आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कार्यविधि विपरीत व्यक्तिगत सुरक्षामा खटिएका ५७ जना प्रहरी फिर्ता

गृह मन्त्रालयबाट ३१ चालक हेडक्वार्टर फर्किए
बिहीबार, १४ पुस २०७९, १८ : २८
बिहीबार, १४ पुस २०७९

कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थालेका छन् । प्रहरी प्रधान कार्यालयबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रूपमा खटिएका सुरक्षा अधिकारीहरू फिर्ता भएका हुन् ।

गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । बिहीबार साँझसम्म ५७ जना प्रहरी कर्मचारी फिर्ता आएको प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । डिआइजी राईले भने–‘मापदण्ड भन्दा विपरीत खटिएकाहरूलाई फिर्ता बोलाएका छौँ ।’

गृह मन्त्रालयमा प्रहरीका चालकलाई कर्मचारीहरूले आफ्नो सवारी चलाउन प्रयोग गरेका थिए । प्रहरी प्रधान कार्यालयबाट खटिएका चालकलाई गृह मन्त्रालयले फिर्ता पठाएको छ । गृह मन्त्रालयबाट ३१ जना चालक हेडक्वार्टर फर्किएको डिआइजी राईले जानकारी दिए ।

गृह मन्त्रालयमा सह–सचिव र उप–सचिवहरूको कार्यालयमा सहयोगीको रूपमा प्रहरी परिचरहरू पनि खटिएका छन् । प्रधान कार्यालय स्रोतका अनुसार केही पूर्व मन्त्रीहरूका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) हरु पनि फिर्ता भएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार ५ जना पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सहयोगीका रूपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ अनुसार पूर्व गृह मन्त्रीले १० वर्षसम्म २ जना पिएसओ र सशस्त्र प्रहरीको पछुवा गाडी पाउँछन् । पूर्व मन्त्रीले दुई वर्षसम्म १ जना व्यक्तिगत सुरक्षा अधिकृत पाउँछन् । राज्यमन्त्रीले पनि दुई वर्षसम्म पिएसओ पाउने व्यवस्था छ ।

पूर्व सुरक्षाकर्मीहरू मध्येमा एआईजी र डिआइजीहरूले पाउँदै आएको सुरक्षा नयाँ कार्यविधिमा हटाइएको छ । सुरक्षा हटाएकोमा पूर्व एआईजी र डिआइजीहरूले विरोध गर्दै आएका छन् । पूर्व प्रहरी महानिरीक्षकले ४ वर्षसम्म ५ जना र त्यसपछि आजीवन २ जना सहयोगी पाउने व्यवस्था कार्यविधिमा छ । पूर्व कर्मचारी, पूर्व सुरक्षाकर्मी  र विशिष्ट व्यक्तिहरूको सुरक्षामा ६६१ जना प्रहरी खटिएका छन् । ​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप