शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कथा : विदेश जाने रहर

शनिबार, १६ पुस २०७९, ०७ : ३०
शनिबार, १६ पुस २०७९

म ओछ्यानमा डङग्रङ्ग लडिरहेको छु ढोका थुनेर । मेरो नियति पनि यसरी नै थुनिएको छ । जहाँ गए पनि अभागले बाटो छेक्छ । आफू ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो भने झैँ भएको छ । 

ओहो, विदेश जाने सपनामा कति ऋण भइसक्यो, कसरी तिर्ने होला ? गाउँको घरखेत केही बाँकी छैन । बुवा पनि आजित भइसक्नु भएको छ । छोरो अमेरिका जाने भयो भनेर गाउँमा भन्नुभयो । गाउँभरि हल्ला छ, म अमेरिका गएको भनेर । 

तर यता आफू भने न समाउने हाँगो, न टेक्ने ठाउँ पाएर बिचल्लीमा छु । विदेश जाने धुनमा न पुख्र्यौली जग्गा बाँकी रह्यो, न पैसा, न त कमाइ खाने कुनै सीप सिकियो । न त पढाइ नै पूरा गरेँ । 

खाने र सुत्ने ठाउँ बडो मुश्किलले एडजस्ट भएको अस्तव्यस्त कोठा । विदेश जान सपनाको बीउ उमार्न यहाँ तीन वर्ष पहिले बस्न आएको थिएँ, महिनामा पन्ध्र सय तिर्ने गरी । समयमा पैसा तिर्न नसक्दा घरबेटीको धम्की र गाली कति खाएँ खाएँ, त्यसको हिसाब किताब छैन । त्यो अपमान सम्झेर पो के गर्नु ?

मलाई अमेरिकाप्रति घृणा लागेर आयो । क्यानडाप्रति पनि । यस्तो पनि हुन्छ । त्यति राम्रो डकुमेन्ट बनाएको, दिनेशको भिसा आयो, मेरो आएन । ठूला देशको भिसा शुल्कबाटै पैसा कमाउने दाउ पो हो कि ? नत्र किन लाखौंको भिसा रिजेक्ट गर्छन् । यिनीहरु यसै गरी गरिब देशको पैसा लैजाने रहेछन् । 

जर्मनीमा जान सजिलो छ, जर्मनी बोल्न जानेपछि काम पनि पाइन्छ भन्ने लहैलहैमा बेकार लागेछु । गाउँको जग्गा सबै सकियो, मेहनत पनि गयो । त्यति मेहनत गरेको भए । बीबीएस पास हुन्थेँ, सानो तिनो नोकरी त यहीँ पाउँथेँ नि । थुक्क मेरो बुद्धि ? भिसा आइहाल्छ किन पढ्नु भनेर पढाइ छाडेँ तर कुनै पनि देशले भिसा पत्याएन । जर्मनीमा त पक्कै भिसा लाग्छ भन्ने थियो तर...।

घँुडामा मुण्टो राखेर घुँक्क घुँक्क रोएँ एक्लै, कसलाई पो वेदना सुनाऊँ ? सबै पराया नै पराया । आमाको काखमा घोप्टिएर रुन पाए नि हुन्थ्यो । कोठाबाट बाहिर निक्लन, खाना पकाउन जाँगर छैन । मलाई किन किन सबै मानिसप्रति रिस उठ्यो । आफन्तसित पनि रिस उठ्यो । तिनीहरुले किन मलाई सहयोग गरेनन् ? मन कुँडियो । पैसा खर्च नगर्न मात्रै सल्लाह दिएको भए यो दिन त देख्न पर्दैनथ्यो । अब कुन मुखले गाउँ जाने, के काम गरेर घरजग्गा निखन्ने ?

कपडा मैला छन् । धुन मन छैन । धारामा पानी आउँछ । लिन जाने आँट छैन । कहिलेकाहीँ खान मन लाग्दा अरुको आँखा छलेर मात्र पसल जान्छु । ल्याएका खानेकुरा पनि मन नलागी नलागी मुखभित्र छिराउँछु । भोक भन्ने चिज पनि गजबकै हुँदो रहेछ, खाने कुरा भएर पनि खान सकिँदो रहेनछ । कुनै बेला ढुंगामुढा पनि खान सक्छु जस्तो लाग्थ्यो । अहिले मुखबाट गाँस छिराउँदा पेटसम्म जान पनि गाह्रो मानिरहेको छ । 

समय बित्दै गयो । एकदिन कोठाको ढोकाबाट टकटक आवाज आयो । डराउँदै डराउँदै गएर बिस्तारै ढोका खोलेँ । भानिजदाइ हाँस्दै भित्र छिर्नुभयो । मैले एकोहोरो हेरिरहेँ । उहाँले ‘के छ भाइ, सन्चै छ’ भन्दै खाटमा गएर बस्नुभयो । 

उहाँले मलाई र मेरो विवशतालाई अनि मेरो अडबाङ्गे ईच्छालाई जिस्काए जस्तो लाग्यो । धेरै दिनदेखि मेरो मनभित्र आक्रोश उम्लिरहेको थियो । त्यो पोख्न पाइरहेको थिइन । खै के भयो के, मैले आफूलाई समाल्न सकिन । मैले उहाँलाई झम्टिएछु । उहाँ छेक्दै हुनुहुन्थ्यो क्यारे । 

त्यही बेलामा मलाई बेस्सरी रुन आयो । भैमा बसेर रुन थालेँ । उहाँ आएर फकाउन थाल्नुभयो । म मज्जाले हाँसे । उहाँले खाटमा सँगै बस्न बोलाउनु भयो । म उठेर आफ्नै सर्ट च्यात्न थालें ।

हरि भान्दाइ फुत्त भागेर कोठा बाहिर निस्कनुभयो । भान्दाइ मसँग डराए भन्दै म खुसी भएँ । फेरि के के के के भन्दै बेडमै सुते ।

घरबेटीका बाउछोरा र हरि भान्दाइ मेरो कोठामा फेरि आए । म झन् डराएँ । उनीहरुले मलाई समातेर होशियारीपूर्वक मेरै लुगाले मेरा हातगोडा बाँधिदिए । म रुँदै कराउँदै थिएँ । तान्द्राङ तुन्द्रुङ पार्दै बोकेर बाहिर लगे । एकैछिनमा मलाइ ट्याक्सीले लगनखेल मानसिक रोग अस्पताल पु¥यायो । अस्पताल बसेर पन्ध्र दिनको औषधी उपचार गरेपछि बल्ल म निको भएर डिस्चार्ज भएँ ।

अस्पतालबाट निस्केकै दिन भान्दाइले मलाई घर लगिदिनुभयो । बाबु आमालाई मेरो सबै कुरा उहाँले भनिदिनुभयो । ऋणको चिन्ताले हाडछाला भएका उहाँहरु थप चिन्ताको भुमरीमा पर्नुभयो ।

डाक्टरले दुई महिना लगातार खानु भन्दै औषधी दिएका थिए । म बुवाको निगरानीमा बसेर औषधी खान थालेँ । पल्टनका जागिरे हरि भान्दाइ बिदा नमिल्ने भएर होला, भोलिपल्टै काठमाण्डु फर्कनुभयो । 

दुई महिनामा म पूर्ण रुपमा स्वस्थ भएँ । आमाबुवा खुसी देखिनु भयो । सुकेर दाउरा जस्तो भएको मेरो ज्यान अलि हेर्न हुने भयो ।

....

विदेश जान नसकेकोमा मलाई जति चिन्ता थियो, त्यो भन्दा धेरै छोरो विदेश पठाउन नसकेकोमा बावुआमालाई चिन्ता रहेछ । किनकि घरमा जो इष्टमित्र आएपनि मेरै बारेमा सोध्दा रहेछन् । गाउँलेहरुले कुरा काटेको त कति हो कति । यो कुरा मलाई थाहा थिएन । आमाले भनेर थाहा पाएँ ।

म बिरामी भएर घरमा बस्दा पनि घरमा आउनेले विदेश गयो भन्या हैन यो छोरो ? खै त यतै रहेछ त ? कि विदेश गैकन आयो ? यस्ता प्रश्नै प्रश्नले हैरान पार्थे । बुवा आमा शिर निहुराएर चुप बस्नु हुन्थ्यो । मलाई भने चिथोर्न मन लाग्थ्यो । तर त्यसो गर्न सक्दिनथेँ ।

जसरी पनि अब छोरो विदेश नै जानुपर्छ भन्ने मान्यतामा बुवाआमा पुग्नु भएको रहेछ । तर विदेश जाने मेरा सबै ढोकाहरु बन्द भइसकेका थिए । सकेजति प्रयास गरेकै हो तर भाग्यमा नभए पछि कस्से के लाग्दो रहेछ र ?

विदेश जान खोज्नु पहिला मेरो रहर थियो, अब बाध्यता बन्यो । गाउँमा बस्दा घोचपेच र छेडछाडले मलाई पुनः डिप्रेसन होला जस्तो भयो । घरबाहिर जाऊँ कोही साथी छैन । घरमा बसूँ पिरको भारीमात्रै छ । बुवाको पीडा र आमाको अवस्था देख्दा म के गरौँ भन्दै मुर्मुरिन थालेँ । त्यसबाहेक मैले गर्ने नै पो के सक्थेँ र !

म गाउँ आएको चार महिनापछि हरि भान्दाइ फेरि मलाई भेट्न आउनुभयो । म खुसी भएँ । 

भोलिपल्ट बिहान भान्दाइले लामो भूमिका बाँधेर मेरो बिहेको कुरा गर्नुभयो । उहाँले भन्नुभयो, ‘हेर भाइ जे भयो भयो, अब घरबार गर्नुपर्छ । तिमीमाथि त्यत्रो जिम्मेवारी थपिएको छ ।’

‘नाइँ दाइ, तपाईंलाई मेरो अवस्था र घरको बारेमा थाहै छ । यस्तो अवस्थामा बिहे गर्नु भनेको झन् समस्या थप्नु हो,’ मैले उहाँको कुरा नटुंगिदै इन्कार गरे । 

मेरो कुराको बीचैमा बुवाले भन्नुभयो, ‘हेर छोरा तँ अहिले सत्ताईस वर्षको भइस् । अब पनि बिहे नगरे कहिले गर्छस् ? सहरमा भान्जालाई एउटा नर्स केटीको कुरो आएछ । केटीको अस्ट्रेलिया पढ्न जाने भिसा लागेको छ रे । उ चै बिहे गरेर मात्र विदेश जाने रे । उसैको भिसाबाट लोग्ने स्वास्नीकै पिआर पनि आउँछ रे । भान्जाले तेरै लागि यो राम्रो कुरा लिएर सहरदेखि आएका हुन् ।’

म पिआर पाउने कुरामा अलि आकर्षित भएँ । मनको कुनामा विदेशको लोभ भरिभराउ छँदै थियो । मेरो ध्यान तानियो । 

भान्दाइले भन्नुभयो, ‘सुन भाइ, भिसा पाएर पनि पैसा नभएकाले यी नानी अष्ट्रेलिया जान सकिनछिन् । अब लागेको पैसा मामाले दिनुहुन्छ । जात मिल्ने, पढेलेखेकी, विदेशमा लोग्ने समेत लान सक्ने केटी हो यो । अब तँलाई अरु के चाहियो ? भन् त ।’

बुवाले अझ जोड दिदै भन्नुभयो, ‘यसले तँलाई अष्ट्रेलिया लान्छे । तँ भिसा पाएर ढुक्कले विदेश जान पाउँछस् । हामीलाई पनि गाउँले जोरीपारीका अगाडि छोरो अष्ट्रेलिया गयो भनेर नाक जोगाउन सजिलो हुन्छ । उता गएपछि एउटाले कमाको खाए पनि एउटाको कमाइ हामीलाई पठाउन सक्छस् । तेसैले बाबु तँ नाई नभन । तँ अब त्यही केटी बिहे गरेर विदेश जानुपर्छ । नत्र कसरी तिर्छस् यति धेरै ऋण ?’

बुवाको कुरा ठिकै लाग्यो । ऋण तिर्न पनि त विदेश जानै पर्नेछ । यता भिसाको झन्झट पनि नहुने र सजिलै अस्ट्रेलिया जान पनि पाइने । मैले ‘हुन्छ उसो भए म त्यही केटीसँग बिहे गर्छु ।’ भने ।

...

रमिला रहेछ उसको नाम । मैले उसको अनुहारै नहेरी विवाहका लागि हुन्छ भनिदिएँ । केटो विदेश जाने छ भनेपछि रुप नभए पनि छोरी दिने र केटी पनि राजी हुने समाजमा मलाई अष्ट्रेलिया लाने केटीको अनुहार किन हेनुप¥यो र जस्तो लाग्यो । त्यसमाथि भान्दाइले हेर्नै नहुने केटी भए किन प्रस्ताव ल्याउनुहुन्थ्यो र भन्ने विश्वास पनि भयो । 

केही इष्टमित्र र दाजुभाइहरु मात्र जम्मा भएर एक हप्ताभित्रै हाम्रो विवाह भयो । बिहे लगत्तै उनको लागि अस्ट्रेलिया जाने प्लेन टिकट, ट्राभलचेक र केही अत्यावश्यक कपडाहरु बुवाले किनिदिनुभो । विवाह भएको पाँच दिनमा मेरी श्रीमती रमिला अस्ट्रेलिया हिँडिन् । म डिपेण्डेन्ट भिसा कुरेर घरैमा बसेँ ।

उनी अस्ट्रेलिया गएपछि मेरो भिसा एप्लाई भयो । छ महिनामा भिसा पनि आयो । भिसा हातमा परेको दिन म अति नै खुसी भएँ । मेरो जिन्दगीको सबैभन्दा ठुलो सपना पूरा गरिदिएकोमा रमिलालाई फोन गरेर खुसी बाँड्दै धन्यवाद दिएँ । उनले पनि खुसी हुँदै टिकट काटेर छिट्टै आऊ भनिन् । बुवाआमाको पनि खुसीको सीमा रहेन ।

हतार हतार हरि भान्दाइलाई बोलाएर टिकटसहित आवश्यक किनमेल ग¥यौँ । हिसाब गर्दा म उड्ने दिन सम्ममा हाम्रो सम्पत्तिको नाममा परिवारका सदस्यको ज्यान मात्र बाँकी रह्यो । अरु सबै सक्किएछ । 

परिवारकै श्रीसम्पत्ति सकेर श्रीमतीसँग अस्ट्रेलिया आनन्दले बस्ने र पैसा कमाएर नेपाल पठाउने उद्देश्य राखेर आज म उड्दै थिएँ । जाने बेलामा काठमाण्डु  एयरपोर्टमा मलाई बिदाइ गर्न ससुराली र घरतिरका धेरैजना जम्मा भए । आँखाभरि अाँसु र मनभरी खुसी बोकेर जम्मा भएका सबैजना सँग बिदा भएँ ।

जहाज आकासिएर एकनासले उड्दै थियो । मेरो मन पनि उसैको रफ्तारमा विभिन्न कुरा बोकेर दौडियो । श्रीमतीसँग विदेशमा बसेर बिताउने जीवनका मीठा पलहरुको झट्का करेण्ट झैं दिमागमा बारम्बार ठोक्किए । म आनन्दित हँुदै गएँ ।

मलाई रमिला जुटाइदिने भान्दाइ र मेरा लागि सम्पत्ति त्याग गर्ने आमा बुवाप्रति ऋणी हुँदै भावी जीवनका सुन्दर योजनाहरु बुन्दै बाटो छोट्याएँ । दुबईमा पाँच घण्टाको ट्रान्जिट थियो । त्यो समेत सत्र घण्टाको पट्यारलाग्दो यात्रा सकेर मेरो सपनाको देश र मनकी रानी भेट्न अस्ट्रेलियाको ताजमेनिया एयरपोर्टमा ओर्लिएँ ।

त्यहाँको सिस्टम केही थाहा छैन । प्लेनबाट ओर्लिएर कता लाग्ने हो, त्यो पनि थाहा छैन । ट्रान्जिटमा झन्डै हराएको थिएँ, तै एउटा नेपाली भेटियो र सजिलो भयो । अब त्यहाँ को होला ? कसरी बाटो पत्ता लगाउने । जमिनमुनि र जमिन माथिको ट्रेन र बस हुँदा रहेछन् । कुन रुटमा कता जाने हो ? कसरी पत्ता पाउने । मनमा दुविधा छँदै थिए । रमिला पहिल्यै आइसकेकीले उनलाई थाहा होला भन्ने भयो । म अलिक ढुक्क भएँ । 

प्लेन ल्याण्ड गरेपछि अन्यौल र उत्साह एकै साथ आयो । आफ्नो लगेज लिएर म बाहिर निस्किएँ । रमिला मलाई पर्खेर बसेकी रहिछन् । मेरो हर्षको सीमा रहेन  । दौड्दै गएर प्रियसीलाई धित मर्ने गरी अंगालो मारेँ । आँखाबाट खुसीका बलिन्द्र धारा झरे । ‘रमिला मेरो प्राण, आज साँच्चै जीवन सार्थक भएको महसुस भयो । यो सबै खुसी तिम्रो कारणबाट प्राप्त गरेको छु । धन्य छौ तिमी ।’ मैले भनेँ ।

तर, अँगालोमा न्यानोपन पाइनँ । अपनत्व समेत थिएन । मेरा लागि यति धेरै गर्ने, जीवन सँगिनीको चिसो व्यवहारले मन अलिक सशंकित भयो । तर आफूलाई सम्हालेँ । विदेशतिर यस्तै होला भनेर चित्त बुझाएँ ।

उनले चिसो स्वरमा भनिन्, ‘कति बेर हग गरेको, अब छोड ।’

मेरो खुसीमा उनको साथ थिएन । म अचम्मित भएँ । तर मैले कारण सोधिन । फेरि मनमा कुनै शंका पनि भएन ।

सामुन्नेमा उभिएर जब म उनको आँखा नियाल्न थाले, तब उनले भनिन् । ‘राम्रैसँग आयो हैन ? बिचमा केही असजिलो त भएन नि ?’ 

मैले हाँस्दै भनेँ । ‘अहँ भएन, राम्ररी नै आएँ ।’

छोटो मौनता पछि उनले भनिन्, ‘ल जाऊँ हिँड ।’

म लगेज गुडाउँदै उनलाई पछ्याएँ । हामी पार्किङमा पुग्यौँ । त्यहाँ एकजना युवक बियमडब्लु सेडानकार लिएर बसेका रहेछन् । हामीतिर हेर्दै उनी मुस्कुराए ।

रमिलाले गाडीवाला सँग मेरो परिचय गराइन्, ‘हि इज कमल फ्रम नेपाल ।’

मैले नमस्ते गरेँ । उसले हास्ँदै भन्यो, ‘ओ नाइस टु मिट यु बाइ द वे म दिनेश, म यहीँ बस्छु । एकाउन्ट फर्म छ मेरो ।’

म उसँग थप बोल्न खोज्दै थिएँ । रमिलाले मलाई रोक्दै भनिन्, ‘कमल सुन । हि इज माइ बेष्ट फ्रेण्ड, एण्ड हि इज वयल्दी ।’

‘ओके रमिला आई एप्रिसियट । थ्यांक्स गड !’ मैले भनेँ । 

हामी सबै गाडीमा बस्यौँ । गाडीले रफ्तार लियो ।

गाडी दौडिए सँगै रमिला बोल्न सुरु गरिन् । म एकोहोरो सुनिरहेँ । 

‘सुन कमल, दिनेशजी यता आएको पन्द्र वर्ष भयो । उसलाई यहाँ नभेटेको भए म सुसाइड गरिसक्थेँ होला । जुन सुकै प्रोब्लेममा पनि मलाई उसैले बचायो ।’ म अहिले उसैको अफिसमा काम गर्छु । यहाँ आएपछि उसँग परिचय भयो ।

‘ए हो र, थ्याङक्यु दिनेशजी !’ मैले भनेँ । उत्तर आएन ।

दिनेशले एकैछिन रोकिएर भन्यो, ‘भिसाको पेपर खै रमिला ?’ 

‘अँ साँच्ची यो तिम्रो भिसा पेपर हो । लौ, यो दुई वर्षको भिसा दिनेशले उसकै अफिसबाट लगाई दिएको हो । अब मान, तिम्रो टिआर भैसक्यो ।’

दिनेशले भन्यो, ‘यो पेपर जतनले राख्नु । हरायो भने धेरै झण्झट हुन्छ ।’

रमिलाले दिएको पेपर मैले समाएँ ।

उनले एकछिन रोकिएर फेरी भनिन्, ‘अब दुई वर्षसम्म तिमीलाई अष्ट्रेलियामा काम गर्न, पैसा कमाउन कुनै समस्या हुँदैन । तर तिम्रो र मेरो विवाद हुनुहुन्न । मेरो असहमति भयो भने चैं भन्न सक्दिन । सायद तिमीलाई थाहा छैन । यो देशको कानुन महिलामैत्री छ । महिलामाथि औंला उठाउनेले जेल जानुपर्छ ।’

बेप्रसङ्गको यिनको यो कुराले म अचम्मित भएँ । तर केही बोलिन ।

भेट्ने बित्तिकै अर्काको अगाडि यी सब कुरा रमिलाले किन सुनाइन् । भेट्नासाथ यो सब कुराको जानकारी किन दिएको होला ? मनमा कुरा खेल्न थाल्यो । यत्तिकैमा हामीहरु कोठा अगाडि पुगेछौँ ।

दिनेशले हामीलाई घरको अगाडि ओरालिदिए । 

म लगेज गुडाउँदै रमिलाको पछि पछि कोठामा गएँ । कोठामा आवश्यक सबै फर्निचर थिए । ढोका खोलेर लगेज राख्नासाथ उनले मलाई रुमको बारेमा सबै कुरा बताइन् । पानी, बत्ती, फोहर, ग्यास, वासिङ मेसिन, किचन, वाथरुमको ह्याण्डलिङदेखि पैसा तिर्ने तरिकासम्म सिकाइन् । 

कोठामा उनले लगाउने जुत्ता र कपडा देखिएन । आश्चर्य मान्दै मैले सोधें,‘रमिला तिम्रो दराज कता छ त ? यो मेरो पासपोर्ट र ट्राभल चेक तिम्रो लुगा गहना सँगै जतनले राखिदेऊ न ।’

अचम्म !, उनी त रिसाउन पो थालिन् । 

‘के तिमीले मसँग तिम्रो बुवाले किनिदिएको लुगा, गहना खोजेको हो ? हो भने सुन, मलाई दिएको खर्चको सट्टा मैले तिमीलाई टिआर भिसा लगाएर यहाँसम्म ल्याइदिएकी छु । मेरै कारणले विदेश आउने तिम्रो सपना आज पूरा भएको छ ।’

‘हैन, किन रिसाकी । मैले तिमीले गरिनौ भन्या छु र ?’

उनी अझै चिच्याइन्, ‘अब मेरो सबै कर्तव्य पूरा भयो । तिमीले चाहेर पनि विदेश जान नसकेको र म पनि खर्च नभएर यता आउन नसकेको अवस्थामा तिम्रो र मेरो बिहे भएको हो । 

मैले रोक्न खोजेँ । उनी रोकिइनन्, ‘हाम्रो बिहेले हामी दुबैका आ–आफ्ना आवश्यकता पूरा भएका छन् । त्यसैले मसँग अब लोग्नेको हैसियत नखोज ।’

‘रमिला के कुरा गरेकी ? के यो सबै ड्रामा हो ?’

‘हो सत्य यही हो । अरुले त यसरी यहाँ ल्याएपछि बेवास्ता गर्छन् वा बिचल्लीमा पार्छन् । तर, मैले तिमीलाई काम र कोठाको व्यवस्था गरिदिएकी छु । यो पराइ मुलुकमा यति गर्ने मान्छे पाउनु पनि अहोभाग्य हो । अब यो कोठा तिम्रो मात्र हो । मैले एक महिनाको भाडा तिरी दिएकी छु । तिमी यही कोठामा बस्नेछौ । तिमीलाई मैले काम पनि खोज्देकी छु । यो काम गर्ने ठाउँको ठेगाना हो । भोलिबाटै काममा जान सक्छौ । राख । म अब जान्छु । यसपछि मलाई डिस्टर्ब नगर्नु ।’

मैले उनलाई जानबाट रोकेँ ।

उनी बोल्दै गइन्, ‘तिमी प्रस्ट भए हुन्छ । दिनेश मेरो श्रीमान् हो । नेपालबाट आएपछिको ब्वाइफ्रेण्ड । मलाई अब पिआर आवश्यक छ, जो उसले पुरा गर्न सक्छ ।

म आजसम्म तिम्रो उपस्थिति कुरेर बसेको हुँ । अब भोलि हाम्रो म्यारिज फाइल पेस हुन्छ । पहिला म यहीँ बस्ने भएकाले इन्क्वायरी हुन सक्छ । तिमीले कुनै कुरामा अब्जेक्सन नगर्नु । मैले जे भन्छु त्यही मान्नु । अन्यथा दुइ चार दिनमै नेपाल फर्केर जानु पर्ला ? होश पु¥याउनु ।’

मैले बोल्ने मौका नै पाइनँ ।

‘ल त बाई ! केही समस्या परेमा मलाई भन्न सक्छौ । दुःख पर्दा सम्झनु । एउटा नेपालीको नाताले मैले सकेको सहयोग तिमीलाई अवश्य गर्नेछु ।’ उनी मेरो जवाफ नकुरी सरासर हिँडिन् । 

म अब अष्ट्रेलिया आउन पाएकोमा खुसी हुनु कि दुःखी ? विदेश जाने जीवन भरिको सबैभन्दा ठूूलो रहर थियो । अनेक हन्डर खाएर सबै सम्पत्ति सिध्याएर विदेश त आएँ तर मेरो सपना अर्काको पिआरमा बिक्री भएछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप