नरभक्षी बाघ दिउँसै वस्ती पस्न थालेपछि त्रास, सतर्कता अपनाउन अपिल
![नरभक्षी बाघ दिउँसै वस्ती पस्न थालेपछि त्रास, सतर्कता अपनाउन अपिल](https://rpcdn.ratopati.com/media/albums/Tiger_KX6WubodyL.jpg)
केही सातायता बस्तीमै बाघ डुल्न थालेपछि कैलालीको दक्षिणी क्षेत्रका स्थानीय त्रसित भएका छन् । जिल्लाको कैलारी गाउँपालिका ७ र ५ नं. वडाका विभिन्न बस्तीहरूमा बाघको त्रास फैलिएको हो ।
स्थानीयले सो बाघ भारतको दुधुवा नेशनल पार्कबाट वसन्ता कोरिडोर हुँदै बस्तीसम्म पुग्नेको आशंका व्यक्त गरेका छन् । सो बाघ नरभक्षी रहेको आशंका बढेपछि झनै स्थानीयहरू त्रसित भएका हुन् ।स्थानीयका अनुसार गर्दनमा ‘बेल्ट’ जस्तो बाँधिएको बाघ केही सातादेखि गाउँ, खेततिर देखिने गरेको छ । बाघको गर्दनमा बेल्ट बाँधिएको जस्तो देखिएको वस्तु सम्भवतः ‘रेडियो कलर’ जडान गरिएको हुनुपर्छ ।
प्रायः दिनहुँ बाघ देखिन थालेपछि स्थानीय पालिकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । गाउँपालिकाको ७ नं. वडा कार्यालयले बिहीबार एक सूचना जारी गरी स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको हो । गाउँपालिकाका प्रवक्ता समेत रहेका ७ नं. वडाध्यक्ष दीपेन्द्र बमले बाघ देखिएको अवस्थामा इलाका प्रहरी कार्यालय हसुलिया, सशस्त्र प्रहरी बल पोष्ट रामपुर, सबडिभिजन वन कार्यालय वसन्ता वा वडा कार्यालयलाई तत्काल जानकारी गराउन अनुरोध गरेको बताए ।
मान्छेले खेतमा जाने क्रममा दिउँसै पनि बाघ देखेको कैलारी गाउँपालिका–७ का खेमराज चौधरीले बताए । उनका अनुसार डेढ साताअघि मात्रै सोही वडाको विपतपुरस्थित वन र कटैनी नदी क्षेत्रमा दिनभरि बाघ देखा परेको थियो । यसैगरी वसन्तास्थित उखुबारीमा पनि बाघ पुग्ने गरेको बताइएको छ । वसन्ता वन क्षेत्र नजिक बाघले छाडा गाई पनि मारेको उनको भनाइ छ । खेत जाने क्रममा केही मान्छे झन्डै बाघसँगको जम्काभेटबाट जोगिएको जनाइएको छ । गहुँ सिँचाइका लागि खेतमा जाने क्रममा बाघ देखिएको थियो । उनीहरूले होहल्ला गरेपछि बाघ अन्यत्र गएको बताइएको छ । बाघको त्रास बढेपछि साँझ पर्ने बित्तिकै वसन्ता, रामपुर, भुइँयाफाँटा, बैजपुर, विपतपुर, तिघरीलगायतका गाउँ सुनसान हुने गरेको स्थानीयले बताएका छन् ।
उक्त बाघ भारतको दुधुवा नेसनल पार्कबाट आएको स्थानीयले बताएका छन् । भारतको सीमावर्ती गाउँतिर पनि त्यो बाघ देखा परेको बताइएको छ । सीमावर्ती भारतीय गाउँ बेलापरसुवाका लल्लन कठरियाले आफ्नो गाउँको आसपास क्षेत्रमा पनि स्थानीयले बाघ देखेको बताए । उनका अनुसार केही दिनअघि भारतको सम्पूर्णनगर नजिक रहेको मरौचा गाउँका एक १५ वर्षीय किशोरलाई बाघले आक्रमण गरी मारेको थियो । त्यसपछि बाघ नरभक्षी भएको भन्दै भारतीय अधिकारीले सो बाघलाई सुध्रिनका लागि रेडियो कलर जडान गरेर दुधुवा नेसनल पार्कको सलुखापुर क्षेत्रमा छोडेका थिए ।
‘त्यो बाघ दुधुवामा नबसी गाउँतिर आइरहेको छ । अहिले गाउँतिर देखा परिरहेको बाघ सम्भवतः त्यही नरभक्षी बाघ हो । दुधुवा छोडिएको बाघ गाउँतिर आउन थालेपछि दुधुवा नेसनल पार्क आसपासका भारतीय गाउँमा पनि त्रास बढेको छ । यहाँ पनि गाउँ नजिकै खेतमा आएर गाईलाई मारेर खाएको छ’, कठरियाले भने । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. गणेश पन्तले बाघका कारण सम्भावित क्षति हुन नदिन भारतीय अधिकारी, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जिल्ला वनसँग समन्वय भइरहेको बताए । उनले भने, ‘नयाँ दिल्लीस्थित अधिकारीहरूसँग कुरा भइसकेको छ । दुधुवाका बाघमा रेडियो कलर जडान गरिएको भए पनि गाउँतिर आइरहेको बाघ नरभक्षी हो वा अरू कुनै हो, त्यो पछि मात्रै थाहा हुन्छ । हाम्रो पहिलो ध्यान मानवीय क्षति हुन नदिनु हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश
-
ट्रम्पले भारतलाई दिए यस्तो चेतावनी
-
वर्ष उत्कृष्ट न्यायाधीशबाट दुई न्यायाधीश सम्मानित
-
जसपा नेपालले बोलायो विभाग र भातृ संगठनको बैठक
-
भारतले किन खोल्न थाल्यो उत्तर कोरियामा बन्द भएको दूतावास ?
-
फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान