सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

चर्को ब्याजदरविरुद्ध बुटवलका उद्योगी व्यवसायी आन्दोलित

शुक्रबार, १५ पुस २०७९, १४ : ४७
शुक्रबार, १५ पुस २०७९

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन तथा बैंकहरुको चर्को ब्याजदरविरुद्ध रुपन्देहीका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् । यसका सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघले हालै प्रदेश स्तरीय भेला गरेको थियो । उक्त भेलाले  पुस २० गतेसम्म आन्दोलनका कार्यक्रम तय गर्दै त्यतिबेलासम्म पनि आफूहरुका माग सम्बोधन नभए २२ गते काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो । 

सोही कार्यक्रम अनुसार बुटवलमा क्रियाशील विभिन्न व्यवसायिक संघसंस्थाहरुले शुक्रबार हस्ताक्षर संकलन गरेका हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको संयोजनमा रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघ बुटवल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले संयुक्त रुपमा हस्ताक्षर संकलन गरेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी दिए । 
उनका अनुसार हस्ताक्षर संकलन २१ गतेसम्म जारी रहने छ । संकलित हस्ताक्षर नेपाल उद्योग वाणिज्य महासंघ मार्फत नेपाल राष्ट्र बैंकलाई बुझाइने छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन तथा बैंक तथा वित्तिय संस्थाहरुको अव्यबहारिक नीतिका कारण उद्योगी व्यवसायीलाई जटिल अवस्थामा पुगेको उनको भनाई छ । 

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला नगर उद्योग वाणिज्य संघले हस्ताक्षर संकलन गरिरहेको प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा बताए । त्यस्तै १७ गते आईतबार कालो पट्टि बाधेर विरोध प्रर्दशन गर्ने, जनप्रतिनीधि र बैंकका प्रमुखहरुलाई राखेर व्यवसायिक वातावरण नभएसम्म व्यवसायीलाई आतंकित नबनाउन आग्रह गर्ने, १९ गते जिल्ला प्रशासन कार्यालयमा कालोपट्टिसहित धर्ना दिने र त्यसबेला सम्म पनि आफूहरूका माग सम्बोधन नभए प्रदेश उद्योग वाणिज्य महासंघसँग समन्वय गरेर काठमाडौं केन्द्रित कार्यक्रमको तयारी गर्ने कार्यक्रम तय भएको व्यवसायीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप