शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

देउवा र ओलीले बालुवाटार छाड्दा देखिएका दुई दृष्य

बिहीबार, १४ पुस २०७९, १९ : ४५
बिहीबार, १४ पुस २०७९

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुस १३ गते (बुधबार) बिहान साढे ११ बजे लुसुक्क प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडे । बूढानीलकण्ठमा रहेको आफ्नो निजी निवास मर्मत भइरहेकाले कांग्रेस सभापति देउवा ३ दिनपछि हिजाे मात्र बालुवाटारबाट सरेका थिए ।

कांग्रेस बाहेकको गठबन्धनको सहयोगमा पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपनि ११ र १२ गते देउवा बालुवाटारमै बसे । पुस ११ गते अपरान्ह चार बजे प्रधानमन्त्रीको सपथ लिएर प्रचण्ड निजी निवास खुमलटार नै फर्किए । देउवाको सचिवालय भने भाडाको घर खोज्न लागि पर्‍यो । १२ गते देउवाको सचिवालयले धुम्बाराहीमा भाडाको घर भेटायो । सोही दिन केसी सरसामना धुम्बाराहीको घरमा सारियो ।

देउवा भने १३ गते विहान मात्र बालुवाटारबाट सरे । धुम्बाराही गर्नुअघि बिहान ८ बजेबाट ११ बजेसम्म देउवाले राजनीतिक भेटघाट गरेका थिए । उपसभापति पूर्णबहादुर खड्का, नेता बालकृष्ण खाण लगायतका नेताहरू बालुवाटार पुगेका थिए । उनीहरू १० बजेतिर बालुवाटारबाट बाहिरिए । 

बालुवाटार छाड्दा देउवाको साथमा परिवार र सचिवालयका सदस्य मात्र थिए । देउवा बा १८ च ४८४७ नम्बरको गाडीमा बाहिरिँदा अगुवा–पछुवा गाडी मात्र थिए ।  प्रधानमन्त्रीका लागि आत्मघाती हठ राखेको भन्दै १० गत गठबन्धन भत्किँदा देउवामाथि पार्टी कार्यकर्ताको आक्रोश थियो भने कांग्रेसवृत्त सन्नाटा । त्यसको झल्को देउवाले बालुवाटार छाड्दा पनि देखियो । पार्टीभित्र प्रचण्ड बहुमत भएका देउवा एक्लियको भान हुने गरी बालुवाटारबाट बाहिरिए ।

 


 

२०७८ असार २८ मा  सत्ता गुमाएका एमाले अध्यक्ष केसी शर्मा ओली  मोटरसाइकल र्‍यालीका साथ बालुवाटारबाट बालकोट सरेका थिए । दुई-दुई पटकको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि असार ३० मा  तामझामका साथ ओली निजी निवास बालकोट फर्किएका थिए ।

बालुवाटारबाट बालकोटसम्म लैजान ओलीलाई एमालेका कार्यकर्ताहरूले स्वागत तथा स्कर्टिङ गरेका थिए । कार्यकर्ताहरूले हातमा राष्ट्रिय झण्डा बोकेका थिए भने ‘आई लभ यू केपी बा’,  ‘केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

दुई तिहाइ बहुमतको शक्ति आर्जन गरेर २०७४ फागुन ३ मा ओलीले आफ्नो सत्तारोहणलाई जति विशेष बनाए, बहिर्गमनलाई त्योभन्दा विशेष बनाएका थिए । बालुवाटारदेखि बालकोटसम्मको ओलीको यात्रा उत्सवमय थियो । बालकोटको बार्दलीबाट ओलीले मुलढोकाबाटै सिंहदरबार छिर्ने उद्‍घोष गरेका थिए ।

गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा एमालेले बहुमत प्राप्त नगरेपछि ओलीको सिंहदरबार प्रवेश रोकियो । तर ओलीको सहयोगमा प्रचण्ड साढे दुई वर्षका लागि सिंहदरबार प्रवेश भएका छन् । त्यसपछि ओली सिंहदरबार प्रवेश गर्ने सात दलीय गठबन्धनमा सहमति भएको छ । यो सहमति कार्यान्वयन भए सात पटक प्रधानमन्त्री भन्ने देउवाको ज्योतिषबाणीले फेल खानेछ । राजनीतिको उत्तरार्द्धमा रहेका देउवाको बालुवाटारबाट सुखद विदाइ अवसर मिल्ने छैन ।

देउवाका प्रेस प्रमुख गोविन्द परियार देउवाले तामझाम गर्न नदिएको बताए ।  उनले भने, ‘तामझामका साथ बालुवाटारबाट विदा हुनुपर्छ भन्ने थियो । हिजो र अस्ति बालुवाटारमा नेताहरूको भीड थियो । केही नेताहरूले केपी ओलीको जस्तो गरेर बालुवाटारबाट बाहिरिनुपर्छ भन्नु भएको थियो । तर सभापति ज्यूले त्यसो नगरौं भन्नुभयो ।’ 

यस्तै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाका अनुसार तामाझाम गर्न सभापति देउवाको आग्रह थियो । उनले भने, ‘नेतृत्वका हरेक निर्णयमा हामीसँगै हुन्छौं । विदाइ गर्नेबारे नेताहरुसँग सरसल्लाह पनि गरिएको हो । त्यो हाम्रो संस्कार होइन भन्नुभयो ।’  उनका अनुसार बालुवाटारबाट बाहिरिँदा तामझाम नगरिए पनि धुम्बाराहीको घरमा भने कार्यकर्ता भीड देखिन्छ । उनले भने, ‘म आज पनि सभापतिलाई भेटेर आएको हुँ । निवासमा भीडभाड छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप