मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

तिमी शहरिया म पाखे

शनिबार, १६ पुस २०७९, ०६ : २७
शनिबार, १६ पुस २०७९

तिमी धनाढ्यकी छोरी
मेरो प्रवल फकिरी
तिम्रो भावको मूल्य
मेरो अभावको खिसी
तिमी रहरमा पढ्छौ
म घरमा काम गर्छु
आज फेरि मैले थाकेर
पुस्तक त्यतिकै राखे
हो, तिमी शहरिया म पाखे
तिम्रो टिफिन बक्सको खाजा
मेरो च्यातिएको खल्ति खालि खालि
तिमी फर्च्यूनरकी यात्री म उकाली ओराली
कलमको निब र सुई फेर्न आउँछ मलाई
चित्र बालुवाको भुइँ केर्न आउँछ मलाई
लाजले उत्तर भन्दिनथे म आउँदा आउँदै
दिन बित्थ्यो च्यातिएको पाइन्ट छुपाउँदा छुपाउँदै
सम्हाल्नुपर्ने धेरै थिए, सम्हाली दिने कोही थिएन
त्यसैले मैले पढ्न थाँति राखे
हो, तिमी शहरिया म पाखे
तिमीले प्लेन चढ्दा
मैले रकेट बनाएको थिएँ, कागजको
तिम्रो डेरीले दिएको दूध 
मैले नै ढुंग्रोमा दुहेको हुँ
तिमी पखालिएकी ताजा 
म गनाउने र कुहिएको हुँ
तिम्रो सरल सडक, मेरो बाङ्गो बाटो
तिम्रो सिङ्गमरमरको भुइँ मेरो माटो
यसरी म अल्झिरहे, तिमी दौडिरह्यौ
चँुडिएको चप्पल गाँस्दा गाँस्दै
धुन नभ्याएको लुगा पुछ्दा पुछ्दै
नङ काट्न नभ्याएर दाँतले टोक्दा
चिसो लागेर म रातभर खोक्दा
कसैले सुन्दैन
तिम्रो नसुन्ने कोही छैन
त्यसैले तिम्रो र मेरो केही मिल्दैन
म मरुभूमिको बिरुवा
तिमी सुगम वस्तिकी बाटुली
दुनियाँको कथित ज्ञानको भण्डार 
मसँग छैन
न पूर्ण छ, न सार मसँग केही छैन
छ केही जो एकरुपता खोज्दछ
हामी एक झैं कहाँ छौ ?
जीवनको कुन तलमा, 
हामी एक रह्यौ र ?
तर पनि 
तिमी र मबिच प्रतिस्पर्धा गराउने, 
कुटिल सरकार छ
तिमीलाई बहार छ, मलाई भार छ
तिमीले ज्ञानको प्रतिस्पर्धा 
कदापी मसँग नगर्नु
तिमीले भनेजस्तै 
म अज्ञानी पाखे गँवार हुँ 
मैले यहाँ उदासीनता यत्तिकै राखे
हो, तिमी शहरिया म पाखे...।

दि रु म न पा–१५, विजयखर्क, खोटाङ्ग

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप