शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘हाम्रा नेताहरू आन्दोलन गर्न सफल, राज्यको रुपान्तरण गर्न असफल भए’

अहिलेको पोल्टिक्स सर्भिस डेलिभरीको पोल्टिक्स हो : तुलानारायण साह
बिहीबार, १४ पुस २०७९, १८ : २५
बिहीबार, १४ पुस २०७९

मधेस विद्रोहबाट उदाएका नेता उपेन्द्र यादव यस पटकको प्रतिनिधि सभा चुनावमा सिके राउतबाट पराजित भएका छन् । जसपा  खुम्चिएको छ, जनमत पार्टीको जबर्जस्त उदय भएको छ । मधेसको एक शक्ति केन्द्र लोसपा राष्ट्रिय पार्टी बन्नै सकेन ।

यी तमाम घटनाले मधेसको राजनीतिमा के संकेत गर्छ, अबको राजनीतिक कोर्स कसरी अगाडि बढ्छ ? लगायतका विषयमा प्रस्तुत छ, मधेस मामिलाका जानकार राजनीतिक विश्लेषक तुलानारायण साहसँग रातोपाटीका लागि एसके यादवले गरेको कुराकानीको सम्पादित अंशः 

नेपालको राजनीतिले परिवर्तन खोजेको हो भन्छन् सबैतिर । मंसिर ४ को चुनाव र प्रचण्डले प्रधानमन्त्रीमा शपथ खाएको दिनसम्मको राजनीतिलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

–पुरानै गठबन्धनको सरकार बन्छ भनी धेरैको अपेक्षा थियो । सिट संख्याको आधारमा गठबन्धन शेरबहादुर देउवाकै नेतृत्वमा हुन्छ भन्ने धेरैको बुझाई थियो । तर सबै उल्टो भइदियो । अर्को गठबन्धन बन्यो र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अपत्यारो तरिकाले प्रधानमन्त्रीको शपथ लिनुभयो । त्यसमा धेरैलाई आश्चर्य लागेको हो । 

तर हामी इमोशनल नभइकन भावनामा नबगिकन अलिकति तथ्यगत विश्लेषण गर्‍यौँ भने संख्यालाई एक ठाउँमा राखेर सम्भावित समीकरणको कल्पना गर्‍यौँ भने अप्रत्याशित परिणाम होइन जस्तो लाग्छ मलाई । 

र, यो स्वभाविक पनि हो । कुनै एउटा दलको बहुमत छैन । गठबन्धन नै जुन प्रकारले बनेको थियो, त्यसले निर्वाचनपछि जे पनि हुन सक्छ भन्ने थियो । केवल चुनावमा एमालेलाई हराउनका लागि एउटा गठबन्धन बनेको थियो । सरकार बनाउनका लागि गठबन्धन बनेको थिएन । यदि सरकारका लागि गठबन्धन बनेको भए साझा प्रधानमन्त्री हुन्थ्यो, साझा नीति तथा कार्यक्रम हुन्थ्यो । साझा एजेण्डाहरू हुन्थ्यो । 

अहिलेको चुनावमा माओवादीको जुन ३२ सिट रहेको छ, त्यो संख्याले जता पनि जान सक्छ भन्ने अनुमान पहिलादेखि नै भइरहेको थियो । तर, प्रचण्ड र केपी ओलीको चिसो सम्बन्धका कारण माओवादी एमालेसँग मिल्दैन भन्ने धेरैको बुझाई थियो । 

तर २०७० सालमा प्रचण्डलाई जसरी पनि सरकारमा जान दिनु हुँदैन भनी घेराबन्दी गरिएको थियो । त्यसबेला दुई ठूला दल काँग्रेस र एमालेले मिलेर सरकार बनाएका थिए । यसपटक पनि प्रचण्डले अलिकति ढिलो गरेको भए उहाँ पनि सरकार बनाउनबाट बन्चित हुनुहुन्थ्यो । त्यसैले अहिले भएको घटना धेरै ठूलो आश्चर्यको विषय होइन । 

राज्यको काम कारवाहीको तौरतरिकामा सुधार आएन भने जनताको आक्रोशले भविष्यमा उलट फेर गर्न सक्ला तर अहिले त्यो सम्भावना छैन । देशको प्रणाली ठिक छ तर नेताहरूमा लोकतन्त्र र राज्य सञ्चालनको संस्कार देखिएको छैन ।

सत्ता सहकार्यमा अहिले जुन घटनाक्रम अगाडि बढेको छ, त्यसलाई विभिन्न शंका उपशंकाको नजरले हेरिएको छ । यसबारे तपाईंको टिप्पणी ?

–मंसिर ४ को चुनावबाट तीनवटा शक्ति देखा पर्यो । काठमाडौंलगायत चितवन वरपर रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, मधेस प्रदेशमा सिके राउतको जनमत पार्टी, पश्चिम तराईमा थारूका बाहुल्य रहेको क्षेत्रमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको उदय भयो । र, यी तीनटा शक्तिले अलग अलग सन्देश दिएका छन् । 

थारू जनविद्रोह भएको थियो, त्यसको जनअनुमोदन नागरिक उन्मुक्ति पार्टीको उदय हो । मधेसमा लोसपा र जसपाको जुन हैकमवादी र वर्चस्वको राजनीति गर्न खोजियो, त्यसको प्रतिवादमा जनमत पार्टीको उदय भएको हो । 

सहरी क्षेत्र काठमाडौंलगायत चितवनमा राज्यले गरेको कामप्रति आक्रोश भएर स्वतन्त्र पार्टीको उदय भएको हो । यी नयाँ शक्ति आएर ठूला दलको संख्यामा थोरै तलमाथि भयो । तर काँग्रेस नै सबैभन्दा ठूलो पार्टी बन्यो । एमाले दोस्रो ठूलो पार्टी बन्यो । माओवादी तेस्रो भयो । यो पहिले देखिकै अनुमान थियो । अहिले दलीय समीकरणको आधारमा सरकार बन्यो । 

२०६२ देखि २०६५ सम्म नेपालको राजनीतिमा जुन शक्ति आयो, त्यसबाट जनताले निकै अपेक्षा गरेका थिए । अहिले पनि त्यस्तै भइरहेको छ । अहिले आएका नयाँ शक्तिबाट जनताले निकै अपेक्षा गरेका छन् । 

२०६२ देखि २०६५ को परिवर्तन र अहिलेको परिवर्तनलाई एउटै सुत्रमा हेर्न मिल्छ कि मिल्दैन ?

–मिल्दैन । २०६४ को निर्वाचनको परिणाम १० वर्षे माओवादी जनयुद्ध, मधेसलगायत विभिन्न आन्दोलनहरूको राप र तापमा त्यो आएको थियो । त्यतिबेला राज्यको पुनर्संरचना गर्नका लागि संविधानसभामार्फत् नयाँ संविधान बनाउने म्याण्डेट थियो । त्यतिबेला तीनवटा आधारभूत एजेण्डा थियो । संविधानसभाबाट संविधान बनाउने, शान्ति प्रक्रियालाई अगाडि बढाउने र सत्तामा शक्ति बाँडफाँट थिए । यी तीनटै एजेण्डा एक साथ चलेको थियो । 

तर यस पटकको निर्वाचनमा त्यो थिएन । राज्य पुनःसंरचना, संविधान निर्माणलगायतका काम भइसकेका छन् । यसपालीको चुनाव राज्यको सञ्चालन कसरी गर्ने, राज्य संरचनाको तौरतरिकालाई केन्द्रमा राखेर भएको थियो । राज्यबाट जनतालाई दिइने सेवा सुविधामा कुनै प्रगति भएको छ कि छैन, त्यो किन भएन जस्ता कुरा चुनावमा उठेको थियो । 

संघमा सत्ता सञ्चालन गरेका काँग्रेस, एमाले, माओवादीप्रतिको आक्रोश काठमाडौंलगायत चितवनतिर देखिएको थियो । त्यसको फाइदा रवि लामिछानेले लिनुभयो । मधेसमा मधेसी दलको सरकार थियो, त्यसमाथि देखिएको आक्रोशको फाइदा सिके राउतले लिनुभयो । उता थरुहटमा थारू आन्दोलनलाई लगातार दबाइरहेको र रेशम चौधरीलाई जेलमा राखेको विषयलाई आक्रोश थियो, त्यसको फाइदा रेशम चौधरीले लिनुभयो । २०६४ को चुनाव र अहिलेको चुनावमा प्रवेश र एजेण्डा फरक फरक रहेको छ । दुवैमा निकै भिन्नता छ । 

२०६२/०६३ तथा २०६५ सम्म भएको परिवर्तन अहिलेसम्म आउँदा त्यसमा क्षयीकरण भएको छ कि अहिले पनि जस्ताको त्यस्तै छ ?

–हामीले प्रचण्ड, देउवा, केपी ओलीबाट सबैको कुराको अपेक्षा गर्छौँ । सबै अपेक्षा भनेको के हो भने आन्दोलन पनि उनैले सफल पारदिऊन् अनि सत्ता सञ्चालनमा पनि उनै नेता सफल भइदिऊन् भनेको रहेको छ । 

२०६४ को चुनाव आन्दोलनको उभारमा भएको थियो । त्यो आन्दोलन राजनीतिक रुपान्तरणका लागि भएको थियो र त्यसमा सफल भएको थियो । संघीयता, गणतन्त्र, समावेशीता, धर्मानिरपेक्षता आए । समानुपातिक निर्वाचन प्रणाली अवलम्बन भयो । त्यतिबेला नागरिकता समस्या समाधानका लागि प्रयास भयो । राजनीतिक रुपान्तरण एजेण्डाको त्यो आन्दोलनलाई त्यतिबेलाका नेताहरूले हाँकेका थिए । त्यसमा उनीहरू सफल भएका हुन् । 

तर हाम्रा नेताहरू राज्यको रुपान्तरण, कामको तौरतरिका सफल पार्नमा असफल भएका छन् । अर्थात् आन्दोलन गर्न सफल भएपनि राज्य सञ्चालनमा उनीहरू असफल भएका छन् । अहिले भएको त्यही हो । त्यहीँ असफलताका कारण अन्य नयाँ शक्तिको जन्म भएको हो । अहिले देखिएको त्यही आक्रोश हो । 

सिके राउत, रेशमलाल चौधरी, रवि लामेछाने जस्ता व्यक्तिहरू संसदमा आएका छन् तर उहाँहरूमाथि विभिन्न आशंकाहरू भइरहेको छ । कसैले संघीयतामाथि खतरा देखेका छन् भने कसैले अखण्ड राष्ट्रपति नै खतरा देखेका छन्, यसमा तपाईंको बुझाई के छ ?

–लोकतन्त्रमा जब सरकारले राम्रो काम गरेन भने त्यसको विरुद्धमा जनताले अभिमत दिने हो । खास गरी स्वतन्त्र पार्टीको उदयसँगै धेरैले विभिन्न टीका टिप्पणी गरिरहेका छन् । स्वतन्त्र पार्टीको अहिलेको जुन आकार छ र काँग्रेस, माओवादी, एमालेको जुन संख्या छ, त्यसको आधारमा स्वतन्त्र पार्टीले चाँहदैमा राजतन्त्र वा अरु केही आइ हाल्छ भन्ने होइन । त्यो अहिले असम्भव नै छ । कुनै प्रकारको शंका गर्नु बेकार नै हो ।

अब हरेक पार्टीमा पुस्तान्तरण हुनुपर्छ  । काँग्रेसमा शेरबहादुर देउवा, रामचन्द्रको पुस्ता, एमालेमा केपी ओलीको पुस्ता, माओवादीमा पुष्पकमल दाहालको पुस्ताले यो देशमा केही नयाँ दिन सक्छ जस्तो मलाई लाग्दैन । त्यसैले पुस्तान्तरण हुनुपर्छ । 

यी दलहरूको दस्तावेजहरू अध्ययन गर्दा संघीयता, लोकतन्त्र, समावेशी, धर्मनिरपेक्षताप्रति त्यति स्पष्ट देखिएको छैन । त्यही भएर ती दलमाथि आशंकाहरू भइरहेको छ, होइन र ?

–किन हुनु पर्यो स्पष्ट ? संविधान बनाउने बेलामा काँग्रेस, माओवादी, एमाले, जसपा, लोसपालगायतका दलहरू थिए । उहाँहरूको केही कुरामा विमति रह्यो, केही कुरामा सहमति रह्यो तर संविधान जारी भयो । त्यो संविधानलाई स्वीकार गरेर २०७४ को चुनाव ती दलका नेताहरू लडिसक्नु भयो । 

गणतन्त्र जप्दैमा, संघीयता राम्रो हो भन्दैमा जनताको सेवा सुविधा राम्रो भएन भने त्यो संघीयता, गणतन्त्र, समावेशीले मात्र केही हुँदैन । उपलब्ध भएको कुरा नराम्रो होइन । तर त्यही जपेर आजीवन ब्याज खाने होइन नि त । सत्ता सञ्चालन गर्दै हुुनुहुन्छ भने आमजनताले सहजता महसुस गर्नुपर्छ । 

अहिलेको पोल्टिक्स सर्भिस डेलिभरीको पोल्टिक्स हो । प्रधानमन्त्रीमा शपथ लिएपछि बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले पासपोर्टका लागि बसेको लाइनलाई अन्त्य गर्नुपर्छ भनी जुन निर्णय गर्यो, त्यो सर्भिस डेलिभरी सर्भिस हो । अहिलका शक्तिहरूले पनि सर्भिस डेलिभरीको कुरा मात्र उठाएका छन् । उनीहरूले कतै पनि संघीयता चाहिदैन, गणतन्त्र चाहिदैन भनेको सुनिएको छैन । र, ती पार्टीहरूसँग त्यति संख्या पनि छैन कि नेपालमा भएको परिवर्तनलाई एकैपटक उल्टाइ दियोस् । 

राज्यको काम कारवाहीको तौरतरिकामा सुधार आएन भने जनताको आक्रोशले भविष्यमा उलट फेर गर्न सक्ला तर अहिले त्यो सम्भावना छैन । देशको प्रणाली ठिक छ तर नेताहरूमा लोकतन्त्र र राज्य सञ्चालनको संस्कार देखिएको छैन । त्यसले भविष्यमा जे पनि हुन सक्छ । नेताहरूमा दूरदृष्टिको अभाव छ । परम्परागत सोचले राज्य सञ्चालन खोजेका छन् । 

प्रणाली ठिक छ, नेता गलत छन् भने यसको मतलब पाका नेता फेर्ने बेला भइसक्यो, भन्न खोज्नु भएको हो ?

–हो अब हरेक पार्टीमा पुस्तान्तरण हुनुपर्छ  । काँग्रेसमा शेरबहादुर देउवा, रामचन्द्रको पुस्ता, एमालेमा केपी ओलीको पुस्ता, माओवादीमा पुष्पकमल दाहालको पुस्ताले यो देशमा केही नयाँ दिन सक्छ जस्तो मलाई लाग्दैन । त्यसैले पुस्तान्तरण हुनुपर्छ । 

यो कुराको संकेत तपाईकै गृहजिल्ला सप्तरी–२ बाट उपेन्द्र यादवको हारलाई उदाहरण लिन सकिन्छ त ?

–हो, एउटा संकेत त्यो पनि हो तर मधेस प्रदेशमा जनमत पार्टीको जुन उदय हो, त्यसमा गहन अध्ययन तथा विश्लेषणको आवश्यकता छ । कसरी यति छिटो जनमत पार्टीले यो मत पायो, यसको विषयमा अध्ययन हुनु आवश्यक छ । म पनि यसमा अध्ययन गर्दैछु । 

प्रारम्भिक अध्ययनले के देखायो भने उपेन्द्रजी हार्नुपर्ने व्यक्ति होइन, उहाँले सप्तरीमा पाँच वर्ष जसरी काम गर्नुभयो, त्यस हिसाबले उहाँ हार्नुपर्ने व्यक्ति होइन । किनभने उहाँ भन्दा कम काम गर्ने नेताहरू जितेका छन् । तर उहाँ पम्परागत ढंगबाट चुनाव लड्नुभयो र हार्नुभयो । उहाँले कोसँग चुनाव लड्दै हुनुहुन्छ, ध्यानै दिनुभएन । उपेन्द्रजी सप्तरी–३  बाट या सप्तरी–१ बाट लडेको भए यो नतिजा आउने थिएन । 

त्यहाँ उपेन्द्र यादवको पराजय भन्दा पनि सिके राउतको विजय भएको हो । उहाँको आफ्नो बुद्धि, विवेक, क्षमतालाई उहाँले सही रुपमा सदुपयोग गर्नुभयो । उहाँले चुनावलाई स्मार्ट तरिबाट व्यवस्थापन गर्नुभयो । उहाँसँग जातीय जनसंख्या थिएन, उहाँसँग सत्ता सञ्चालन गरेको अनुभव थिएन, उहाँसँग आर्थिक रुपमा साधन स्रोत थिएन, उहाँसँग अनुभवी कार्यकर्ता थिएनन् । उहाँलाई कसैले विश्वास गर्ने अवस्था थिएन, उहाँ आफै पनि स्थापित नेता होइन । 

यी सबैका बावजुद पनि सप्तरी–२ मा त्यत्रो मतान्तरले जित्नुका पछाडि सिके राउतको बुद्धि, क्षमता र स्मार्ट चुनावी व्यवस्थापन नै हो । सिके राउत स्मार्ट तरिकाले चुनाव लडे, उपेन्द्र यादव परम्परा तरिकाले चुनाव लडे । 

उपेन्द्रजीले विकास गर्नुभयो तर उहाँले सप्तरीमा जुन भाष्य स्थापित गर्नुभयो नि, त्यो भाष्य भित्रको अर्को लुकेको भाष्यलाई सिके राउतको कार्यकर्ताले समाते ।

तपाईले अघि भनेझैं उपेन्द्र यादवले यदि सर्भिस डेलिभरी राम्रो दिनुभएको थियो भने किन चिप्लिनु भयो त ?

–हेर्नुस्, विकासले मात्रै चुनाव जितिदैन । विकासले मात्र चुनाव जित्ने भए भारतको दिल्लीमा शीला दीक्षित कहिले हार्नु नपर्ने नेतृ हुनुुहुन्थ्यो । सबैभन्दा बढी विकास गरेको मुख्यमन्त्रीको रुपमा चिनिनु हुन्थ्यो भारतमा । तर उहाँ केजरीवालबाट हार्नुभयो । भारतमा यस विषयमा धेरै अध्ययन भएको छ । 

चुनाव जित्नु भनेको कुनै सातवटा कोर्समध्ये एउटा कोर्समा मात्र पास भएपछि उत्तीर्ण भएको नमानिए जस्तै हो । विकास कतिको गरिएको छ । जात, धर्म, समाजको परिवेश, परिवारको अवस्था, महँगाई नियन्त्रणमा उम्मेदवार वा पार्टीले कतिको भूमिका खेलेका छ । ती उम्मेदवार वा पार्टीलाई भ्रष्टाचारको मुद्दा कतिको लागेको छ, यी सबै विषयमा उम्मेदवार पास भएपछि मात्र उत्तीर्ण भएको मानिन्छ अर्थात् विकास गरेर मात्र चुनाव जितिदैन । 

उपेन्द्रजीले विकास गर्नुभयो तर उहाँले सप्तरीमा जुन भाष्य स्थापित गर्नुभयो नि, त्यो भाष्य भित्रको अर्को लुकेको भाष्यलाई सिके राउतको कार्यकर्ताले समाते । त्यही चुनावकै समयमा जसपाकै एकजना नेता जो मन्त्री पनि हुनुहुन्थ्यो । एउटा कार्यक्रममा भाषण गर्दै गर्दा आफूले गरेको कामको फेहरिस्त सुनाइरहनु भएको थियो । त्यही दर्शक दीर्घामा बसेका एकजनाले भनेका थिए– ‘विकास त गर्नुभयो तर सबैमा २० प्रतिशत कमिशन पनि लिनुभयो नि ।’ यो भनेको के हो ?

तपाईंले जोसँग चुनाव लड्दै हुनुहुन्छ, तपाईंले दिएको आधारलाई कडा रुपमा प्रतिवाद गरियो, जसको कुनै जवाफ कसैसँग थिएन । उपेन्द्रजीले विकास त गर्नुभयो तर त्यो विकासभित्र जुन भाष्य लुकेको थियो, त्यसलाई सिके राउतको कार्यकर्ताल एक्सपोज गर्दियो । उपेन्द्र यादवले विकासको भाष्य ल्याउनु भयो, सिके राउतको कार्यकर्ताले भ्रष्टाचारको भाष्य निर्माण गरिदिए । विकासको भाष्यमाथि भ्रष्टाचारको भाष्य हावी भइदियो । त्यही भएर जसपामाथि जनमत पार्टी हावी भयो ।

जसपाको आन्तरिक चुनावी समीक्षामा सरकारमा लामो समय रहेपनि जनतासँग नजोडिनु, पार्टीभित्रको आन्तरिक गुट, जनताप्रतिको जनविश्वास र खास गरी विदेशी चलखेलका कारण चुनाव हारिएको निष्कर्ष निकालिएको छ । के हो वास्तविकता ? 

–म त त्यो पार्टीमा १५ रुपियाँको सदस्यता लिएर १५ महिना बसेको मान्छे हुँ । मलाई पनि अलिकति त्यो पार्टीको बारेमा जानकारी छ । म सप्तरीकै भएको कारणले उपेन्द्र यादवको सयौं मतदातासँग कुरा गरेको छु । आफ्नो कमजोरी कसैले देखाउँदैनन् । अरुलाई दोष देखाएर पन्छिने काम मात्र गरेका हुन्छन् । 

उपेन्द्र यादवले विकास गरे तर त्यो विकासभित्रको चलखेललाई रोक्न सक्नुभएन । जसपाको पार्टीभित्रका नेताहरूको एकमत देखिएन । जुन नेतासँग कुरा गरे, उनीहरूले एक अर्कामाथि शंका गरिरहेको पाएँ । तर, जनमत पार्टीका जुनसुकै नेता तथा कार्यकर्तासँग कुरा गर्दा उनीहरूमा एकमत भएको पाएँ । कसैले कसैमाथि शंका गरेको मैले पाइन । जसपामा यस्ता धेरै कमीकमजोरीहरू देखिएका थिए । 

सिके राउतसँग १६५ मध्ये जो पनि चुनाव लडेको भए चुनाव हार्ने थिए । उपेन्द्र यादवलाई हराउन भनी विदेशीका चाहना हुन सक्छ । १५ वर्षदेखि उपेन्द्र यादव सत्ताको केन्द्रविन्दुमा रहेर बडो अक्रामक खेलाडी रहनु भयो नि उहाँ । आक्रामक भएपछि कुनै पनि देशको नजरमा पर्न सक्छन् । 

नेपालमा वैदेशिक चलखेल कस्तो रहेछ भने कुरा कसैबाट लुकेको छैन । उपेन्द्र यादवकै पार्टी पटक पटक विभाजन भएको हो । यदि यो अवस्थामा उपेन्द्र यादवलाई हराउन कुनै शक्ति लागेको हो भने यो कुनै अस्वभाविक होइन । हुन सक्छ, यो कुरालाई म इन्कार गर्न सक्दिन तर विदेशी शक्तिले सिके राउतलाई जितायो, त्यो कुरामा कुनै दम छैन । 

सिके राउतको जुन तयारी थियो, त्यसैको प्रभावबाट उहाँले चुनाव जित्नु भएको हो । केही व्यक्ति त्यहाँ पुगेर फलानो शक्ति केन्द्रको एजेन्ट हुँ र मैरै कारणले सिके राउत जितेका होलान् भनेर हल्ला गरे । त्यो उनीहरूको धन्दा हो । उनीहरू आफ्नो धन्दा गरे त्यहाँ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप