सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

इजरायलका स्याहार केन्द्रमा नेपाली दूतावासले थाल्यो स्थलगत भ्रमण

शुक्रबार, १५ पुस २०७९, १४ : २१
शुक्रबार, १५ पुस २०७९

ईजरायलस्थित नेपाली राजदूतावासले त्यहाँका दीर्घकालिन स्याहार केन्द्रमा स्थलगत भ्रमण थालेको छ । स्याहार केन्द्रमा भ्रमण गरेर काम गरिरहेका नेपाली कामदारको अवस्थाबारे जानकारी लिन थालेको हो ।  उनीहरूले भोग्दै आएका समस्याबारे समेत स्थलगत भ्रमणको क्रममा जानकारी लिन लागिएको दूतावासले जनाएको छ । 

दूतावासका प्रवक्ता अर्जुन घिमिरेले नेपाली सहायक कामदारले काम गर्दै आएका स्याहार केन्द्रको स्थलगत भ्रमण थालिएको बताए । पहिलो चरणमा ब्नेई बराकस्थित किङ्ग सोलोमोन नर्सिङ हाउसको स्थलगत भ्रमण गरिएको उनको भनाई छ । 

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, प्रथम सचिव अर्जुन घिमिरे सहितको टोलीले स्थलगत भ्रमण गरेको हो । भ्रमणको क्रममा टोलीले केन्द्रका म्यानेजर, नर्सिङ प्रमुख, नेपाली सहायक कामदार लगायतसँग कुराकानी गरेका थियो । 

केन्द्रमा कार्यरत १२ जना नेपाली सहायक कामदारहरूसँग कुराकानी गरेको थियो । उनीहरूसँग दैनिक कामकाज तथा समस्याबारे जानकारी लिइएको प्रवक्ता घिमिरेले बताए ।  ‘अहिलेको भ्रमणको क्रममा खासै समस्या देखिएन । अरू थप केही स्याहार केन्द्रको भ्रमण गर्छौ । केही समस्या देखिएको खण्डमा समाधान गर्छौ ।’ प्रवक्ता घिमिरेले भने । 

टोलीले स्याहार केन्द्र अन्तर्गतका विभिन्न शाखा/विभागहरूको निरीक्षण समेत गरेको थियो । साथै व्यवस्थापन टिमसँग छलफल समेत गरिएको थियो ।  इजरायलमा नेपाली श्रमिकहरुको कार्यस्थल तथा कार्य वातावरणबारे जानकारी लिने र केही समस्याहरू भए समाधानका उपायहरू पहिल्याउने उद्देश्यले स्थलगत भ्रमण गरिएको उनको भनाई छ । 

पहिलो चरणमा थप ४/५ वटा स्याहार केन्द्रको समेत भ्रमण गरिने उनको भनाई छ । नेपाल र इजरायल सरकारबीच जी टु टी सम्झौतापछि एक हजार भन्दा बढी नेपाली सहायक कामदार (केयर गिभर) इजरायल पुगेका छन् । उनीहरूले गर्दै आएको काम, भोग्ने गरेको समस्या लगायतका विषयमा स्थलगत भ्रमणको क्रममा जानकारी लिइने र समस्या भएको खण्डमा समाधानका लागि पहल गरिने प्रवक्ता घिमिरेले बताए ।  

इजरायलले स्याहार केन्द्रमा मात्र नभएर कृषि तथा निर्माण क्षेत्रमा समेत कामदार लैजाने गरी प्रस्ताव आह्वान गरेको छ । सोही आधारमा दुवै सरकारबीच गृहकार्य अगाडि बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप