बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

दुईसय ६७ ग्राहक प्राधिकरणको कालोसूचीमा

बुधबार, १३ पुस २०७९, १८ : ००
बुधबार, १३ पुस २०७९

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । प्राधिकरणले लाइन काटेको छ महिनासम्म पनि सम्पर्कमा नआएका उनीहरूको कालोसूचीमा राखेको हो । कार्यालयका अनुसार उनीहरूबाट रु ७६ लाख ७५ हजार दुई सय ८१ उठाउन बाँकी रहेको छ ।

कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार आर्थिक वर्ष २०६४/०६५ सालदेखि कालोसूचीमा रहेका ग्राहकसमेत रहेका छन् । कालोसूचीमा पर्नेमा दुई सय १५ गार्हस्थ्य ग्राहक रहेका छन् । औद्योगिक क्षेत्रका ४० ग्राहक, गैरव्यावसायिक छ वटा, व्यावसायिक दुईवटा, मन्दिर, पानी आपूर्ति, यातायात, सिँचाइ एक–एक वटा ग्राहक कालोसूचीमा रहेका छन् । 

कालोसूचीमा रहेका ग्राहकको तीन पुस्तेसहित सार्वजनिक सूचना निकालेर राखिएको उनले बताए । यस केन्द्र अन्तर्गत ६३ हजार नौ सय ४९ ग्राहक रहेका छन् । उनीहरूबाट रु ३७ करोड ६४ लाख ४४ हजार एक सय ३३ बक्यौता उठ्न बाँकी रहेको छ । बक्यौता सबैभन्दा धेरै सरकारी कार्यालयको रहेको छ । कार्यालयको रु १३ करोड ७७ लाख ८२ हजार एक सय ५४ रहेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार सडक बत्तीको रु नौ करोड ५८ लाख ८९ हजार पाँच सय ३५ बक्यौता रहेको छ । व्यावसायिक भवनको रु एक करोड ५३ लाख ६२ हजार तीन सय ७८, गैर व्यावसायिक रु एक करोड २७ लाख छ हजार चार सय १९, औद्योगिक क्षेत्रको रु दुई करोड ९९ लाख ४३ हजार छ सय ५६ बक्यौता रहेको छ । 

चालू आर्थिक वर्षमा वितरण केन्द्र भरतपुरले नौ सय तीन ग्राहकको लाइन काटिदिएको छ । उनीहरूबाट रु तीन करोड १२ लाख ९१ हजार चार सय १६ असुली गर्नुपर्ने रहेको छ । तीमध्ये आठ सय ५२ जनाले पुनः जडान गरेका छन् । उनीहरूबाट रु दुई करोड ७७ लाख ८३ हजार दुई सय ३७ असुली गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप