सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावटको समस्या देखिएन

बुधबार, १३ पुस २०७९, १४ : ३१
बुधबार, १३ पुस २०७९

आयोजना कार्यान्वयन निर्देशनालयबाट काठमाडौं उपत्यकाभित्र बिच्छ्याइएका नयाँ पाइलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावट नभएको पाइएको छ । काठमाडौंका अनामनगर, थापाथली लगायतका क्षेत्रमा नियमित रूपमा र परीक्षण सम्पन्न भएका अन्य स्थानमा तालिकामा समावेश नगरी खानेपानी वितरण गर्दा चुहावटको समस्या नदेखिएको हो ।

खानेपानी चुहावट भएको भनी निर्देशनालयमा उपभोक्ताहरूबाट विभिन्न मितिमा आएका जानकारीका आधारमा मर्मतका लागि प्राविधिक टोली पठाउँदा नयाँ पाइपलाइनबाट नभई अधिकांश पुराना पाइपलाइनबाट खानेपानी चुहावट भएको पाइएको निर्देशनालयले जनाएको छ । 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तेस्रो पक्ष लगायतबाट सडक तथा ढल निर्माण÷मर्मत, विद्युतलाइन र टेलिफोनका तार भूमिगत गर्ने लगायतका कार्य हुँदा क्षति पुगेका खानेपानी वितरण प्रणालीका ठूला पाइपलाइन र खानेपानी वितरण सञ्जालका पाइपलाइनमध्ये अधिकाङ्शको मर्मत कार्य सम्पन्न भइसकेको छ ।

तर तेस्रो पक्ष लगायतबाट विभिन्न कारणले खानेपानीका पाइपलाइनमा क्षति हुन नछाडेकाको भन्दै निर्देशनालयले खानेपानीका पाइपलाइनमा क्षति पुग्नेगरी कुनै काम नगर्न÷नगराउन सम्बन्धित सबै निकायहरूको ध्यानाकर्षण गराएको छ । 

निर्देशनालयबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पहिलो चरणमा बिच्छ्याइएका १ हजार १० किलोमिटर खानेपानीका नयाँ पाइपलाइनमध्ये करिव ५५० किलोमिटर पाइपलाइनको परीक्षण गर्ने कार्य सम्पन्न भएको जनाइएको छ । 
हाल काठमाडौंका सिनामङ्गल, कोटेश्वर, नरेफाँट, पुरानो बानेश्वर, बत्तीसपुतली, रातोपुल, ज्ञानेश्वर, हाँडीगाऊँ लगायतका क्षेत्र र ललितपुरका ग्वार्को, मङ्गलबजार, बालकुमारी, सुन्धारा, बगलामुखी, कृष्णमन्दिर, कुपण्डोल, पुल्चोक, मानभवन, लगनखेल लगायत अन्य क्षेत्रमा खानेपानीका नयाँ पाइपलाइनको परीक्षण गर्ने कार्यलाई तीब्रता दिइएको उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप