शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

बाली नगदे, कारोबार सधैँ उधारो

उखु किसानका समस्या अनेक
बुधबार, १३ पुस २०७९, ०७ : २६
बुधबार, १३ पुस २०७९

बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ८, रमौलीका परमानन्द प्रसाद कुशवाहले खेतमै उखु सुक्न थालेपछि यस वर्ष पनि उधारोमै चिनी मिललाई उखु बिक्री गरेका छन् । मिलले कुन दररेटमा उखुको पैसा दिन्छ भन्ने उनलाई थाहा छैन । सरकारले मूल्य तोक्न ढिलो गरेपछि कुशवाहले बारीमै सुक्न लागेको उखु बाध्य भएर उधारोमा मिललाई बिक्री गरेका हुन् ।

‘प्रतिक्विन्टल ५९० रुपैयाँ पोहोर सालको रेट हो, अहिलेको कुन रेट पाइन्छ भन्ने थाहा छैन, खेतमा उखु सुकिसकेको छ, अहिलेसम्म चलान पाएको छैन,’ कुशवाहले भने ‘किसानलाई आफ्नो बालीको रेट चलाउने अधिकार छैन, सरकारले कहिले मूल्य तोक्छ, अनिमात्रै रकम पाइन्छ ।’

परमानन्द कुशहवाले जस्तै बाराको कलैया उपमहानगरपालिका वडा नं २०, बसतपुरका योगेन्द्र साह तेलीले पनि ५ बिगाहामा लगाएको उखु  बाराकै श्रीपुरस्थित रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज (प्रा.लि.) लाई उधारोमा बिक्री गरेका छन् ।

गत वर्ष प्रतिक्विन्टल ५९० रुपैयाँको दरले करिव ७ लाखको उखु बिक्री गरेका तेलीले यसवर्ष प्रतिक्विन्टल ७ देखि ८ सय रुपैयाँसम्म पाएमात्रै खेती खर्च उठ्ने बताउँछन् ।

उनले भने, ‘उखुको रेट प्रतिक्विन्टल ८ सयसम्म पाए ठिक हुन्थ्यो, नत्र खर्च पनि उठ्दैन, खेती गर्न धेरै महँगो छ, मिलले कति रेट दिन्छ भन्ने कुनै ग्यारेन्टी छैन, उखुमा यसपाली धेरै रोग लागेर प्लटका प्लट उखु खेतमै सुकेको छ ।’

कलैया उपमहानगर–१३, छोटकी फुलबरियाका नागेन्द्र राउत पनि यस वर्ष २ बिगाहामा लगाएको उखु रोगले सुकेर खर्च पनि नउठ्ने हो कि भन्ने चिन्तामा छन् ।

रिलायन्स चिनी उद्योगले बाँडेको बिउमा अनेक प्रकारको रोग लागेको कृषकहरुको गुनासो  छ । ‘अरु बिउ रोप्न मनाही ग-यो, चिनी मिलले दिएको बिउ रोप्नुस्, रोग छैन, बाली पनि राम्रो दिन्छ, चिनी पनि राम्रो आउँछ भन्यो तर यसपटक उखुमा अति रोग लागेको छ, प्लटका प्लट उखु सुकेर हामी मर्कामा छौं,’ नागेन्द्र राउतले भने ।

बारा र पर्सामा साढे ६ हजार किसानले करिब ९ हजार बिगाहामा उखु खेती गर्ने गर्दछन् ।

यसअघि उखु किसानले ९६६९, दहीचिउरा, ९२६८, ९२३८ जातको उखु लगाउँदै आएका थिए । ती जातका उखुबाट प्रति क्विन्टल साढे ८ केजीसम्म चिनी निस्कने गर्दछ । यसपटक किसानहरुले पुरानो जातलाई  छाडेर चिनी उद्योगको सुझावमा सीओ २३८ जातको उखु लगाएको उखु किसान नागेन्द्र राउतको भनाइ छ ।

‘यो जातको खेती गर्दा हामी मारमा परेका छौं, जति गर्दा पनि रोग नियन्त्रण भएन,’ उनले भने, ‘बारा, पर्साका उखु किसानहरुले बाराको श्रीपुरस्थित रिलायन्स चिनी उद्योगमा उखु बिक्री गर्ने गर्दछन् । उद्योगले मंसिरदेखि नै किसानको उखु लिन सुरु गर्ने भए पनि यस वर्ष पुस १० गतेदेखि मात्रै उखुको क्रसिङ सुरु गरेको छ ।’

यसपटक उखु सुकेको र कारखाना सञ्चालनमा पूर्वतयारी गर्न समय लागेको कारखानाले जनाएको छ । वार्षिक ३ देखि ४ महिना चिनी मिल सञ्चालन हुने गर्दछ । कारखाना प्रशासक मनोहर झाले किसानहरुले आफू खुसी उखुको बिउ लगाउँदा अनेक रोग लागेको बताए ।

‘हामीले जुन किसिमले सल्लाह दियौं, त्यो किसिमले खेती भएन, लगभग ६०/७० लाखको औषधि हामीले किसानलाई दिएका थियौं तर औषधि लगेर घरमा राख्ने, खेतमा नछर्ने अनि कसरी राम्रो उत्पादन हुन्छ ?’ रिलायन्स चिनी उद्योगका प्रशासन प्रमुख झाले भने, ‘अहिले हामीले जिरो मूल्यमा उखु खरिद गरे पनि सरकारले मूल्य निर्धारण गरेपछि तोकिएको मूल्य हामी किसानलाई दिन्छौं ।’

किसानले चिनी मिललाई उधारोमा बिक्री गरेको उखुको मूल्य चिनी उत्पादन संघ, उखु उत्पादन महासंघ र सरकारबीचको छलफल पश्चात मात्रै निर्धारण हुने गर्दछ । सरकारले ढिलो गरी उखुको मूल्य तोक्दा उधारोमा मल, बिउ, ज्यालादारी, ट्याक्टर जोताई खर्च तिर्न समस्या हुने गरेको उखु किसानहरुको गुनासो छ ।

गत वर्ष उद्योगले किसानलाई प्रतिक्विन्टल उखुको मूल्य ५२५ रुपैयाँ र नेपाल सरकारले अनुदान स्वरुप प्रतिक्विन्टल ६५ रुपैयाँ प्रदान गरेको थियो । तर यस वर्ष उखुको मूल्य कति निर्धारण हुन्छ भन्ने हालसम्म निश्चित छैन ।

‘सरकारले निर्णय गरेर जति मूल्य कायम गर्छ, त्यति दिने सहमतिमा किसानसँग उखु लिएर उद्योगले क्रसिङ सुरु गरेको हो,’ उद्योग प्रशासक झाले भने ।

रिलायन्स चिनी उद्योगले आइतबारदेखि कारखाना सञ्चालनमा ल्याएको छ । मिलको प्रतिदिन उखु क्रसिङ्ग क्षमता ३५ हजार क्विन्टल भए पनि सुरुवातमा अहिले २२ देखि २५ हजार क्विन्टल उखु क्रसिङ्ग हुने गरेको उद्योग प्रशासनले जनाएको छ ।

उद्योगका प्रशासन प्रमुख झाले भने, ‘उन्नत जातको उखु भयो भने प्रतिक्विन्टल उखुको ११ केजीसम्म चिनी उत्पादन गर्न सकिन्छ, तर अहिले रोग लागेको, सुकेका उखु आइरहेको छ, त्यसबाट प्रतिक्विन्टल ७ देखि ८ केजीभन्दा माथि जाँदैन ।’ चिनी कारखानालाई किसानले उधारोमा बिक्री गरेको उखुको मूल्य ३ देखि ४ महिनाको अन्तरालमा किसानको हातमा पर्ने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप