दुबईमा अन्तर्राष्ट्रिय कार्यक्रम गर्न सम्झौता
चलचित्र विकास बोर्डले ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’को लागि बोर्ड र सूर्य कर्पोरेशनबीच सम्झौता भएको छ । पौष १४ गते, बिहीबार बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको व्यवस्थापन कर्पोरेशनलाई दिने गरी बोर्ड अध्यक्ष भुवन केसी र कर्पोरेशनका सिइओ बाशुदेव लामिछानेबीच सम्झौतामा हस्ताक्षर गरेको हो ।
संयुक्त अरब इमिरेट्सको दुबईमा आगामी सन् २०२३ फेब्रुअरी १३ देखि १५ (फागुन १-३ गते)सम्म यो कार्यक्रमको आयोजना हुँदैछ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव र चलचित्र विकास बोर्डका अध्यक्षबीचको कार्ययोजना अनुसारको बोर्डको वार्षिक कार्यक्रम अन्तर्गत निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम आयोजना हुने शीर्षकमा यो कार्यक्रम आयोजना हुन लागेको हो । यो कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना हुने अन्तराष्ट्रियस्तरको पहिलो कार्यक्रम हो ।
तीन दिनको कार्यक्रममा अरबी भाषामा सबटाईटाल गरी नेपाली चलचित्रको प्रदर्शनी, नेपालबाट जाने तथा युएईमा नै रहने कलाकारहरूको विभिन्न प्रस्तुतिहरू, युएईमा नेपाली चलचित्रको बजार विस्तार तथा छायांकन सुविधा पहलको लागि त्यहाँको सरकारका प्रतिनिधिहरू, त्यहाँस्थित नेपाली दूतावास, व्यापारी, विशिष्ट व्यक्तिहरू तथा कलाकर्मीहरूबीच अन्तर्क्रिया हुनेछ । कार्यक्रममा ‘फिल्मीङ् डेष्टिनेशन अफ नेपाल’ परियोजना अन्तर्गत गण्डकी प्रदेशको डकुमेन्ट्री दुबईका कूटनीतिक अधिकारीहरूको साथमा अरबी भाषामा सबटाइटल गरी प्रदर्शन हुनेछ ।
पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष भुवन केसीले अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रको बजार विस्तारको पहलको लागि सुरु गरिएको यो कार्यक्रम नेपाली राष्ट्रिय चलचित्र उद्योगको लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए । उनले नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको युएईमा नेपाली चलचित्रको सेन्सरमा सहजता ल्याउन, निरन्तर रूपमा चलचित्र प्रदर्शनीको वातावरण मिलाउन, नेपाल आफैँमा एक खुल्ला छायांकन स्टुडियो हो भनेर संसारलाई चिनाउन, युएई र नेपालको कला संस्कृतिको सहकार्यताको लागि यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका निभाउने उल्लेख गरे ।
बोर्डसँग युएईपछि अन्य अन्तर्राष्ट्रिय बजारमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने योजनाहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमरान खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शनका कार्यक्रम
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
-
राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
-
पर्साबाट सुनसहित एक जना पक्राउ
-
महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्राचार