७ मध्ये ४ प्रदेशमा एमाले दलको नेता चयन, क–कसले गर्दैछन् मुख्यमन्त्रीमा दाबी ?
नेकपा एमालेले सातमध्ये चारवटा प्रदेशमा संसदीय दलको नेता चयन गरेको छ । एमालेले बागमती प्रदेश सभा संसदीय दलको नेतामा केन्द्रीय सदस्य जगन्नाथ थपलियालाई चयन गरेको छ ।
एमाले बाग्मती प्रदेश सभाको हेटौंडामा बिहीबार बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । प्रदेश सभा सदस्य डा. दिनेशचन्द्र देवकोटाको प्रस्ताव र मधुसूदन पौडेलको समर्थनमा थपलिया संसदीय दलको नेता चयन भएका हुन् । थपलिया चितवन निर्वाचन क्षेत्र नं.१(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
एमालेले कर्णालीमा स्थायी कमिटी सदस्य यामलाल कँडेललाई सर्वसम्मत चयन गरेको छ । नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य विनोद शाहको अध्यक्षतामा पुस १३ गते बुधबार बसेको संसदीय दलको बैठकले कँडेललाई संसदीय दलको नेता चयन गरेको हो । प्रदेश सभा सदस्य विनोद शाहको प्रस्ताव र टेकराज पछाईंको समर्थनमा कँडेल संसदीय दलको नेता चयन भएका हुन् । कँडेल सुर्खेत निर्वाचन क्षेत्र नं. २(१) बाट निर्वाचित भएका थिए ।
त्यस्तै गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् । एमाले गण्डकी प्रदेश सभा संसदीय दलको आइतबार बसेको बैठकले अधिकारीलाई संसदीय दलको नेता चयन गरेको हो ।
उता प्रदेश–१ को प्रदेश सभा एमाले संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य हिक्मत कार्की सर्वसम्मत चयन भएका छन् । आइतबार संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले कार्कीलाई दलको नेता चयन गरेको हो ।
तिलकुमार मेयाङ्वोको प्रस्ताव र अर्का रेवतीरमण भण्डारीको समर्थनमा कार्की दलको नेतामा सर्वसम्मत चयन भएका हुन् । कार्की झापा निर्वाचन क्षेत्र नं.५(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश–१ को प्रदेश सभामा एमालेका ४० जना सदस्य छन् ।
एमालेले मधेस प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा संसदीय दलको नेता चयन गर्न बाँकी छ । सुदूरपश्चिमका एमाले प्रदेश सांसद धर्मराज पाठकले शुक्रबार सांसदहरूको शपथ ग्रहण रहेकाले शनिवार दलको नेता चयन हुने सम्भावना रहेपनि मिति तय भइनसकेको बताए । यस्तै लुम्बिनीमा १८ गतेसम्म दलको नेता चयन गरिने एमाले प्रदेश उपाध्यक्ष रहेका भोजप्रसाद श्रेष्ठले जानकारी दिए । एमाले मधेस प्रदेश अध्यक्ष ज्वाला साहले एक सातापछि मात्रै प्रदेश संसदीय दलको चयन गरिने बताइन् ।
राजनीतिमा आएको फेरबदलसँगै नेकपा एमालेले सातमध्ये ४ प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ । सत्ता साझेदार दलका शीर्ष नेताबीच भएको प्रारम्भिक छलफलमा एमालेले प्रदेश १, गण्डकी र कर्णालीका साथै बागमती तथा लुम्बिनीमध्ये एक प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहँदै आएको छ ।
एमालेले प्रदेश १ हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी गण्डकी र कर्णालीमा यामलाल कँडेललाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ । बागमती र लुम्बिनीमध्ये एकका लागि माओवादीसँग कुरा भइरहेको एमाले नेताहरूले बताएका छन् ।
बागमतीमा एमालेका तर्फबाट दलको नेतामा निर्वाचित जगन्नाथ थपलिया दाबेदार हुन् भने लुम्बिनीमा रुपन्देहीका लीला गिरी र भोजप्रसाद श्रेष्ठको मुख्यमन्त्रीमा दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय