आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र काबुभन्दा बाहिर पुगिसकेको छैन : अर्थमन्त्री पौडेल

बुधबार, १३ पुस २०७९, १७ : ५२
बुधबार, १३ पुस २०७९

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र काबुभन्दा बाहिर गैनसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजनाका लागि प्रयास गर्ने पनि बताए । 

पत्रकारहरूसँगको भेटमा मन्त्री पौडेलले राम्रो काम गरेको भए राम्रो र राम्रो काम नगरे आलोचनात्मक टिप्पणी गर्न आग्रह गरे । उनले भने–‘अर्थतन्त्रको स्थिति काबू बाहिर पुग्यो भन्ने होइन । समस्याहरु धेरै छन् । त्यसमा केही मिसह्याण्डलिङ पक्कै भएको हो । यद्यपि सावधानिक रुपमा ठीक ढंगले अघि बढ्यौं भने हामीले चाँडै सुधार गर्न सक्छौं ।’ 

उनले थपे– ‘म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको छु र अहिले भित्र बसेर पनि विभिन्न सुझाव लिइरहेको छु । बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रैछ त्यसको महसुस मैले पनि गरिरहेको छु ।’  
अहिले सबैको साझा सरोकार अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने भएकोले अर्थतन्त्रमा रहेका समस्यालाई ठिक ढंगले चिन्ने र यसको उपयुक्त समाधान गर्नुपर्ने मन्त्री पौडेलको भनाई छ । सबल अर्थतन्त्र निर्माणका लागि एक–एक इँटा थप्दै जाने काम गर्नुपर्ने भएकाले त्यसका लागि सबै पक्षको रचनात्मक भूमिका आवश्यक भएको उनले बताए । 

अर्थमन्त्री पौडेलले अघिल्लो कार्यकालमा आर्थिक पत्रकारहरूको सहकार्य र समन्वयले अर्थतन्त्र सुधारसँगै विकासका सहयोग पुगेको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता गरे । संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर समृद्धितर्फ उन्मुख गराउन सबै क्षेत्रले सकारसँग सहकार्य गर्दै एक÷एक वटा इटा थप्ने काम गर्न उनले आग्रह समेत गरे । 

भेटघाट कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले नवनियुक्त अर्थमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिँदै अर्थतन्त्र सुधार गर्न तत्काल गर्नुपर्ने सुझाव पेस गरे । यस्तै अर्थ मन्त्रालयमा पत्रकारहरूले सूचना प्राप्त गर्न कठिन भएकाले रियल टाइममै सूचना उपलब्ध गराइदिन आग्रह गरे । 

‘अर्थमन्त्रालयले मासिक रुपमा सार्वजनिक गर्ने बुलेटिन सार्वजनिक गर्न छोडेको छ, त्यसलाई समयमै प्रकाशन गर्नु आवश्यक छ । मन्त्रालय प्रविधिको प्रयोगबाट सार्वजनिक महत्वका सूचना र तथ्याङ्क दिनु जरुरी छ भने पत्रकार भेटघाटलाई नियमित गर्नुपर्छ’ भेटका क्रममा अध्यक्ष ढकालले सुझाव राखे ।

सो क्रममा अध्यक्ष ढकालले पत्रकारहरूको क्षमता विकासको लागि अर्थमन्त्रालयले आगामी दिनमा कार्यतालिका नै बनाएर काम गर्नुपर्ने बताउँदै उनले त्यसका लागि नाफिज सरोकारावाला संस्थासँग समन्वय गर्न तयार रहेको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप