शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘प्रचण्ड जब बालकोट जानुभयो, आधा घण्टामै धेरै कुरा सल्टियो’

केपीको सन्देश प्रचण्ड र माधवलाई मैले पुर्‍याएको हो : महेश बस्नेत
बिहीबार, १४ पुस २०७९, १८ : ००
बिहीबार, १४ पुस २०७९

नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले एमाले, माओवादी र नेकपा समाजवादी पार्टीबीच बृहत एकता गर्नेगरी गृहकार्य भइरहेको बताएका छन् । उनले पार्टी एकताकै गृहकार्यअनुसार अहिलेको सत्ता गठबन्धन र सरकार बनाइएको दाबीसमेत गरे ।

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसहित माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई आपसमा भेटाउनेदेखि उनीहरुसँग बारम्बार संवादको भूमिकामा सक्रिय छन् बस्नेत । विगतको शिक्षा र पाठबाट सिक्दै कम्युनिस्टहरु एक नहुने हो भने मुलुकको विकास र समृद्धि रोकिने भएकाले नै आफ्नोस्तरबाट गठबन्धन र एकताका लागि लागेको उनको भनाइ छ ।

‘निर्वाचनपछिका परिघटनालाई समीक्षा गरेर हामी अघि बढेनौं भने भड्खालोमा फस्छौं भन्ने अनुभूति म लगायत धेरै साथीहरुलाई लागेको हो’, एकताको प्रयत्नमा लागेका बस्नेत भन्छन्, ‘यो अनुभूतिपछि वामपन्थीहरुको गठबन्धन बनाउने र फेरि वामपन्थी एकतालाई अगाडि बढाउने हो ।’

विगतमा भएका कमी कमजोरीलाई सुधारेर नयाँ शिराबाट जानुपर्छ भन्नेमा एमालेभित्र ठुलो पंक्ति रहेको भन्दै उनले पछिल्लो गठबन्धनका लागि अन्य नेताहरु पनि लागेर नै नयाँ गठबन्धनको प्रधानमन्त्री बन्न प्रचण्ड सफल भएको बताए । प्रस्तुत छ, नयाँ समीकरण, नयाँ सरकार र कम्युनिस्ट एकताबारे उनीसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :

राजनीतिक समीकरण बदलिने क्रम जारी छ । एमाले र माओवादी मिलेर नयाँ सरकार बनेसँगै छिनछिनमा घटनाक्रमहरु परिवर्तन हुँदै गएका छन् । पार्टी एकताको गृहकार्यमा पनि नेताहरु लागेका छन् भनिन्छ र घटनाक्रम बदल्ने भूमिकामा तपाईं पनि जोडिएको समाचार छन् । कसरी यो वातावरण बन्न सम्भव भयो ?

नेकपाको एकता सकारात्मक ढंगले अघि बढिरहेको अवस्थामा र तत्कालीन निर्वाचनमा हामीले झण्डै दुई तिहाइको मत प्राप्त गरेर लोकप्रिय सरकार चलाइरहेका बेलामा जुन विभाजन बेहोर्नुप¥यो, त्यो विभाजनले नेपाली जनतामा ठुलो निराशा छाएको देखियो । साथै मुलुक अराजकतातर्फ जान खोजेको, विचार, सिद्धान्त, मूल्य–मान्यताका आधारमा दलका नेता र कार्याकर्ताहरु अघि बढ्ने र जनताले त्यही आधारमा समर्थन र विरोध गर्ने प्रवृत्ति राजनीतिमा हुनुपर्थ्यो । तर पद, प्रतिष्ठा र अवसरका लागि नेता कार्यकर्ता र पार्टीहरु विभाजित हुने र जनताले बाध्यतावस स्वीकार्नुपर्ने परिस्थिति सिर्जना हुन थाल्यो ।

वामपन्थी पार्टी विभाजन र गएको निर्वाचनलाई गम्भीर रुपले समीक्षा गर्ने हो भने एमाले एक्लैले ल्याएको मत सबै वामपन्थीको जोड्दा पनि नहुने स्थितिमा हामी पुग्यौं । जसको लाभ कांग्रेस र अन्य अराजकता वा पुँजीवादी दलले प्राप्त गर्ने स्थिति बन्यो ।

यो अवस्थामा निर्वाचन पछिका परिघटनालाई समीक्षा गरेर हामी अघि बढेनौं भने भड्खालोमा फस्छौं भन्ने अनुभूति म लगायत धेरै साथीहरुलाई लागेको हो । यो अनुभूतिपछि वामपन्थीहरुको गठबन्धन बनाउने र फेरि वामपन्थी एकतालाई अगाडि बढाउने । विगतमा भएका कमी कमजोरीलाई सुधारेर नयाँ शिराबाट जानुपर्छ भन्नेमा एमालेभित्र ठुलो पंक्ति थियो । त्यो आधारमा हामी जोजो साथीहरु थियौं, आ–आफ्ना ढंगले भूमिका निर्वाह गर्‍यौं ।

त्यस क्रममा केपी, प्रचण्ड र माधव कमरेडसँग भित्रभित्र धेरै चरणमा बसेर, छलफल गरेर एउटा साइडबाट मुर्तता लिने अवस्था बन्यो । अर्कोतिर अघिल्लो गठबन्धन अप्राकृतिक हो, लामो समय जाँदैन भनेकै थियौं । त्यो पनि पुष्टि भयो । कांग्रेसभित्र घमण्ड पलायो र कम्युनिस्टहरुको टाउकोमा टेकेर आफूमात्रै अघि बढ्न खोज्यो भन्ने अनुभूति पनि उहाँहरुलाई भइदिएकाले दुवै कुरा मिल्न गएर आजको परिवेश सिर्जना भयो ।

यो बीचमा तपाईले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि भेट्नुभयो ?

उहाँलाई मैले दुईतीन पटक भेटेँ । आजै बुधबार पनि भेट्ने मौका प्राप्त भएको थियो । त्यसक्रममा उहाँको पार्टीका केही साथी र हामी बसेर विश्लेषण गर्‍यौं । हामीले उहाँलाई भेट्नुका केही कारण छन् । जस्तो वामपन्थीहरुको बीचको एकतामा पनि एमालेको विशेष भूमिका हुनुपर्छ भन्ने मान्यता हो । किनभने एमाले वामपन्थीमध्येको ठुलो दल भएको नाताले मात्रै होइन कि सही विचार, मूल्य र मान्यता पनि बोक्ने दल भएकाले नेतृत्व गर्नुपर्छ भनेको हो ।

यस सन्दर्भमा हिजोका विभाजनका पीडाहरुलाई बेहोर्नु पनि पर्छ । हामीसँग विभाजनका धेरै पीडा छन् । स्थानीय निर्वाचनमा हामी दोस्रो दल बन्यौं, त्यस क्रममा झण्डै २ सय भोट नपुग्दा ५० सिट हारेका छौं । अहिले पनि हजारभन्दा कम भोटले ३० निर्वाचन क्षेत्रमा हारेका छौं, यसमा पार्टी विभाजन प्रमुख कारण देखिन्छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट एक खालको पाठ सिक्ने कुरा एकातिर छ भने महेश बस्नेत आफै हारेकाले यो काममा लाग्यो भन्ने पनि छन् नि ?

होला, मेरो पराजयका कारण पनि मलाई शिक्षा वा ज्ञान प्राप्त भयो नै होला । पार्टी विभाजन भइरहेको सन्दर्भमा आफ्नो पार्टीलाई स्थापित गर्न नेताहरुमाथि भएको प्रहार वा गाली गलौजलाई छेक्नुपर्ने सन्दर्भमा इमानदार कार्यकर्ताको हिसावले डिफेन्स गर्ने मेरो स्वभाव नै हो, गर्नैपर्छ । तर मेरो स्वभाव र भूमिका जहिले पनि एकताकै पक्षमा हो । कतिपय अवस्थामा त्यो भूमिका प्रस्फुटन गर्न नसकेको पनि हुनसक्छ तर निर्वाचनपछि मैले अलि बढी समय पनि पाएकाले अरु बढी सक्रियता बढाउन सकेको पनि हुनसक्छ ।

एमाले र माओवादी एकीकरण नै हुने हिसावले तपाईहरुले भूमिका बढाएको हो ?

शुभेच्छा हो । माधव कमरेड र हामीबीच मात्रै एकता हुने हो भने पनि हामी पहिलो पार्टी हुने अवस्था छ । माओवादीबिनै पनि हामी पहिलो पार्टी हुने स्थिति छ । योसँगै माओवादी पनि जोडिँदा हिजोको नेकपाको हैसियतमा पुग्छौं । त्यसमा केही साना जो वैचारिक हिसावले नभए पनि व्यावहारिक हिसावले हामीसँग नजिक भएका दलहरुको सहकार्यले स्थिर सरकार र समृद्धिको नेतृत्व हामी गर्न सक्छौं । यस्तो अवस्थामा यो पाटोलाई किन ध्यान नदिने ? विभाजन भएर जाँदा माओवादीले पनि के पायो त ? उसले पनि घाटा नै बेहोरेको छ, प्रत्यक्षतर्फको सिट पनि घटेको छ, समानुपातिक भोट पनि घटेको छ ।

हाम्रो पनि दुवैतर्फ घटेको छ, यद्यपि पाँच दलको गठबन्धन एकातिर भएका बेला हामीले पाएको मत र सिटलाई अन्यथा लिन मिल्दैन । तर पनि हामीले अपेक्षा गरेको त पुगेन, जनताले दिन चाहेको त बहुमत नै हो । यो सबै कुराको गम्भीर समीक्षा गरेर कम्युनिस्ट पार्टीलाई एउटै बनाउने हो भने मुलुक दुई धु्रवीकरणमा जान्छ, राजनीतिक स्थिरता पनि दिन्छ र बीचमा च्याँखे थाप्ने प्रवृत्ति पनि अन्त्य हुन्छ । जसले जनताले सुख पाउने, विकास बढ्ने भएकाले यो गठबन्धन पार्टी एकतासम्म पुर्‍याउन सके हुन्थ्यो भन्ने हाम्रो चाहाना, कामना र प्रयास हो ।

विगतमा जे–जे कारणले पार्टी फुट्यो, ती कारणहरु जस्ताको तस्तै छन् नि ! उदाहरणका लागि १९ बुँदे ?

विगतमा कस्तो थियो भने प्रचण्ड कमरेडलाई प्रधानमन्त्रीमात्रै दिने कुराले पार्टी एकता भंग हुने थिएन भने केपी कमरेडले त्यो दिनुहुन्थ्यो । तर त्यतिखेर केपी कमरेडलाई भएको आशंका के हो भने, प्रधानमन्त्री लिने, अध्यक्षबाट पनि हटाउने र माधव–झलनाथ जोडेर पार्टीमा दुई तिहाइ पुर्‍याउने भन्दै त्यसको दुरुपयोग गरेर केपीसँग जोडिएका मान्छेहरुको अस्तित्व नै समाप्त गर्ने हिसावले कामकुरो भयो भन्ने अनुभुति केपी कमरेडलाई भयो भन्ने लाग्छ ।

तनाव हेर्दा पनि त्यस्तैत्यस्तै देखिन्छ । र, यता केपी कमरेडले यही ढंगले प्रधानमन्त्री र अध्यक्ष चलाउँदा हाम्रो भूमिका सकिन्छ, हामी भुमिकाविहीन हुन्छौं भन्ने मनोविज्ञानले काम गरेको हुनुपर्छ । त्यो रोक्न सकेनौं र आपसमा समझदारी बनाउन नसक्दा पार्टी विभाजनमा गयो । तर विभाजनले केपी ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न चाहनुभएका प्रचण्ड त्यो कार्यकालमा बन्न पाउनु भएन । निर्वाचनपछि पनि बन्न सक्ने स्थिति बनेन । यसको अर्थ हिजो केपी कमरेडले भन्दा आज कांग्रेसले त्यो भन्दा ठुलो धोका दियो भन्ने अनुभूति पनि भयो होला ।

पाँच दलीय गठबन्धन मिल्दा केपी ओलीलाई समाप्त गर्न सकिन्छ भनिए पनि सकिएन । बस्तुगत यथार्थ र मनोगत चिन्तनको तालमेल मिलेको थिएन र निर्वाचनले प्रस्ट पा¥यो भन्ने भयो होला । त्यसैले निर्वाचनपछिको बस्तुगत धरातल नेताहरुले जुन ढंगले विश्लेषण गर्नुभयो, त्यसले पनि काम गर्‍यो होला । आआफ्ना कमजोरीलाई आत्मसात गर्नुभयो होला र भोलिका दिनमा यसरी जान सक्छौं भन्ने आधार खडा भएको हुनसक्छ ।

अहिलेको गठबन्धनको कुनै वैचारिक, सैद्धान्तिक धरातल देखिँदैन । कांग्रेसले नदिएकाले यता मिलेको देखिन्छ भनेपछि भोलि यताउता...?

सतहबाट हेर्दा यस्तो देखिन्छ । गहिराईमा जाँदा त्योमात्रै कारण होइन, एउटा कारण हुन पनि सक्छ । संसदीय राजनीतिमा अंक गणितको भूमिका हुन्छ । गणितका आधारमा बार्गेनिङ पावर घट्नेबढ्ने पनि स्वाभाविक हुन्छ ।

हामीले युरोप अमेरिकातिर राजनीतिमा लागेको दुई तीन वर्षमा प्रधानमन्त्री भए भन्ने सुन्थ्यौं, आज रविजी उपप्रधान र गृहमन्त्री हुनुभएको छ । तर अब नेताहरुले शिक्षा लिएर वामपन्थी एकता जोगाउनुपर्छ । मुुलुकको समृद्धि कम्युनिस्टहरुले नै गर्नुपर्छ भन्ने मान्यता बोक्नेहरु अहिले पनि बहुमतमा छन् ।

हामीले पाएको समानुपातिक भोटको हिसाव गर्ने हो भने बहुमत त्यतातिर हुनुहुन्छ । बहुमत सदस्य कम्युनिस्ट पार्टीतिर आवद्ध हुने, नेतृत्व अन्य पार्टीले गर्ने कुरा अप्राकृतिक थियो हिजो । त्यो अर्थमा आजको गठबन्धन प्राकृतिक भएको छ । जनताको चाहना र म्याण्डेट अनुसारको यो गठबन्धन बनेको छ ।

अघिल्लो दिनसम्म ओली र प्रचण्डबीच एक अर्कालाई सत्तोसराप गर्ने स्थितिमा प्रचण्डलाई ओलीले कसरी प्रधानमन्त्री स्वीकार्नु भयो होला भन्ने चासो पनि छ, बुझनेगरी भनिदिनुुस् न ?

मैले लगभग ८,९ दिनअघि प्रचण्ड, माधव र केपी कमरेडलाई भेटेको थिएँ । त्यस क्रममा केपी कमरेडको सन्देश उहाँहरुकोमा पुर्‍याएको थिएँ । केपी कमरेडले पनि एक ढंगले गठबन्धन गरेर आएका बेला गठबन्धन तोडिहाल्ने कुरा नैतिक बन्धन पनि हुने भएकाले दुईवटा कुरा हामीलाई चाहिन्छ भन्नुभएको थियो । त्यसमा एउटा सैद्धान्तिक रुपमा एक ठाउँमा छौं भन्ने आधार र दोस्रो, गठबन्धनभित्र हामीलाई कांग्रेसबाट धोका भयो भन्ने भएपछि हामीलाई सहज हुन्छ भन्ने प्रचण्ड कमरेडको पनि बुझाई थियो ।

केपी कमरेडको कुरा वाम गठबन्धन भनेर आह्वान गर्ने हो भने अरु चलखेल हुनसक्ने भएकाले एक्सपोज नगरी काम गरौं भन्ने थियो । माधव कमरेडको पनि विगतको समीक्षा हुनुपर्छ, कमी कमजोरीलाई आत्मसात गर्नुपर्छ, ठुलो र जिम्मेवार दल भएकाले यसको भूमिका एमालेले निभाउनुपर्छ भन्ने हो । भित्रभित्र यो ढंगका कुराकानीहरु भइरहेका थिए । एक खालको समझदारी पनि भइरहेको थियो र हेर्दा नाटकीय देखिए पनि तयारी पनि थियो भन्न सकिन्छ ।

यसको पुष्ट्याई त प्रचण्ड कमरेड जब बालकोट जानुभयो, उहाँ गएको आधा घण्टाको दौरानमा धेरै कुरा त सल्टियो । यसको मतलव तयारी र गृहकार्य भइरहेको थियो । त्यो काममा माधव कमरेडलाई प्रचण्डले सँगै लगेको भए धेरै कुरा त्यसबेलै टुङ्गिन्थ्यो । माधव कमरेडको बालकोटचाहिँ जान्न, बीचमा कतै बसौं भन्ने प्रस्ताव आयो । सबै मान्छे बालकोट भएका बेला त्यसबेला समयले पनि साथ दिएन ।

तर माधव नेपालले त मलाई थाहा नै नदिइ प्रचण्ड बालकोट जानुभएछ भन्नुभएको छ नि ?

होइन, प्रचण्डले तीन वटा अध्यक्ष बसौं भन्नुभएको रहेछ, तर माधवले म बस्न तयार छु बालकोटचाहिँ जान्न भन्नुभएछ । त्यसो भनेपछि माधवलाई पछि सम्झाउँला भन्ने भएर प्रचण्ड जानुभएछ । त्यो थाहा पाएपछि शेरबहादुर देउवाले म प्रधानमन्त्री दिन तयार छु, प्रचण्डलाई सम्झाउनुुस् भन्नुभएछ । जवाफमा माधवले समयमा निर्णय गर्नसक्नु भएन, अहिले धेरै ढिला भइसक्यो भनेर भन्नुभएछ ।

यसको मतलब प्रचण्डलाई देउवासँग निहुँ खोज भन्नुभएछ हैन ?

प्रचण्ड निकटको कुरा सुन्ने हो भने पूर्व प्रधानमन्त्री देउवा र प्रचण्डबीच चुनावपछिको सरकारको पहिलो कार्यकालको नेतृत्व प्रचण्डले गर्ने सहमति भएको थियो रे । त्यो कुरामा प्रचण्ड अन्तिमसम्म पनि आशावादी हुनुहुन्थ्यो । तर निर्वाचनपछि राष्ट्रपति, प्रधानमन्त्री र पहिलो कार्यकाल पनि चाहिने भनेर कांग्रेसले अडान लिन थालेपछि उहाँहरुको मनमा चिसो सुरुदेखि नै पसिसकेको थियो । तर पनि प्रचण्डलाई देउवाले छोड्नुहुन्छ भन्ने अन्तिमसम्मै रहेछ । हामीले सम्भावना छैन, उहाँले छोड्नुहुन्न भन्दा प्रचण्डले पत्याइरहनु भएको थिएन । धोका पाउने स्थिति बनेपछि यसले पनि काम गर्‍यो ।

माओवादीसँग एमाले एकीकरण भयो भने एमालेकै केही मानिसले पार्टी छोड्छन् कि जस्तो पनि देखिन्छ नि ?

पार्टीभित्र विभिन्न धारणा र विविध विचार हुन्छन् । कांग्रेस र एमाले मिलेर राजनीतिक स्थिरता दिनुपर्छ भन्ने विचार पनि नभएको होइन । तर कांग्रेस–एमाले मिल्ने कुरा सैद्धान्तिक हिसावले पनि मिलेन । अर्को, दुई ठुला पार्टी मिलेपछि मुलुक गलत दिशामा गयो भने त्यसलाई काउन्टर दिनसक्ने शक्ति हुँदैन । संसदीय व्यवस्थामा प्रतिपक्ष सशक्त हुनुपर्छ भन्ने मान्यता पनि छ ।

अनि किन तपाईको अध्यक्षले म साँढे ३ बजे बालुवाटार आउँछु भनेर देउवालाई ढाँट्नुभएको त ?

अध्यक्ष बालुवाटार जाने भन्ने कुरा मलाई थाहा छैन । तर कांग्रेस नेतृत्वले हाम्रो अध्यक्षसँग पटक पटक कुरा गर्न खोजेको हो । विमलेन्द्र निधि त अध्यक्षको घरमै जानुभएको हो, त्यसमा हामी अपडेट पनि थियौं । मैले बुझेअनुसार देउवा र हाम्रो अध्यक्षको बीचमा कुराकानी गराउने प्रयास पनि गरेको हो ।

त्यसमा उहाँहरुले प्रचण्ड र ओलीबीच सहकार्य नहोस् भनेर रणनीतिको बुझाई जस्तो लाग्छ । त्यो अवस्थामा वामपन्थी एकता हुनुपर्छ भन्ने ठुलो संख्या पार्टीमा भएकाले अध्यक्षले कांग्रेसको प्रस्तावलाई सहजै आत्मसात गर्नुभएन भन्ने लाग्छ ।

एमाले अध्यक्ष ओलीमाथि जुन किसिमका भाष्य निर्माण भएका छन् । जस्तो कि दम्भी, अहंकारी.., यसअर्थ प्रचण्ड सच्चिएको हो वा ओली ?

कहिलेकाहीँ हाम्रो मिडियाले पनि भ्रमलाई नै बोकेको हुन्छ ।

तपाई आफै पनि एउटा पीडित होइन ?

हो, म पनि त्यसको एउटा पीडित हो । हामीलाई जसले चिन्दैन, उसले हाम्रो बारेमा अर्कै छवि बनाइदिन खोज्छ । जसले चिन्छन्, उसले बुझ्छन् । केपी ओलीका बारेमा पनि हिजो प्रधानमन्त्री र अध्यक्ष नहुँदा केपी ओली अल्छी थियो भन्थे । अब अहिले उनीहरु नै ओली रातदिन काम गर्छन् भन्न थाले ।

ओली गुटमा रमाउँछ भन्नेहरु सिङ्गो आन्दोलनलाई ऊर्जा दिएका छन् भन्न थाले । ओली कुनै देशको इशारामा चल्छन् भन्थे तर त्यो भ्रम पनि समय क्रमसँगै तोडियो । अहिले पनि ओलीमाथि जे–जे आरोप लगाएका छन्, त्यो उहाँसँग निकट नभएकाहरुले लगाएका हुन् । तर ओलीजस्तो सहज, सरल, सबैसँग घुलमिल हुनसक्ने, क्षमता चिन्न सक्ने मान्छे कमै छन् ।

तपाई त्यसो भन्नुहुन्छ तर ओलीको निकट नै हुन पाइँदैन भन्ने गुनासो बढी छ नि ?

त्यो गलत हो । त्यो सवालमा केपी ओलीको घर धर्मशाला हो । गेट खुलै हुन्छ, जो पनि गएका हुन्छन्, यदि भेट्नै पाउनुभएन भने अनुहार भए पनि देखाएर जानुहुन्छ ।

तपाईको भनाइमा पार्टी एकता हुनुपर्छ भन्ने देखियो । ओलीको भनाइचाहिँ के छ माधव नेपालको पार्टीबारे ?

एकीकृत समाजवादीभित्र पनि एमालेसँग एकता गर्नुपर्छ र गठबन्धनमा जानुपर्छ भन्ने विचार ९० प्रतिशत देख्छु म । धेरै साथीहरु हिजो हामीसँगै काम गरेकाले आज पनि उठबस भइरहेको हुन्छ । उहाँहरु सबै मिल्नुपर्छ भन्नेमै हुनुहुन्छ । माधव वा झलनाथ कमरेड पनि हिजो त हाम्रै नेता हो ।

कम्युनिस्ट आन्दोलनमा लामो योगदान पनि दिनुभएको छ । अहिले त उहाँहरु झण्डैझण्डै राजनीतिक उत्तरार्द्धमा हुनुहुन्छ । उत्तरार्द्धमा अपमानित भएर बस्नु राम्रो पनि होइन । हामी पनि जसरी पुराना र शीर्ष नेताहरुलाई सम्झन्छौं, त्यसैगरी उहाँहरुलाई पनि सम्झन पाइयोस् भन्ने मेरो पनि श्रद्धा छ ।

एमालेमा माधव नेपालको नाम लिँदा मुख कुल्ला गर्नुपर्छ भन्ने मान्यताचाहिँ अब ब्रेक भयो त ?

माधव नेपालको एउटा छवि थियो– त्यागी, इमानदार । तर त्यो छविअनुसार सबैलाई मिलाउने भूमिका नखेलेर प्रचण्डलाई व्याकअप दिएर कम्युनिस्ट आन्दोलनलाई विभाजनको तहमा पुर्‍याउनुभयो । त्यो मानेमा उहाँले आफ्नो व्यक्तित्व अनुसार नेतृत्व गर्नुभएन भन्ने गुनासो स्वाभाविक नै थियो ।

त्यो कारणले उहाँमाथि आक्रोश पनि थियो । तर चुनावपछि सबैले मम गर्नु पनि पर्छ । तर आज सच्याएर जान सक्ने अवस्थामा छौं । यो अन्तिम मौका पनि हो । त्यसो गरिएन भने कम्युनिस्ट पार्टी एकतावद्ध गराउन र हिजोका धेरै नेताहरु गुमनाम हुने अवस्था पनि हुन्छ ।

अध्यक्ष ओलीलाई व्यक्तिगत रुपमा माधव नेपालप्रति अलि बढी रिस...यस्तो अवस्थामा एकीकरण सम्भव छ त ?

त्यो स्वाभाविकै हो । तर राजनीतिमा स्थायी शत्रु हुँदैन । मदन भण्डारीले पनि राजनीतिमा स्थायी शत्रुता हुँदैन भनेकै हो । हिजो उहाँका ठाउँबाट किन स्वाभाविक थियो भने यत्रो दुई तिहाईको सरकार, पार्टी विभाजन गरेर राष्ट्रपतिकोमा लाइन, अदालतमा सेटिङ, कांग्रेसलाई सत्तामा ल्याएको छ । एमालेलाई कमजोर बनाएको छ ।

एक हिसावले भन्ने हो भने त केपी ओलीको कम्युनिस्ट आन्दोलनमा यति ठुलो योगदान रह्यो कि आकाशमा उडिरहेको प्लेनमा बम फिट गरेर विस्फोट गराउन खोजिएको थियो । त्यसलाई त ओलीले सेफल्याण्डिङ गरिदिनुभयो नि त ! त्यही भएर आज कम्युनिस्ट आन्दोलन र एमाले बच्यो । यो कारणले हिजो राखेका विचार र शब्दावलीलाई अन्यथा लिनु हुँदैन जस्तो लाग्छ । तर आज त्यो भन्दा फरक ढंगले सोच्नुपर्छ पनि ।

एकीकृत समाजवादीलाई सँगै लैजान तयार हुनुहुन्छ त ओली ?

हुनुहुन्छ । किनभने उहाँले पनि राजनीतिबाट अवकास लिने भन्ने चरणमा सोचिरहनुभएको छ । यो कुरा सोचिरहँदा कम्युनिस्ट आन्दोलन विभाजन र समाप्त गर्न खोजेको अवस्थामा केपी ओलीले बचाउनुभयो भन्ने इमेज बनेको छ । भोलि अवकास लिँदा पनि ओली सबभन्दा ठुलो पार्टीको सरकार चलाउन सक्ने नेता, जसले अर्को पुस्तालाई सुम्पेर जानुभयो भन्ने कुरा त इतिहासमा रहन्छ ।

सबै झगडिया केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल एकै ठाउँमा भएपछि पार्टी बन्ला त ? कि उहाँहरु सबैलाई बिदा दिने ?

झगडिया भन्दा पनि अन्तरविरोध विषय केन्द्रित हुन्छ । हिजो एउटा विषयमा एउटा अन्तरविरोध थियो । आज ती विषयहरुभन्दा फरक ढंगले अघि बढिसकेका छौं । त्यसकारण हिजोकै विषय कोट्याउन जरुरी छैन । आजको बस्तुगत परिस्थिति फरक ढंगको भएकाले आपसमा एकता र समझदारी गर्नुपर्ने आवश्यकता हो ।

तर प्रचण्डप्रति कति चाँडै विश्वास गर्नुभयो ? उहाँले साढे २ वर्षपछि प्रम छोड्नुभएन भने त कुरा पहिलेकै ठाउँमा पुग्ला फेरि ?

प्रचण्ड कमरेडले फेरि त्यसो गर्नुभयो भने त उहाँको के बन्ला र ! उहाँको चलायमान स्वभावले त्यो शंका गर्न सकिए पनि त्यसको पनि सीमा हुन्छ । त्यसैले फेरि पनि प्रचण्डले त्यो भूमिका खेल्नुभयो भने मरेपछि पनि मलामी नपाउने अवस्था हुन्छ ।

तपाई तीनवटा पार्टी एमाले, माओवादी र समाजवादीबीच एकता हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

कि हामीले हामी कम्युनिस्ट होइनौं भन्नुप¥यो । डा. बाबुराम भट्टराईजस्तो कित्ता क्लियर गर्नुप¥यो । नत्र फुटेर फाइदा छैन । हिजो प्रचण्डले दौरा, सुरुवाल र कोट त लगाउनु भयो । त्यसैले तीन पार्टीको एकता आजको आवश्यकता हो र सम्भावनामा परिणत गर्नुपर्छ । त्यसमा हामी पनि लागेका छौं । अघिल्लो पुस्ताका नेताहरु अझ धेरै लाग्नुपर्छ ।

त्यसो भए अव एकीकृत समाजवादीलाई पनि सरकारमा लैजानुहुन्छ ?

मेरो विचारमा जान्छ, उपेन्द्रजी र महन्थजी पनि जानुहुन्छ । कांग्रेसबाहेक सबै सत्तापक्ष हुन्छन् ।

माधव नेपाललाई राष्ट्रपति बनाउने चर्चा कति सत्य हो ?

त्यो विषयमा केही कुरा भएको छैन । एमालेको भागमा राष्ट्रपति आएको हुनाले एमालेबाटै राष्ट्रपति प्रस्ताव हुन्छ, अनि माधव कमरेड नेकपा एकीकृत समाजवादी भएर त भएन ।

भनेपछि एमाले बन्ने शर्तमा बनाउन सकिने भयो, होइन ?

त्यस्ता समाचार अनेक आएका छन् । स्वतन्त्र सांसदलाई मन्त्री बनाउने कुरा पनि आएका छन् । ती कोणबाट पनि छलफल त हुने नै भए ।

अहिलेको मन्त्रिपरिषदमा भर्खर गठन भएको पार्टी, जसले २० सिट जितेको छ, उसलाई उपप्रधानमन्त्री दिइएको छ, यसमा विभिन्न ढंगले विश्लेषण भइरहेका छन् । तपाईको व्यक्तिगत विश्लेषणमा यो ठिकै हो ?

हामीले बहुदलीय व्यवस्था अपनाएका छौं । जनताले उहाँको पार्टीलाई २० सिट दिएका छन् । जनताले दिएको त्यो जनमतको सम्मान गर्नैपर्छ । त्यो अर्थमा उहाँले पाएको गृहसहितको उपप्रधानमन्त्रीलाई स्वाभाविक लिनुपर्छ । केही प्रश्न उठेका छन्, ती कुरामा उहाँले जवाफ दिनुपर्ने हुन्छ । यद्यपि, उहाँले आफ्नो अनुसन्धानमा आफै सहयोगी बन्छु भनेकाले हामीले टिप्पणी गर्न जायज नहोला ।

जे कुरामा विवाद छ, त्यसको जिम्मा उसैलाई दिएपछि सरकारको इमेज पनि बिग्रन्छ कि भन्ने कोणबाट ?

सरकार निर्माण भइरहेका बेला मैले फरक मत किन राख्नु गर्‍यो र ! व्यक्तिगत रुपमा त मैले पहिलेदेखि नै फरक मत राख्दै आएको हो । त्यसबेला निश्चित सन्दर्भमा निश्चित शक्तिको चलखेल हो कि भन्ने मेरो बुझाई भएकाले त्यो दृष्टिकोण राखेको हो ।

त्यही बोलीका कारण पनि तपाईको पराजयको कारण बन्यो भनेर पनि मानिसहरु भन्छन् नि ?

हुनसक्छ । कहिलेकाहीँ यथार्थ र खरो शब्द बोल्दा त्यसले भ्रम सिर्जना पनि गर्नसक्छ, त्यो आफ्नै ठाउँमा छ । तर एउटा व्यक्तिको जयपराजयले मुभमेन्टलाई खास असर पर्दैन । भक्तपुरका जनताले पनि त्यो महसुस गर्न थाल्नु भएको छ । मेरो कुरा, हिजोको कुरा जे भए पनि मुलुक बनाउने सन्दर्भमा उहाँले जे प्रतिबद्धता जनाउनुभएको छ, त्यो कामका आधारमा समीक्षा गर्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप