बालकोटको बार्दलीबाट खुमलटारको छतसम्म : सहकार्य घनीभूत बनाउँदै ओली–प्रचण्ड

सत्ता सहकार्य भएसँगै नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल बाक्लिन थालेको छ । तत्कालीन नेकपा विभाजनपछि दुई नेताबीच पानी बाराबारको अवस्था रहेकामा मंसिर ४ को निर्वाचनबाट नाटकीय रुपमा सत्ता सहकार्यको स्थिति आएसँगै दुई नेताबीच निकटता बढेको हो ।
तत्कालीन सत्ता गठबन्धनमा प्रधानमन्त्री र राष्ट्रपति पदको भागबण्डाका विषयमा सहमति नबनेपछि एकाएक प्रचण्डले गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेका थिए । एमालेसहित ७ पार्टीका १७० सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले ओलीलाई बुधबार आफ्नै निवास खुमलटारमा स्वागत गरेका छन् ।
बुधबार बिहान प्रचण्डले निवासमा स्वागत गर्दै ओलीसँग छतमा आतिथ्यता प्रदान गरेका हुन् । दुई नेताले सुन्तला खाँदै घाम तापेर गठबन्धनको आगामी रणनीतिका विषयमा छलफल गरेका छन् । प्रचण्डसँगको भेटपछि ओलीले सरकार विस्तारबारे छलफल भएको प्रतिक्रिया दिए । भेटवार्ताका क्रममा दुई नेताबीच केन्द्र सरकारका साथै प्रदेश सरकार कसरी बनाउने भन्ने विषयमा छलफल भएको ओलीको भनाई छ । नयाँ समीकरणपछि सातै प्रदेशमा सात दलीय गठबन्धनको सरकार बन्ने देखिएको छ ।
अध्यक्ष ओलीले यसअघि प्रचण्ड निवासमा जम्मा दुई पटक मात्रै पाइला टेकेका थिए । प्रचण्ड पुत्र प्रकाश दाहालको निधन हुँदा र तत्कालीन नेकपा विभाजन हुनुअघि खुमलटार पुगेका थिए । नेकपा विभाजन भएपछि पहिलो पटक ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । पछिल्लो पटक ओली २ वर्षअघि २०७७ साल पुस ४ गते प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
ओली प्रचण्डबीच माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको बताइएको छ । बुधबार बिहानमात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रचण्डले भेटेका थिए । सो क्रममा नेपाललाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको बताएको छ ।
यसअघि पुस १० गते बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति हुँदा प्रचण्ड र ओलीले बार्दलीबाट एकसाथ अभिवादन गरेका थिए । बालकोटको बादर्लीलाई पछिल्लो समय राजनीतिमा एउटा मिथक बनाउने समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आज अमेरिकी डलर, युरो, पाउण्ड, रियाल, दिराम र दिनारको मूल्य