ्कलन गरेको थिएँ, त्यो थपेर तयार भएको थियो, त्यो निकाल्न सकिन्थ्यो । त्यो त ठोस कुरा हो नि त । त्यसलाई ढाकछोप गर्ने काम भयो ।
–अब मानक कोश चाहिँ कुनलाई मान्ने ?
बृहत् नेपाली कोश भनेको नेपालकै मानक कोश थियो । संस्थागत गरिमाको दृष्टिले पनि र साधारण प्रयोक्ताले पनि त्यही सम्झेका थिए । यो कोशमा आएपछि त्यो मान्यता खण्डित भयो । किनभने यो कोशमा भाषिकाका शब्दहरू प्रशस्त परेका छन् । मैले पनि ४८ हजार शब्दहरूमा भाषिकाका शब्दहरू, मातृभाषाका शब्दहरू पनि राखेको थिएँ । यसमा पनि परेका छन्, त्यो स्वाभाविक हो, शब्द भण्डार बढाउने दृष्टिले र सबै क्षेत्रका भाषाभाषीको अपनत्व बढाउने दृष्टिले पनि । तर ती शब्दहरूको व्यवस्थापन चाहिँ भएको छैन । ती शब्दहरू प्रविष्टि भएपछि त्यो शब्द मानक हो कि अमानक हो भन्ने सूचना चाहिन्छ ।
जस्तै छोरेटी शब्द छ, त्यो हामी प्रयोग गर्दैनौँ तर नेपाली भाषिकामा प्रयोग हुन्छ । यो शब्द कहाँ, नेपालको कुन क्षेत्रमा बोलिन्छ भन्ने सूचना त दिनुपर्छ । मैले ४८ हजार शब्द तयार पार्दा त्यो सूचना दिएको थिएँ, अहिले प्रज्ञा शब्दकोशमा त्यो हटाइएको छ । त्यस्तो सूचना सूप. भन्दा सुदूरपश्चिम भयो, मप. मध्यपश्चिम भयो, पुने. पुर्बेली नेपाली हुन्छ । त्यो थियो तर अहिले सबै हटाइएको छ । कहाँ बोलिन्छ भन्ने सूचना सबै हटाइएको छ । त्यसले प्रयोक्तालाई अन्योल बनाएको छ । मैले दिएको कोशमा भएको मने. मध्यकालीन नेपाली, प्राने. प्राचीन नेपाली, दा. दार्जिलिङतिर बोलिने, अस. असमतिर बोलिने यथावत् छ तर नेपालभित्रका नेपाली स्थानीय भाषिका झल्काउने सूचना चाहिँ हटाइएको छ । मातृभाषाका शब्दमा पनि सङ्केत छ, मगर, लिम्बु, राई, मैथिली, थारु आदिबाट आएको सङ्केत छ तर भाषिकाको चाहिँ छैन । यो चाहिँ मानक हो, यो अमानक हो भन्ने थाहा हुनुपर्छ, मूल कुरा त त्यो हो नि त ।
भाषिकाका शब्दहरू पनि शब्दकोशमा आउनुपर्छ किनभने आञ्चलिक साहित्यमा ती शब्द प्रयोग हुँदै गएपछि, परिचित भएपछि त्यो मानक भइहाल्छ । तर त्यस कुरालाई विथोलियो । त्यसैले भनेको हुँ यो कोशमा भाषाका क्षेत्रमा काम गर्ने मान्छेभन्दा अरू विभागका मानिसको प्रभाव, दबाब परेको देखिन्छ ।
–प्रज्ञा शब्दकोशमा पहिलेको बृहत् शब्दकोशको ढाँचा, अर्थ त हुबहु नै राखिएको होला हैन ?
कतिपय अर्थ यथावत् नै छन्, कतिपयमा अर्थ छोट्याइएको छ । संरचनात्मक ढाँचा छँदैछ ।
–पहिलेकै शब्दकोशमा संशोधन, परिमार्जन गरेर शब्द थप्नुपर्नेमा पहिलेका शब्दकोशका सबै शब्द राखेर नयाँ सम्पादक मण्डल नै राखेर पहिलो संस्करण भनी प्रकाशन गर्नु कतिको उचित कार्य हो ?
यो कार्य मलाई पनि अनौठो लाग्यो । यसमा प्रज्ञा प्रतिष्ठानका सबै सदस्य सम्पादक मण्डल हुने कुरा नै अनौठो लाग्यो । किनभने २०४० को शब्दकोश बनाउँदा शब्द दिनेमा म पनि छु । तर सम्पादन गर्दा त्यहाँ प्राविधिक मानिसहरू थिए । बल्लभमणि दाहाल आधुनिक भाषाविज्ञानका गुरु हुनुहुन्थ्यो, प्रज्ञा प्रतिष्ठानको भाषा विभाग नै सम्हालेर बस्नुभएको बालकृष्ण पोखरेल हुनुहुन्थ्यो, वासुदेव त्रिपाठी हुनुहुन्थ्यो । उहाँहरूको टिमले काम गरेको हो । त्यो कोशको समितिको अध्यक्ष तत्कालीन उपकुलपति माधवप्रसाद घिमिरे हुनुहुन्थ्यो । तीनतिरका तीन जना मान्छेलाई उहाँले संयोजन गर्नुभएको हो । बल्लभमणि दाहाल, बालकृष्ण पोखरेल र वासुदेव त्रिपाठीलाई संयोजन गर्नु पनि ठूलो काम थियो त्यतिबेला । किनभने उहाँहरू तीन प्रकृतिका हुनुहुन्थ्यो ।
–अब प्रज्ञा नेपाली बृहत् शब्दकोशमा १०, २० हजार शब्द थपेर अर्को नयाँ सम्पादक मण्डलले नयाँ नाम दिएर शब्दकोश प्रकाशन गर्न मिल्छ कि मिल्दैन होला ? परम्परा त बस्यो नि हैन ?
त्यो कुरा मैले भन्न मिल्दैन । परिषद्ले जे निर्णय गर्छ त्यही हुन्छ त्यहाँ । परिषद्का सबै सदस्य सम्पादक मण्डल भनिएको छ २०६७ देखि नै । २०६९ मा, २०७२ मा पनि सम्पादक मण्डलको अध्यक्ष चाहिँ कुलपति हुनुहुन्छ । त्यतिबेला विभागको प्रमुख भएका नाताले म भएँ । २०७२ को कोशमा सम्पादन समिति भनेको छ, त्यसमा संयोजक म छु । त्यसमा प्रधान सम्पादक म होइन । जस्तो ४० को कोशमा कोश समिति छ तर त्यसमा संयोजक बालकृष्ण पोखरेल, विशेष सम्पादक बल्लभमणि दाहाल, वासुदेव त्रिपाठी हुनुहुन्छ । अनि अरु सहायक सम्पादक हुनुहुन्छ । उहाँहरूले काम गरेको कुरा हो त्यो ।
जो विशेषज्ञ हुन्, विशेषज्ञकै तहका दृष्टिले गर्दाखेरि त्यो पनि ठीक थियो । तर २०६७ पछि त सबै प्राज्ञ परिषद्का सदस्य सम्पादक मण्डल भएका छन् । यसले गर्दा यो कसैको जिम्मेवारी नहुने भयो । ०७५ सम्म यही चलन आएको देखिन्छ ।
प्रज्ञा नेपाली बृहत् कोश यसो हेर्दा बाहिरी रूपमा २०४० को मोडल जस्तो त देखिन्छ, प्रधान सम्पादक गङ्गाप्रसाद उप्रेती हुनुहुन्छ, त्यसपछि विशेष सम्पादकहरू हुनुहुन्छ । विशेष सम्पादकमा कि त्यही विभागभित्रको अथवा समितिभित्रको व्यक्ति भएको भए हुन्थ्यो । त्यहाँ त अरु अरु विभागका प्रमुख पनि विशेष सम्पादक छन् । भाषाको विशेषज्ञताको हैसियतभन्दा अर्कै हैसियत भएको छ त्यहाँ । २०४० को चाहिँ विशेषज्ञको हैसियतले आएको हो तर यस शब्दकोशमा चाहिँ त्यो हैसियतले आएको होइन । २०४० को विशेषज्ञता र कामकै हैसियतले आएको छ, त्यसमा अहोरात्र खट्ने गोपीकृष्ण शर्मा र कृष्णप्रसाद पराजुली हुनुहुन्थ्यो । अहिले पनि गोपीकृष्ण शर्मा त हुनुहुन्छ । विस्तृत कुरा उहाँले भन्नु होला ।
–भनेपछि प्रज्ञा नेपाली बृहत् शब्दकोश सम्पादन गर्न अझै बाँकी छ ?
अझै होइन, सम्पादन त बाँकी नै छ । यो कोश त शब्दहरू ल्याएर डोकामा राखेजस्तो मात्र देखिन्छ । कोश पल्टाएर हेरे त्यो देखिहाल्छ मैले भनिरहनु पर्दैन ।
हुन त यसमा चूडामणि बन्धु र माधव पोखरेल पनि हुनुहुन्छ । तर उहाँहरूको केही सल्लाह, सुझावअनुसार भएजस्तो मलाई लाग्दैन । किनभने कोश हेर्दै त्यो बुझिन्छ । नेपाली भाषामा यो एक किसिमले दुर्घटना नै हो । पहिले ह्रस्वदीर्घ तानातानमै अल्झिएको थियो, यो कोश भनेको ह्रस्वदीर्घ होइन, यसले नेपाली भाषाको प्रकृति र प्रवृत्तिलाई हेरेर चिन्तन, मननका आधारमा अग्रजहरूले गरेका कार्य र निर्देश गरेको अवधारणाभित्र पसेर अगाडि बढ्नुपर्ने हो । त्यहीअनुसारका शब्दहरूको चयन, प्रस्तुति हुनुपर्छ । शब्द प्रयोग गर्नेहरूले अर्थ प्रयोग गर्दा पनि यो शब्द यसमा छ कि छैन भनेर रुजु गर्नुपर्छ ।
अर्को एउटा कुरा छ । प्रज्ञा नेपाली बृहत् कोशको वर्णानुक्रम के हो भन्ने थाहा हुँदैन । समस्त शब्दको वर्णनुक्रम एक किसिमको छ, असमस्त शब्दको वर्णनुक्रम अर्कै छ । वर्णक्रमअनुसार शब्द भेट्टाउन गाह्रो हुन्छ । जस्तै टुलुटुलु, फरफर शब्द छुट्टिएको छ । २०४० को शब्दकोशमा वर्णानुक्रम समस्त होस् या असमस्त, एउटै खालको छ ।
यो कोश सम्पादनमा त धेरै काम गर्न बाँकी छ । अब आउने टिमले यो शब्दकोशमा धेरै काम गर्नुपर्ने छ । यसलाई सच्याउने, कोशवैज्ञानिक ढाँचामा लैजान धेरै काम गर्नुपर्नेछ ।