शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जाल ह्याक गरेर ई–सेवाबाट ठग्ने क्रम बढ्दो

​अनलाईनको माध्यमबाट ८१ लाखसम्म ठगिएको उजुरी
बिहीबार, १४ पुस २०७९, १६ : ४२
बिहीबार, १४ पुस २०७९

पछिल्लो समय मोबाइल वालेट ई–सेवा दुरुपयोग गर्दै पैसा ठग्ने क्रम बढ्न थालेको छ । सामाजिक सञ्जाल फेसबुक ह्याक गरेर मोबाइल वालेटको दुरुपयोग गर्दै प्रयोगकर्ताको पैसा चोरी हुने क्रम ह्वात्तै बढेको हो ।

ह्याकरले फेसबुक ह्याक गर्ने र ई–सेवा आइडी प्रयोग गरी इमर्जेन्सी परेको भन्दै पैसा असुल्ने गरेका छन् । तर, यसबारे कम्पनी पूर्णरूपमा जवाफदेही बन्ने गरेको छैन । ई–सेवालाई आफ्नो पैसा ह्याकरले लगेको भनेर जानकारी दिन फोन गर्दा साइबर ब्यूरोमा जानू भनेर जिम्मेवारीबाट पन्छिने गरेको छ ।

फेसबुक ह्याक गरेर ई–सेवाको दुरुपयोग गर्दै ठगिनेमा उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनासमेत परेका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्षसमेत रहेका तिमल्सिनाको फेसबुक ह्याक गर्दै गत वर्ष २०७८ मंसिरमा नजिकका साथीहरूलाई ई–सेवामा पैसा माग्दै म्यासेज जान थाल्यो । तर, तिमल्सिनाले तत्काल यसबारे जानकारी पाएलगत्तै रकम चोरी हुनबाट भने बच्यो ।

यसबारे थप बुझ्दा तिमल्सिनाले आफ्ना साथीहरूको रकम चोरी नभएकाले प्रहरीसमक्ष नपुगेको बताए । यद्यपि, यसबारे पछिल्लो समय नजिकबाट नियालिरहेको तिमल्सिनाको भनाइ छ । ‘म आफै फसेपछि यसबारे नजिकबाट नियालिरहेको छु,’ उनले भने, ‘अन्य मोबाइल वालेटको तुलामा ई–सेवाको प्रयोग बढी हुने गर्छ ।’ यसले कम्पनीको प्राविधिक पक्ष नै त्रुटीपूर्ण भएको आशंका समेत लाग्न थालेको उनले बताए ।

यस्तै, धनगढीमा बसेर पत्रकारिता गरिरहेका दीपक उपाध्यायको फेसबुक समेत ह्याक गरेर ई–सेवामार्फत पैसा मागिएको थियो । तर, उक्त समयमा मोबाइल चलाइरहेको हुँदा चिनेजानेकाहरू ठगिनबाट जोगिएको उपाध्याय बताउँछन् । उपाध्यायको फेसबुक ह्याक गरेर म्यासेन्जरमार्फत २८ हजार १०० रुपैयाँसम्म मागिएको थियो ।

फेसबुक ह्याक गरेर ई–सेवामा पैसा माग्नेविरुद्ध उपाध्याय प्रहरीकोमा पुग्दा १२ कक्षामा अध्ययनरत सप्तरीका युवा संलग्न रहेको पाइएको उपाध्यायले बताए । त्यसपछि, उनलाई प्रहरीकोमा लगेर बुबासमेत राखेर आगामी दिनमा यस्तो हर्कत नगर्ने कागजपत्र गरेर छाडेको उपाध्यायले बताए ।

यसैगरी, पत्रकार अजित अधिकारीको फेसबुक आइडी समेत ह्याक गरेर ह्याकरले चिनेजानेकाहरूसँग पैसा मागेको थियो । अधिकारीको अफिसकै सहकर्मीले ई–सेवामा २५ हजारसमेत पठाइदिएका थिए । तर, फेसबुक ह्याक भएको भन्ने जानकारी पाउनसाथ उनले कम्पनीमा फोन गरेर आफ्नो रकम होल्ड गर्न भनेपछि उक्त रकम जोगिएको अधिकारीले बताए । ह्याकरबारे साइबर ब्यूरोमा उजुरी दिएपछि ठगी गर्ने व्यक्तिको धन्दा नै ई–सेवामार्फत रकम चोरी गर्दै पटक–पटक प्रहरीकोमा पुगेको तथ्य फेला परेको थियो ।

यस्तै, काठमाडौं उपत्यकामा भाडामा कोठा खोज्नेहरूलाई समेत ई–सेवा प्रयोग गरेर ठग्ने क्रम बढेको छ । भाडामा कोठा खोजिरहेकाहरूलाई लक्षित गर्दै अनलाईनमार्फत कोठा मिलाइदिने भन्दै ठगहरूले ठग्ने गरेका छन् । यसका लागि ई–सेवा आइडीमा रकम माग्ने र पैसा पठाइसकेपछि फोन म्यासेज नै रिसिभ नगर्ने गरेका कयन घटना बाहिरिन थालेका छन् । यसमा समेत कम्पनीको खास कदम देखिँदैन ।

यसरी, ह्याकरहरूले गलत तरिकाले ई–सेवामार्फत चोरी गरिरहेका छन् । म्यासेजन्रमा कुनै विषयको लिंक पठाउने र फेसबुक ह्याक गरेपछि चिनेजानेकाहरूलाई सहयोग माग्दै ठगी गर्ने क्रम निरन्तर बढिरहेको छ । ह्याकरहरूले पैसा ठगी गर्नका लागि सहज भएकाले ई–सेवाको प्रयोग गर्दै आइरहेका छन् । तर, यसबारे ई–सेवा भने जवाफदेही नभई सिधै साईबर ब्यूरोमा जान सुझाव दिन्छ ।

के भन्छन् उपभोक्ता अधिकारकर्मी ?

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ पछिल्लो समय प्रविधिको अधिकतम दुरुपयोग गरेर उपभोक्ता ठग्ने क्रम ह्वात्तै बढेको बताउँछन् । अन्य देशमा सम्बन्धित कम्पनी र सरकार मिलेर उपभोक्ताको सुरक्षाको विषयलाई प्राथमिकतामा राखे पनि नेपालमा दुवै पक्ष यसबाट टाढा छन् । सरकारले उपभोक्ता सुरक्षाको विषयलाई बेवास्ता गरेसँगै मोबाइल वालेट कम्पनीहरू समेत यसबारे अनभिज्ञ बनिरहेको बानियाँको आरोप छ ।

‘नेपालमा जसले जसलाई जसरी ठगे पनि हुन्छ । अनलाईनमार्फत भुक्तानी गर्दा पैसा अन्तै जाने लगायतका र सामाजिक सञ्जाल ह्याक गरेर रकम असुल्ने गिरोह नै रहेको हुन सक्छ,’ बानियाँले भने, ‘पछिल्लो समय यो क्रम बढेको देख्दा ठुलै अदृश्य शक्ति उपभोक्ताको रकम ठग्न लागिरेको जस्तो देखिन्छ ।’

अनलाईनमार्फत उपभोक्ता ठगी गर्ने क्रमबारे मञ्चले नै अध्ययन गरिरहेको समेत बानियाँ बताउँछन् । उपभोक्ता अधिकारकर्मी तिमल्सिना समेत पछिल्लो समय ई–सेवा लगायतको प्रयोग गरेर उपभोक्ता ठग्ने क्रम बढेको बताउँछन् । भन्छन्, ‘मेरै सामाजिक सञ्जाल प्रयोग गरेर ई–सेवामार्फत ठग्ने प्रयास गरियो । तर, यसबारे स्वयं कम्पनी बेखबर रहन्छ र आफ्ना उपभोक्ताको रकम सुरक्षित राख्न प्रतिबद्धता जारी गर्दैन ।’

अनलाईन ठगी ह्वात्तै बढेको छ : साइबर ब्यूरो

अनलाईनको माध्यमबाट हुने ठगी हेर्दै आएको साइबर ब्यूरोका अनुसार पछिल्लो समय इन्टरनेटको प्रयोग गरेर ठग्नेक्रम ह्वात्तै बढेको छ । ब्यूरोमा अनलाईनको माध्यमबाट हुने ठगी हुँदै आइरहेको शाखाका अनुसार ठग्ने र ठगिने क्रम बढेसँगै उजुरीको चाङ लाग्न थालेको छ । विदेशी व्यक्तिहरूले नेपालीलाई प्रयोग गरेर नेपालीलाई नै ठग्ने प्रचलन बढिरहेको ब्यूरो बताउँछ ।

‘ठगिएको रकम नेपालमै रहेको समयमा उजुरी आयो भने खाता बन्द गरेर ठगिएको रकम विदेश जानबाट जोगाउन सकिन्छ,’ ब्यूरोले भन्यो, ‘रकम विदेश गइसकेको रहेछ भने फिर्ता ल्याउन सकिँदैन । ल्याउन सकिए पनि कठिन हुन्छ ।’

ब्यूरोमा १ हजार रुपैयाँदेखि ८१ लाख रुपैयाँसम्मको रकम अनलाइनको माध्यमबाट ठगी गरेको उजुरी आएको छ । ‘विदेशबाट सामान ल्याइदिने भन्दै सुरूमा एड्भान्स भन्दै ४ लाख लिएको देखिन्छ,’ ब्यूरोमा अनलाईन ठगीबारे अध्ययन गरिरहेका प्रहरीले भने, ‘त्यो रकम बढ्दै गएर ८१ लाखसम्म पुगेको छ ।’

यसमा अहिले प्रयोगमा आइरहेका मोबाइल वालेटको धेरै प्रयोग भइरहेको ब्यूरोको भनाइ छ । यस्तै, पर्ने उजुरीमध्ये सबैभन्दा धेरै ई–सेवासँग आबद्ध रहेको समेत ब्यूरोको तथ्यांक छ । पछिल्लो समय ई–सेवाको प्रयोग गरेर ठग्ने क्रम ह्वात्तै बढेको एक प्रहरी अधिकृत बताउँछन् । उनका अनुसार अनलाईन ठगीका क्रममा केही हदसम्म बैंक खाता प्रयोग भए पनि ई–सेवा लगायतका मोबाइल वालेटको धेरै प्रयोग हुने गरेको छ । तर, कम्पनीले यसलाई नियन्त्रण गर्न खास कदम नचालेको उनको भनाइ छ ।

के भन्छ कम्पनी ?

फेसबुक ह्याक गरेर ई–सेवामार्फत रकम ठगी भएपछि कम्पनीमा त्यसबारे फोन गर्दा ई–सेवा आईडीसहितको मेल गर्न भन्छ । तर, आफ्नो ई–सेवा आईडीसहित ई–सेवालाई मेल गर्दासम्म ठगले रकम अन्यत्रै ट्रान्सफर गरिसक्ने साइबर अपराधसम्बन्धी केस हेरिरहेका प्रहरीहरू बताउँछन् । प्रहरीका अनुसार तत्काल एक्सन लिइएन भने यसरी ठगिएको रकम भारतसहित अन्य देशमा ट्रान्सफर भइसक्छ । त्यसैले तत्काल त्यस्ता एकाउन्टलाई कालोसूचीमा राख्नुपर्ने प्रहरीहरू बताउँछन् ।

तर, कम्पनी भने यसबारे आधिकारिकरूपमा मेल पठाउनुपर्ने बताउँछ । यद्यपि, रकम पठाउनसाथ ठगी भएको जानकारी पाएर कम्पनीमा फोन गर्दा रकम होल्ड भने गरिदिन्छ । यसबाहेक, ठगीको केस लाग्ने भन्दै ई–सेवाले साइबर ब्यूरोमा उजुरी गर्न सल्लाह दिन्छ । यस्तै, अनलाईनमार्फत हुने ठगीलाई कम्पनीले प्राथमिकतामा राखेको समेत पाइँदैन । कम्पनीले अनलाईनको माध्यमबाट हुने ठगीबारे आफ्नो वेबसाइटमा एउटा मात्रै सन्देशमूलक जानकारी राखेको छ । ह्वाट्एपमार्फत लिंक पठाइ ई–सेवा आइडी ह्याक गरेर हुने ठगीबारे मात्रै कम्पनीको ध्यानाकर्षण भएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप