बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भीमसेन थापा गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

शनिबार, १६ पुस २०७९, ११ : २३
शनिबार, १६ पुस २०७९

गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नम्बर ६ मा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।

पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभरुपमा स्वास्थ्योपचार सेवा पुर्याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए ।

आधारभूत अस्पतालमा बहिरङ्ग, प्रयोगशाला, फामेर्सीलगायतका सेवा उपलब्ध रहेको अधिकृत अधिकारीले जानकारी दिए । त्यसबाहेक एक्सरे, आकस्मिक सेवा तथा बिमा कार्यक्रमसमेत तत्काल विस्तार गर्ने योजना रहेको उनले बताए । अस्पतालमा चिकित्सकसहित स्वास्थ्यतर्फ नर्स, स्वास्थ्य सहायक, फार्मेसी सहायक, डेन्टल हाइजिनिष्टलगायतका आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था रहेको अधिकारीको भनाइ छ ।

“यस क्षेत्रका नागरिक सामान्य बिरामी परे उपचारका लागि सदरमुकाम र सदरमुकाम बाहिर लैजानुपर्ने वाध्यता रहँदै आएको थियो”, उनले भने, “अब अस्पताल सञ्चालनमा आएसँगै उपचार सेवाका लागि  अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ ।” गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकावासीलाई आफ्नै गाउँ ठाउँमा स्वास्थ्य सेवा दिन कसर बाँकी नराख्ने प्रतिबद्धता गरेअनुसार सेवासमेत प्रारम्भ भएको उनले बताए ।

“पालिकाभित्र रहेका नागरिकलाई गाउँघर र टोलटोलमामा स्थानीय सरकारको अनुभूति दिलाउने गरी स्वास्थ्य क्षेत्रमा पनि केही नयाँ कामको थालनी गरिहाल्नुपर्छ भन्ने हाम्रो योजना थियो”, गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले भने, “तिनै योजनाअनुरुप आधारभूत अस्पताल सञ्चालन ल्याइएको हो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप