मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

करिब ३ वर्षपछि पूर्णरूपमा सञ्चालनमा आयो रसुवागढी नाका

बुधबार, १३ पुस २०७९, १३ : ५३
बुधबार, १३ पुस २०७९

लामो समयदेखि निर्यात रोकिएको रसुवागढी नाकाबाट चीन तर्फको निर्यात सुरू भएको छ । करिब ३५ महिनासम्म बन्द अवस्थामा रहेको भन्सार नाकाबाट हिजो मंगलबारदेखि निर्यात सुरू भएको हो । चिनियाँ पक्षले २०७६ साल माघदेखि चीन तर्फको निर्यात रोकेको थियो ।

चीनले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै आफ्नो तर्फको आयात रोक्दै नेपालतर्फ हुने निर्यातमा समेत कडाई गरेको थियो । हिजो मंगलबारदेखि निर्यात सुरू भएको भन्सार प्रमुख नारयण भण्डारीले बताए । निर्यातमा समेत कडाई गरेपछि २०७६ सालको लकडाउनको समयमा करोडौ रुपैयाँ बराबरका सामान नाकामै कुहिएका थिए ।

उनले पहिलो चरणमा नेपाली हस्तकलाका सामाग्री, भाडाकुँडा र मुढा लगायतका वस्तु निर्यात भएको जानकारी दिए । ‘हिजो मंगलबार २ वटा चिनियाँ ट्रकमार्फत ५० लाख ७० हजार रूपैयाँ बराबरको निर्यात भएको छ,’ भण्डारीले भने, ‘करिब ३५ महिनापछि निर्यात सुरू भएको हो ।’ उनले यसअघिदेखि नै चीन सरकारसँग निरन्तर पहल भइरहेकाले निर्यात सफल भएको हो ।

यसका लागि चीनको लासा स्थित महावाणिज्यदूतावासको पहलले समेत काम गरेको भण्डारीको भनाइ छ । उनका अनुसार महावाणिज्यदूतावासबाट नवराज दाहालले निर्यात खुलाउन निरन्तर पहल गरेका थिए । जसको प्रतिफल यतिबेला आएको उनको भनाइ छ । यस्तै, नवगठित सरकारको आवश्यक पहलले समेत यसमा काम गरेको बताइएको छ ।

तीन वर्षदेखि ठप्प निर्यात

कोरोना भाइरसको महामारी फैलिएसँगै रसुवागढी र तातोपानी नाकाबाट हुने नेपाल–चीन व्यापार पूर्णरूपमा रोकिएको थियो । चीनले नेपालबाट हुने निर्यात र चीनबाट हुने निर्यात समेत ठप्प बनेको थियो । खासगरी, सुरूमा कोरोना महामारी नेपालमा फैलने भन्दै चिनियाँ पक्षलाई नेपालले नाकामा कडाई गर्न दबाब दिएको थियो । सोहीकारण, चीनले लामो समयसम्म चिनियाँ नाकाबाट हुने व्यापारलाई नै अस्तव्यस्त बनाएको थियो ।

यसबीचमा तातोपानी र रसुवागढी नाकाबाट चीनले परिमाणात्मक बन्देज लगाउँदै आयात गर्न अनुमति दिएको थियो । चीनले यी दुई वटा नाकाबाट नेपालतर्फ दैनिक ८ देखि १० वटासम्म ट्रक पठाउँदै आएको थियो । नेपालले बारम्बार नाका सञ्चालनका लागि अनुरोध गर्दा समेत कोरोना महामारीको त्रास देखाउँदै चीनले कडाई गर्दै आइरहेको थियो ।

चालू आर्थिक वर्ष २०७९/८० को मंसिर महिनासम्मको तथ्यांकअनुसार पनि चीनतर्फको निर्यात शून्य छ । यसअवधिमा तातोपानी नाकाबाट ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको थियो । यसबाहेक, रसुवागढी नाकाबाट समेत आयात शून्य छ । यो नाकाबाट चालू वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा ११ अर्ब ११ करोड ३० लाख रुपैयाँ बराबरको आयात भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप