बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

अम्रिसो खेतीले पर्यटनको केन्द्र बन्यो पाल्पाको काउँले डाँडा

शुक्रबार, १५ पुस २०७९, १० : ३८
शुक्रबार, १५ पुस २०७९

पाल्पाको निस्दी गाउँपालिकास्थित काउले डांँडा गाउँमा वार्षिक दुई करोडको कुचो (अम्रिसाको कुुचो) उत्पादन हुने गरेको छ । निस्दी गाउँपालिका–३, झिरुबासको काउले डाँडाबासीको जीवनस्तर नै अम्रिसो खेतीले फेरिदिएको छ । यहाँको २ सय ४६ हेक्टर क्षेत्रमा फैलिएको अम्रिसो खेतीबाट झिरुबासको मात्रै नभएर सिंगो निस्दीकै पहिचान बदलिएको छ । 

गत आर्थिक वर्षमा कुचो बेचेर यहाँका बासिन्दाले २ करोड रकम आम्दानी लिन सफल भएको र यसवर्ष पनि त्योभन्दा कम नहुने स्थानीय रामबहादुर पाटाले बताउँछन् । पछिल्लो समय काउले डाँडाको अम्रिसो खेती हेर्न आउनेको संख्या पनि दिनदिनै बढ्दै गएको छ । यो स्थान जिल्ला सदरमुकाम तानसेनबाट करिब ८० किलोमिटर पूर्वमा पर्दछ ।

काउले डाँडा आम्दानीको स्रोत मात्रै नभएर आन्तरिक पर्यटनको मुख्य आकर्षण केन्द्र समेत बनेको छ । हिजोआज यस ठाउँमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । घुम्न आउने धेरैले इलामको चिया बगन जस्तै देखिने बताएका छन । काउले डाँडामा आएपछि अम्रिसोको संसार देख्न पाइन्छ । जतासुकै अम्रिसो नै अम्रिसोको घारीले ढाकेको छ । यहाँबाट उत्तरतिर हेर्दा माछापुच्छ्रे , धौलागिरी तथा अन्नपूर्ण हिम शृङखला देख्न पाइन्छ । दक्षिणमा तराईको समथर भू-भागका साथै भारतको त्रिवेणी आसपासको क्षेत्रसम्म देख्न सकिन्छ ।

काउले डाँडा जाँदा बाटैमा पर्ने खादरको कुँडुले घर तथा आसपासको मगर बस्तीले समेत सबैको मन लोभ्याउने गरेको पाइन्छ । विशेषगरी दशैं तिहार र हिउँदको समयमा यहाँ घुम्न आउनेको भिडभाड हुने गरेको स्थानीय वीरबहादुर पाटाले बताए । आन्तरिक पर्यटक छिमेकी जिल्ला तथा पालिकाहरुबाट दिनहुँ जसो आउने गर्दछ । शनिबार तथा बिदा परेको बेला एकै दिनमा दर्जनभन्दा बढी बसमा घुम्न र बनभोज खाना आउने गर्दछन् ।

यहाँ घुम्न आउनेहरुको लागि व्यवस्थापनको जिम्मा इन्द्रेणी कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झिरुबासले लिएको छ । सहकारीले टिकट काट्न र अन्य व्यवस्थापनको लागि कर्मचारी राखेको छ । यहाँ घुम्न आउँदा बसको १ हजार रुपैयाँ लिने गरिन्छ । जीपको ५ सय र मोटरसाइकलको ५० रुपैयाँ र प्रतिव्यक्ति २० रुपैयाँ टिकट शुल्क लिने गरिन्छ । निस्दीको मात्र नभएर जिल्लाकै पर्यटन क्षेत्रको आकर्षण केन्द्र काउले डाँडा पहिले नाङ्गो डाँडा थियो । 

विक्रम सम्बत २०६७ सालमा कबुलियती वन समूह दर्ता गरेर अम्रिसो लगाएको काउले डाँडा कबुलियती वन अन्तर समूहका अध्यक्ष दमनसिंह थापाले बताए । शुरुमा १ सय १५ हेक्टर क्षेत्रमा २ सय १५ घरधुरी मिलेर अम्रिसो लगाएको अध्यक्ष थापाको भनाइ छ । हाल यो वन २ सय ४६ हेक्टरमा फैलिएको छ । झिरुबासका २ सय २७ घरधुरी आवद्ध रहेका छन । विभिन्न १८ वटा उप समूह मिलेर काम गर्दै आएको छ । पर्यटकको आकर्षण बढाउनको लागि मन्दिर तथा ठाउँ–ठाउँमा प्रतिक्षालय बनाएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा ५ सय जना क्षमता भएको सभाहल सहितको कुँडुले घर बनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप