मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अब के गर्छन् प्रभु साह ?

शुक्रबार, १५ पुस २०७९, २१ : ००
शुक्रबार, १५ पुस २०७९

नेकपा एमाले छाडेसँगै नयाँ पार्टी गठन गरेका रौतहट ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रभु साहले परिवर्तनकारी शक्तिहरुसँग एकताको नीति लिएका छन् । त्यसका लागि साहले तीन सदस्यीय वार्ता समिति समेत गठन गरिसकेका छन् ।  बिहीबार मात्रै राजधानीमा एक भेला आयोजना गरेर साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेर ५१ सदस्यीय तदर्थ समिति घोषणा गरेका थिए । 

उनले पार्टीको सात प्रदेश समिति, ९ जनवर्गीय समिति र ६ सदस्यीय विभाग समेत गठन गरिसकेका छन् । उनलाई एमालेकै पूर्वनेता बद्री न्यौपानेले बलियो साथ दिँदा स्वतन्त्र सांसद किरणकुमार साह र अमेरशकुमार सिंहले भने साथ दिएनन् ।  नयाँ पार्टी गठन सँगसँगै साह अब कसरी अघि बढ्लान् भन्ने चासो समेत बढेको छ । यही बीचमा उनले सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहित एमालेका नेताहरूसँगको भेटघाटलाई जारी राखेको बताइएको छ । 

साहले अग्रगामी शक्तिसँग एकताको नीति लिएको सन्दर्भमा उनले भविष्यमा माओवादी केन्द्रमा पार्टी मिसाउने सम्भावना बढी रहेको निकटस्थहरुको भनाइ छ ।  पार्टीलाई व्यवस्थित बनाएपछि उनले माओवादीसँगै एकता गर्ने  एक नेताले बताए । ‘प्रधानमन्त्रीज्यूकै सल्लाहमा प्रभुजीले पार्टी खोल्नु भएको हो । यत्तिकै  प्रवेश गर्दा हैसियत हुँदैन भन्ने छ,’ ती नेताले भने, ‘पार्टी गठन गरेर सकेसम्म अरू नेताहरुलाई  समेत जोडेर माओवादीसँग एकता गर्न खोज्नु भएको छ ।’ साहले रौतहटमा स्वतन्त्र उम्मेदवारी दिएपनि माओवादीसहित तत्कालीन सत्ता गठबन्धनको समर्थन रहेको थियो । 

यसैबीच माओवादीका मधेस प्रदेशका इन्चार्ज  गणेश साहले भने  प्रभु साह माओवादीमा फर्किन मुस्किल भएको प्रतिक्रिया दिए । ‘माओवादीमा प्रवेश गर्ने भएमा यसरी पार्टी गठन गर्ने थिएनन् होला । पार्टी नै बनाएपछि आफै शक्तिशाली हुने दाउमा हुनुहुन्छ’ शाहले भने, ‘यस्तो अवस्थामा प्रभु माओवादी प्रवेश गर्ने सम्भावना देख्दिनँ ।’ 

आफ्नै नेतृत्वमा पार्टी गठन गरेर प्रभु केजरिवाल बन्न लागेको भन्दै साहले व्यङ्ग्य समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप