शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उखु किसानको समस्यालाई समाधान गर्न सरकारको ध्यानाकर्षण

बिहीबार, १४ पुस २०७९, १६ : ३७
बिहीबार, १४ पुस २०७९

उखु किसानको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानहरुको समस्याको सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभाका सांसदहरुले समस्याको समाधान दीर्घकालिन रुपमा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उखु किसानहरुको समस्यालाई बारम्बार बल्झाउनु नहुनेमा सांसदहरुले जोड दिएका छन् । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नगदेबालीको रुपमा रहेका उखु लगायतका बालिहरुलाई व्यक्तिगत रुपमा मात्रै लगाएमा समस्या दोहोरिइरहने बताए । उनले उखुबालीलाई सामुहिक उत्पादन गर्नुपर्ने बताए । उखु उत्पादन व्यवस्थित रुपमा नभएको भन्दै उनले उखु उत्पादनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । त्यस्तै चिनी उद्योगलाई पनि व्यवस्थित गर्नुपर्ने उनको भनाई छ । देशमा चिनीको कति खपत हुन्छ भन्ने निक्र्यौल गरेर उपभोग गर्न पुग्नेगरी देशमै उत्पादन गर्नुपर्ने उनले बताए ।  

त्यसैगरी राष्ट्रिय सभा सदस्य कमला पन्तले उद्योगीले किसानलाई समयमै रकम भुक्तानी नगर्ने गरेको भएपनि यसप्रति सरकार गम्भीर नभएको बताइन् । उनले उखु उत्पादनलाई सहकारीको माध्यमबाट अगाडि बढाउन सके राम्रो हुने धारणा व्यक्त गरिन् । निजी क्षेत्र, सरकार र सहकारी मिलेर उखु उत्पादन गर्नुपर्नेमा उनको जोड छ । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सरकारले नीतिगत निरन्तरता नदिनाले उखु किसानको समस्या समाधान हुन नसकेको बताइन् । उनले सरकार बदलिनासाथ नीति पनि बदलिने हुँदा उखु किसानको समस्या दिनप्रतिदिन बल्झिएको बताइन् । समस्या समाधानका निम्ति एउटै नीतिको निरन्तरता हुनुपर्ने उनले उल्लेख गरिन् । राष्ट्रिय सभा सदस्य भट्टले किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई कानूनी दायरामा ल्याउन र भुक्तानी दिलाउन किन रोकिएको भनि सरकारलाई प्रश्न समेत गरिन् ।  

राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले किसानहरू उखु उत्पादनका लागि प्रोत्साहित हुन नसकेको बताए । उनले देशभित्रका किसानलाई उखु खेतीमा प्रोत्साहित गर्न र देशलाई आर्थिक रुपमा सबल बनाउन देश बाहिरबाट नीति आयात हुन नदिने नीति बनाउनुपर्ने बताए । राष्ट्रिय सभा सदस्य सिंगबहादुर विश्वकर्माले किसान, उद्योगी र सरकार कसैलाई पनि मार नपर्नेगरी उखुको मूल्य निर्धारण हुनुपर्ने बताए ।  

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसानलाई उखु किसान भएरै बाँच्न दिन सरकार समक्ष आग्रह गरे । उनले देशलाई कृषि प्रधान देश भनिएपनि उद्योग प्रधान देश बनेको टिप्पणी गरे । उनले उखु किसानका धेरै समस्या रहेको भन्दै समस्या समाधानका निम्ति सरकारले चासो नदिएको बताए । सरकारले समयमै मल दिन नसकेको र उद्योगले भुक्तानी नदिने गरेको उनले बताए । अध्यक्ष मैनालीले आफूहरूले उखु शून्य मूल्यमा बेच्न बाध्य भएको बताए । अध्यक्ष मैनालीले उखु खेतीका लागि बैंकमा ऋण लिन जाँदा खेतको चिसो सकिइसकेपछि ऋण स्वीकृति हुने गरेको भन्दै सोही कारण उत्पादन बढाउन नसकिएको गुनासो गरे । उखु किसानका समस्याहरू समाधान हुन नसक्दा उखु किसान उखु खेतीबाट पलायन हुने गरेको उनको भनाई छ । उचित मूल्य नपाउँदा किसानलाई उखु खेती नगर्न आह्वान गर्नुपर्ने अवस्था आएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप