केन्द्रीय समिति बैठकमा सभापतिको राजीनामा मागिन्छ : सहमहामन्त्री पाण्डे
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टी पंक्तिमा निराशा छाएको कुराले जनतामा पनि निराश छाएको बताएका छन् । पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए । बुधबार काँग्रेस संस्थापन इतरपक्षहरुको भेटघाटका क्रममा बोल्दै उनले काँग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्ने बारेमा सोच्नुपर्ने बताए । उनले पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजीनामा दिनुपर्छ भन्ने बारेमा माग उठेको भएपनि कार्यसमितिको बैठकमा यसबारेमा चर्चा हुने बताए ।
उनले भने– ‘हाम्रो पार्टीमा निराशा भएको कुरामा कसले कहाँबाट गल्ती भएको हो त्यसमा समीक्षा हुनुपर्छ भन्ने बारेमा खुला ढंगले छलफल गर्नेछौँ । हाम्रो निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भुमिकामा कसरी प्रभावशाली बन्ने बारेमा केन्द्रीय कार्यसमितिमा छलफल हुनेछ । पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजीनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको छ । यो विषय कार्यसमितिको बैठकमा निर्णयमा पुर्याउनुपर्छ ।’
भेटघाटमा सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई कांग्रेसीहरुले सामान्य रुपमा लिन नमिल्ने बताए । सहमहामन्त्री परियारले काँग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्विक असर परेको बताए । उनले राजनीतिक रुपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरंगित बनेको बताए । उनले केन्द्रीय कार्यसमितिको बैठकमा यसको समीक्षा हुन जरुरी रहेको बताए ।
नेपाली काँग्रेस संस्थापन इतर पक्षको बैठकमा काँग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।