आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कसले रोक्यो नेकपा एकीकृत समाजवादी र जसपाको एकीकरण ?

बिहीबार, १४ पुस २०७९, १२ : ०८
बिहीबार, १४ पुस २०७९

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धन बनेसँगै वाम एकताको चर्चा पनि सुरु भएको छ । त्यो वाम एकतामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई ल्याउने प्रयास पनि भइरहेको छ । तर जसपा वाम एकता गर्ने भन्दा पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकीकरण गर्ने पक्षमा देखिन्छ ।

यसका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रयास पनि गरेका हुन् तर सो पार्टीका संघीय परिषद्का अध्यक्ष अशोक राईले सहमति नजनाएपछि तत्कालका लागि सो प्रक्रिया स्थगित भएको हो । प्रतिनिधि तथा प्रदेशसभाको चुनावअघि नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपाका अध्यक्ष यादवबीच एकीकरणका लागि छलफल भएको थियो तर चुनावको कारण त्यसलाई स्थगित गरिएको थियो ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा एकीकृत समाजवादीको तर्फबाट एकताका लागि प्रस्ताव आएको तर ठोस रुपमा त्यो कुरा अगाडि नबढेको बताए । अहिले नेकपा एकीकृत समाजवादी र एमालेबीच एकीकरणको कुरा भइरहेको हुनाले यता कुनै कुरा अगाडि बढ्छ जस्तो आफूलाई नलागेको पनि उनले बताए ।

नेकपा एकीकृत समाजवादी स्रोत अनुसार एकीकरण संवादलाई चुनावलगत्तै अगाडि बढाउने सहमति अध्यक्ष नेपाल र अध्यक्ष यादवको बीचमा भएको थियो । चुनाव सकेपछि जसपाका अध्यक्ष यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच संवाद पनि भयो । उनीहरुको बीचमा तीन चारपटक यस विषयमा छलफल भएर सकारात्मक रुपमै कुरा अगाडि बढिरहेको अवस्थामा जसपा संघीय परिषद्का अध्यक्ष राईले सो एकीकरणमा सहमति नदिएपछि त्यो तत्कालका लागि रोकिएको हो ।

नेकपा एकीकृत समाजवादीका एक नेताले भने, ‘अशोक राईले एमालेसँग सम्बन्ध बिगार्न चाहनु भएको छैन, माधव नेपालको पार्टीसँग एकीकरण गरेपछि एमाले रिसाउने डर उहाँमा छ । त्यही भएर उहाँले हामीसँग एकीकरणका लागि उपेन्द्र यादवलाई रोक्नुभयो ।’

अहिले नेपालको राजनीतिले नयाँ कोर्स लिएको कारण यी सबै कुरा स्थगित रहेको उनले बताए । वाम एकताका लागि छलफल भइरहेको र त्यसमा जसपालाई पनि सामेल गराउने प्रयास भइरहेको स्रोतले दाबी गरेको छ । वाम एकतामा जसपालाई सामेल गराउन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि कुराकानी गरिसकेका छन् । तर उपेन्द्र यादव वाम एकताका लागि सकारात्मक देखिएका छैनन् ।

हिजोदेखि एमाले र नेकपा एकीकृत समाजवादीबीच सम्बन्ध सुधारका लागि पहल भएको छ । सके पार्टी एकता, नभए सहकार्यमा जान सक्ने गरी दुई पार्टीबीच छलफल सुरु भएको स्रोत बताउँछ । त्यसका लागि एमालेका उपाध्यक्ष विष्णु पौडेलदेखि लिएर पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरुले अध्यक्ष नेपाललाई भेटेर कुराकानी गरिसकेका छन् । बुधबार एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेट गराउने प्रयास भए पनि सम्भव भने भएन । बुधबार प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र एमाले अध्यक्ष ओलीबीच छुट्टाछुट्टै छलफल गरेका थिए ।

एमाले वा जसपासँग एकीकरण गर्ने कि एकैपटक वाम एकता गर्ने विषयमा नेकपा एकीकृत समाजवादीभित्र पनि छलफल सुरु भएको छ । बुधबार मात्र अध्यक्ष नेपालले काठमाडौँमा उपलब्ध पदाधिकारीसँग छलफल गरे भने बाहिर रहेका नेताहरुसँग भर्चुअल संवाद गरेका छन् । यस अवस्थामा नेकपा एकीकृत समाजवादी र जसपा बीचको एकीकरणको सम्भावना टाढिएको नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप