आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उद्धार र व्यवस्थापनमा चिडियाखानाको जोड, ११४ प्रजातिका जीवजन्तु जावलाखेलमा

बिहीबार, १४ पुस २०७९, १५ : १६
बिहीबार, १४ पुस २०७९

राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा हाल ११४ प्रजातिका जीवजन्तु राखिएको जनाएको छ । करिब छ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखाना सञ्चालनको जिम्मा २०५२ पुस १४ गतेदेखि कोषले पाएको थियो । 

२७ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा चिडियाखानाले वन्यजन्तुको उद्दार र व्यवस्थापनमा जोड दिँदै आएको जानकारी दिइयो । जसअनुसार चिडियाखानाले हालसम्म ४ हजार ५३४ वन्यजन्तुको उद्दार गरी व्यवस्थापन गरेको छ । यो वर्षमात्रै ६८२ वन्यजन्तुको उद्दार गरिएको कोषले जनाएको छ । यसवर्ष चिडियाखानाले चिम्पान्जीको आधुनिक खोर निर्माण गरी चिम्पान्जी प्रदर्शनीमा राखेको छ भने डिजिटल टिकट काट्ने व्यवस्था पनि मिलाइएको जनाइएको छ । 

चिडियाखानाले जीवजन्तुको स्वास्थ्यलाई मध्यनजर गरी प्राकृतिक वासस्थान र आहारको व्यवस्थापन गर्नुका साथै जिवजन्तुसँग सम्बन्धित अध्ययन, अनुसन्धान र चेतनामूलक संरक्षण शिक्षामा जोड दिँदै आएको छ । यसका लागि पर्यावरणीय दृष्टिकोणलाई मध्यनजर गरी जीवजन्तुको उचित वासस्थान र दर्शकहरुको सुविधाका लागि भौतिक पूर्वाधार निर्माण जस्ता कार्यहरु समेत हुँदै आएको कोषले जनाएको छ । 

यसै चिडियाखानाले विभिन्न जनचेतनामूलक कार्यहरु पनि गर्दै आएको छ । जसअनुसार ‘फ्राइड्स अफ जू’ कार्यक्रमअन्तरगत करिब ५०० विद्यालयका १ लाख विद्यार्थी सदस्य रहेका छन् । ती सदस्यहरुले शारिरीक र मानसिक विकासका साथै चेतनामूलक संरक्षण शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छन् । 

यसैबीच २७औँ वार्षिकोत्सवको उपलक्ष्यमा अन्तर विद्यालय अभिनयात्मक कविता वाचन प्रतियोगिताको साथै सदर चिडियाखानाका कर्मचारीहरुबीच मैत्रीपूर्ण खेल आयोजना गरेको गरिएको छ । 

कार्यक्रममा ललितपुुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कविता वाचन प्रतियोगितामा भाग लिने सबैलाई बधाई दिँदै विजयीहरुलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा जेसिस इन्टरनेस्नल स्कुल ‘हामी सँगसँगै हाम्रो वातावरण’ शीर्षकको कविताका साथ प्रथम भएको छ । 

सो क्रममा महर्जनले चिडियाखानाको सन्दर्भमा आफूले यसअघि नै दुई वटा बचन दिइसकेको भन्दै अरु आश्वासन नदिने बताए ।  ‘एडप्ट एन एनिमल’ अन्तर्गत सबैभन्दा महँगो बेगांल टाइगर महानगरको तर्फबाट पाल्ने पुरानो प्रतिबद्धता पुरा गर्ने उनको भनाइ छ । यस्तै  ज्येष्ठ नागरिक तथा अशक्तहरुलाई महानगरपालिकाले चिडियाखाना घुम्नका लागि सटल बसको व्यवस्था गर्ने बताए । 

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखानाका अध्यक्ष कृष्णप्रसाद ओलीले चिडियाखाना छिर्ने बाटोमा रहेको पसलहरुलाई व्यवस्थित गरिनुपर्नेमा जोड दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप