शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्वतन्त्र उम्मेदवारको राष्ट्रिय सम्मेलन फागुनमा

बिहीबार, १४ पुस २०७९, १८ : ५६
बिहीबार, १४ पुस २०७९

स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरूको राष्ट्रिय सम्मेलन आगामी फागुन ५, ६ र ७ गते काठमाडौंमा आयोजना हुने भएको छ । स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमको आज बसेको बैठकले फागुनको पहिलो साता सम्मेलन गर्ने निर्णय गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

नागरिकको अधिकार र मुलुकको सम्बृद्धिका लागि नयाँ वैकल्पिक शक्तिहरूको एकताको सम्मेलन गर्न लागिएको सम्मेलन मूल आयोजक समितिका डा नन्द काप्रीले बताए । उनका अनुसार स्थानीय तह निर्वाचन र गत मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै हालसम्म विभिन्न स्वतन्त्र तथा वैकल्पिक राजनीतिको पक्षमा रहेका व्यक्ति, समूह र अभियानहरूबीच प्रदेश, केन्द्र हुँदै देशका विभिन्न भागमा झण्डै ८२ वटा बैठक, छलफल र अन्तरक्रिया गर्दै एकताको सम्मेलन गर्ने निर्णय भएको हो ।

उक्त सम्मेलनमार्फत देशमा राजनीतिक शुद्धीकरण, सुशासन र आर्थिक सम्बृद्धिको स्पष्ट मार्गचित्रको खाकासहित सशक्त र वैकल्पिक शक्तिको घोषणा गरिने जनाइएको छ । मुलुकमा लामो राजनीतिक घटनाक्रम हेर्दा अझै पनि मुलुकमा सुशासन र सम्बृद्धिको आकांक्षा अधुरै रहन गएको भन्दै वैकल्पिक शक्तिले त्यसको पक्षमा जनतालाई एकीकृत गर्ने दावी गरिएको छ ।

पछिल्लो निर्वाचनको मतपरिणामले पनि देशमा विकल्पसहितको परिवर्तन र नेतृत्व खोजिरहेको अनुभूति भएको तथा स्वतन्त्र उम्मेदवारले नेपालको राजनीतिमा देखाएको चासो र सहभागिताले देशमा परम्परागत विभिन्न वाद र दर्शनका नामका शक्तिबाट देशको परिवर्तन असम्भव रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्वाचनको विश्लेषण गर्दै आमनागरिकको चाहना र अबको आवश्यकतालाई मध्यनजर गर्दै सबै स्वतन्त्र उम्मेदवार, वैकल्पिक शक्तिहरू, राष्ट्रवादीहरू र प्रगतिशील सोच राख्ने सम्पूर्ण व्यक्ति समूह र अभियान एक ठाउँमा उभिन आवश्यक रहेको ठहर गर्दै सम्मेलन गर्न लागिएको सम्मेलन मस्यौदा समितिका डा बलदेव अधिकारीले बताए । साथै, सम्मेलन सफल पार्नका लागि विभिन्न ११ वटा समिति तथा उपसमित गठन गरिएको सचिवालय तथा प्रचार समितिका डम्बर साहुले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप