बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा

बिहीबार, १४ पुस २०७९, ०९ : ४८
बिहीबार, १४ पुस २०७९

आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । 
नेपालमा एक सय २५ औषधि उद्योग दर्ता भएका छन् । जसमध्ये ८३ उद्योगका औषधि बजारमा आइसकेका छन् ।

नेपाल औषधि उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीका अनुसार नेपालमा एउटा औषधि पाँच उद्योगले उत्पादन गरेकालाई आयात रोक्दा मात्रै पनि दुई सयभन्दा बढी प्रकारका औषधि रोकिन्छन् ।

उनको भनाईमा २० वर्षअघि बङ्गलादेशले दुई कम्पनीले उत्पादन गरेका औषधि विदेशबाट आयातमा रोक लगाएको थियो । जसको नतिजास्वरुप अहिले बङ्गलादेश आत्मनिर्भर मात्रै होइन, निर्यातमा पनि अग्रणी बनेको छ ।
 
भारत लगायतका देशले पनि आफू आत्मनिर्भर भएका औषधि आयातमा रोक लगाउने गरेको अधिकारीले बताए । विश्व बजारमा पहिलो चीन र दोस्रो भारत सबैभन्दा बढी औषधि उत्पादन गर्ने मुलुक भएको व्यवसायी बताउँछन् ।
 
यसअघि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले ३० प्रकारका औषधि आयातमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि कार्यान्वयन नभएको अधिकारी बताउँछन् । उनले भने “सरकारले उद्योग बच्ने गरी निर्णय गर्नुपर्छ ।”
 
नेपालमा पाँचवटा उद्योगले उत्पादन गरेको औषधि आयातमा प्रतिबन्ध लगाएमा दुई वर्षभित्रमा ९५ प्रतिशत आत्मनिर्भर हुने अधिकारीको भनाइ छ । अहिले बनाउन सक्ने क्षमताको हिसाबले ७० प्रतिशत र बजारको हिसाबले ४५ प्रतिशत आत्मनिर्भर भएको उनी बताउँछन् । अधिकारीले भने, “आयात रोक्न सकियो भने अहिले नै हामी ७० प्रतिशत आत्मनिर्भर हुन्छौँ ।”
 
विसं २०७४ मा ५० उद्योग मात्रै रहेकामा त्यसपछिका वर्ष एकाएक उद्योग थपिएका हुन् । अधिकारी थपिएका सबै उद्योगलाई एउटै औषधि उत्पादनको अनुमतिको सट्टा फरक–फरक औषधि उत्पादनको अनुमति दिनुपर्ने बताउँछन् ।
 
सङ्घका निवर्तमान अध्यक्ष डा जीनारायणबहादुर क्षेत्री आवश्यकभन्दा दोब्बर औषधि उत्पादन गर्न सकिने क्षमता उद्योगमा रहेको बताउछन् । औषधि उद्योगमा मात्रै रु ५० अर्बभन्दा बढी लगानी भइसकेको उल्लेख गर्दै उनले उद्योगको पक्षमा सरकार हुनुपर्ने बताउनुभयो । नेपालमा खपत हुने आधाभन्दा बढी औषधिमध्ये ९० प्रतिशत भारतीय आउने गर्दछ । दश प्रतिशत बङ्गलादेशलगायत  देशबाट आयात गर्ने गरेको क्षेत्री बताउँछन् ।
 
क्षेत्रीका अनुसार एक वर्षमा रु ३० देखि रु ४० अर्ब औषधिका लागि विदेशिने गरेको छ । नेपाली औषधि उद्योगले रु ३० अर्ब हाराहारीको व्यापार गर्ने गरेका छन् । नेपालमा पर्याप्त उत्पादन भइरहेका औषधिको आयात तत्काल रोक्नुपर्ने उनी बताउँछन् ।
 
उद्योग स्थापनाका लागि आवश्यक पर्ने सामग्रीमा भन्सार छुट, सरल व्याजदरमा ऋण, विशिष्टकृत औषधिको उत्पादन गर्नेलाई प्रोत्साहन, अनुसन्धानमा सरकारी लगानी हुनु पर्ने क्षेत्रीको भनाइ छ । नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने उनी बताउँछन्। सरकारले सहयोग गरेमा नेपाली उत्पादनले नेपाललाई मात्रै नभएर विदेशमा समेत पु-याउन सकिने क्षेत्रीको भनाई छ ।
 
पच्चीस वर्ष पहिला क्षेत्रीको नेतृत्वमा गैँडाकोटमा स्थापना गरिएको टाइम्स फर्मासिटिकल्स प्रालिले विदेशमा औषधि निर्यात गर्न लागेको भन्दै उहाँले सहज वातावरण बनेमा सबै उद्योगले निर्यात गर्नसक्ने बताए । अहिलेसम्म नेपालमा खोपबाहेकका औषधि उत्पादन हुँदै आएका छन् । उत्पादनमा कठिन हुने औषधिसमेत यही उत्पादन गरेर देशलाई आत्मनिर्भरतर्फ लैजानुपर्ने क्षेत्रीको भनाइ छ ।
 
मुटु, क्यान्सरलगायतका रोगका औषधिसमेत यही उत्पादन हुन थालेको छ । पछिल्लो समय ठूलो लगानीमा खुलेका उद्योग आयात नरोकिए धरासायी हुने क्षेत्री बताउँछन् । उनले भने, “सरकार निजी क्षेत्रमैत्री हुन नसक्दा उद्योग धरासायी हुने अवस्थामा पुगेका छन् ।” चर्को ब्याजदर र विदेशी कम्पनीसँग अस्वस्थ प्रतिस्पर्धाको मारमा नेपाली उद्योग रहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप