सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बागलुङ बजारमा ट्राफिक व्यवस्थापनमा चुनौती

बुधबार, १३ पुस २०७९, २० : ५२
बुधबार, १३ पुस २०७९

बागलुङ बजारमा  साँघुरा सडक, बढ्दो सवारी चाप, पैदलयात्रुको जथाभावी सड्क काट्ने बानी । यसले सडक दुर्घटना हुने जोखिम बढ्दो छ । बढ्दो ट्राफिक जामले पछिल्लो समय बागलुङ बजारभित्र छोटो दूरीमा पनि लामो समय लाग्ने गरेको सवारी चालकको गुनासो छ । 

सवारी चालकमात्र होइन, सदरमुकामको बढ्दो ट्राफिक समस्याले स्थानीय बासिन्दा र पैदलयात्रु पनि समस्यामा परेको गुनासो गर्छन् । दैनिकजसो हुने साना ठुला दुर्घटनालाई रोक्न, बढ्दो ट्राफिक जामलाई व्यवस्थान गर्न ट्राफिक प्रहरीले नयाँ नयाँ तरिका अपनाइ रहेको छ । 

सडकको एकतर्फ मात्र आलो पालो पार्किङ गर्ने नियम बनाएको ट्राफिक प्रहरी यतिबेला जेब्रा क्रसिङ तथा लाइन मार्किङको काममा व्यस्त छ । बागलुङ बजारमा बागलुङ नगरपालिकाको सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा जेब्राक्रसिङ तथा लाइन मार्किङको कार्य चलिरहेको छ । विसं २०७४ मा बागलुङका सक्रिय युवाको ‘ग्रुप युथ अफ बागलुङ’ नामक टोलीले बजारका विभिन्न भिडभाड बढ्ने विभिन्न टोल तथा स्थानमा मार्क लगाएका थिए । 

त्यसयता जेब्राक्रसिङ तथा लाइन मार्किङका कार्यमा सरोकारवाला निकायले चासो दिएनन् । बढ्दो ट्राफिक जाम, सवारी दुर्घटनालाई रोक्न पछिल्लो समय व्यस्त चोक तथ टोलमा लाइन मार्किङको काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक राजकुमार केसीले जानकारी बताए ।

केसीले जिल्लामा जाम तथा पार्किङको समस्या आएपछि बजारमा बाटो साँघुरो हुने, पैदलयात्रीलाई असहज हुने र व्यापारीलाई व्यापारमा समस्या रोक्नका लागि मार्किङ र जेब्राक्रसिङको जोड दिएको बताए । सडक सुरक्षा व्यवस्थामा सहजताका लागि लगाइएका लाइन मार्कलाई प्रयोगमा ल्याउन विभिन्न टोलमा, शैक्षिक संस्थालगायत स्थानमा पार्किङ व्यवस्थापनसम्बन्धी, दुर्घटनाको न्यूनीकरणका विषयमा ट्राफिक शिक्षा कार्यक्रम चलाइएको उनको भनाइ छ । 

“बजार साँघुरो भएका कारण ट्राफिक व्यवस्थापनमा केही चुनौती छन्, हामीहरु नगरपालिका, जिल्ला प्रशासनसँग सहकार्य गरेर बागलुङ बजारको सडकमा हिँड्ने यात्रुलाई सहज हुने वातावरण निर्माण गर्दै छौँ”, केसीले भने, “साना ठूला सवारीसाधन एकैपटक बजारमा गुड्दा बढी समस्या छ, यो समस्या छिट्टै समाधान गर्नेतर्फ हामी गम्भीर भएर लागेका छौँ ।”

बागलुङ नगरपालिकाको आर्थिक प्राविधिक र सडक डिभिजन कार्यालय बागलुङको समन्वयमा थालिएको जेब्रा क्रसिङ तथा पार्किङ लाइन मार्क सदरमुकामका विभिन्न १४ वटा टोल तथा चोकका चाक्लो बाटोमा गरिने बागलुङ नगरपालिकाका इञ्जिनियर त्रिलोचन गिरीले बताए । नगरपालिकाले दशरथ कन्सट्रक्सन एण्ड सप्लायर्ससँगको ठेक्का सम्झौतामा कार्य सुरु गरिएको इञ्जिनियर गिरीको भनाइ छ । 

बागलुङ बजारको समीक्षालय चोक, बाघको शालिक, धौलागिरि चोक, जिप पार्क, शिवधाराचोक, आवारोड, महेन्द्रपथ, हल्लनचोकलगायत १४ स्थानमा बाटोको लम्बाइ हेरेर जेब्रा क्रसिङ तथा एकतर्फी र दुईतर्फी पार्किङ लाइन मार्किङको काम सकिएको छ । 

नगरपालिकाले सडकमा लाइन मार्कका लागि पाँच लाख रूपैयाँ बजेट छुट्याएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले थप विभिन्न स्थानमा लाइन मार्क गर्ने योजना गराएको र प्रत्येक महिनामा कम्तीमा एकपटक लगाइएका लाइन मार्कलाई सफा गरिने सापकोटाको भनाइ छ । 

सामाजिक सुव्यवस्था, सडक सुरक्षा र दुर्घटना नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले पछिल्लो समय बजार क्षेत्रमा लाइन मार्कका कार्य भए पनि प्रयोगमा नआउनु दुःखद् भएको सवारी चालक कमल गन्धर्वले बताए । उनले ट्राफिक शिक्षाको कार्यमा जोड दिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप