शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यी प्रदेश सांसदका मौलिक पोसाकले खिच्यो सबैको ध्यान, १५ तस्बिरमा हेर्नुस्

शुक्रबार, १५ पुस २०७९, २० : २०
शुक्रबार, १५ पुस २०७९

शुक्रबार सुदूरपश्चिम प्रदेशसभा परिसर नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको आगमनले उल्लासमय थियो । मंसिर ४ गते भएको प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्यहरुका लागि शुक्रबार शपथ ग्रहण कार्यक्रम राखिएको थियो ।

प्रदेशसभा सचिवालयका कर्मचारीहरु १० बजे नै कार्यालयमा पुगिसकेका थिए । शपथ ग्रहणका लागि दिउँसो १ः३५ बजेको समय निर्धारण गरिएको थियो । तर निर्धारित समयभन्दा १ घण्टा पहिलेदेखि नै नवनिर्वाचित प्रदेशसभा सदस्य, तिनका सहयोगी र शुभेच्छुकहरुले प्रदेशसभा परिसर भरियो । अनि सुरु भयो बधाई ज्ञापन र फोटो शेसन । अधिकांश प्रदेशसभा सदस्य दौरा सुरुवाल, कोटसहित नेपाली टोपीमा ठाटिएर, त कोही साडीमा सजिएर पुगेका थिए । तथापि आफ्नै परम्परागत पोसाकमा ठाँटिएर पुगेका प्रदेशसभा सदस्यतिर सबैको ध्यान एकाएक खिचियो । उनीहरुको फोटो लिने र बधाई दिनेहरुको भिड भने बेग्लै देखिन्थ्यो ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित प्रदेशसदस्य रामेश्वर चौधरी, लक्ष्मण किशोर चौधरी, कैलाश चौधरी, घनश्याम चौधरी, खुशीराम चौधरीले आफ्नै मौलिक पोसाक सेतो धोती, खुट्टामा काठको पौवा, टाउको परम्परागत टोपी लगाएका थिए । उनीहरु प्रदेशसभा परिसरमामा पाइला टेक्ने बित्तिकै सबैको केन्द्र बिन्दुमा रहे । नेपाली कांग्रेसकी समानुपातिक प्रदेशसभा सदस्य गीता कुमारी चौधरीको फोटो लिनेहरुको भिड पनि कम थिएन । आफ्नै मौलिक पोसाक लेहंगा, चोलिया, घाँटी र सिउँदोभरि चाँदीका गरगहना र त्यसमाथि कोटमा सजिएकी उनी परिसरमा उभिने बित्तिकै पत्रकार र आगन्तुकहरुको क्यामेराको निशाना बनिरहिन् ।

राप्रपाबाट प्रदेशसभा सदस्य रहेकी खेमा देवी बिष्टले पनि आफ्नो मौलिक पोसाकमा सजिएर शपथ ग्रहण गरेकी छन् । घाँघ्रा र चोलीमा निकै सुहाएकी बिष्ट पनि सबैको नजरमा परेकी थिइन् । घाँघ्रा र चोली डोटी, अछाम, बाजुरालगायतको मौलिक पोसाक हो । सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुले शुक्रबार पद तथा गोपनीयको शपथ ग्रहण गरेका छन् । सर्वप्रथम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका थिए । तत्पश्चत रावलले बाँकी ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ गराएका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप